मिलन समीरप्रश्न निषेधित क्षेत्र
हरेकपल भगवानको आरती उतार्दै भजन किर्तनमै लीन हुन छोडेर यक्षप्रश्न गर्ने दुस्साहसी मान्छे ! तपाईं हाम्रो सबैभन्दा खतरनाक दुश्मनको पहिलो सूचीमा हुनुहुन्छ !

मिलन समीर :
तपाईं प्रश्न निषेधित क्षेत्रभित्र हुनुहुन्छ !
अत्यन्तै गम्भीर भएरै सोच्नुहोला
अबदेखि आजीवन तपाईंले
आफ्नो मनमा लागेको कुरा
जस्ताको तस्तै बोल्नुभन्दा पहिले
आफ्नै आँखाले देखेको कुरा
जस्ताको तस्तै लेख्नुभन्दा पहिले !
तपाईं हाम्रो कडा निगरानीमा हुनुहुन्छ !
अत्यन्तै गम्भीर भएरै सोच्नुहोला
अबदेखि आजीवन तपाईंले
“निम्छरो” नै भए पनि
प्रश्नदेखि “एलर्जी” हुने
शक्तिशाली भगवानलाई
यक्षप्रश्न सोध्नुभन्दा पहिले !
पाउनुहुनेछ भगवानसँग
कहिलेकाहीँ “सेल्फी” खिच्न
तर पाउनुहुने छैन कदापि
कुनै पनि प्रश्न सोध्न !
भगवान त धेरै नै माथि हुनुहुन्छ
कसैले सोध्ने “जाबो” प्रश्नभन्दा !
आदरार्थीको प्रयोग गर्दागर्दै
टेर्नुभएन भने तपाईंले हामीलाई
सुन्नुभएन भनेदेखि
घुमाएर गरिएको सिधा कुरा
र गर्नुभयो भनेदेखि
“महान” भगवानलाई “नाथे” प्रश्न
केवल तपाईंको लागि मात्रै नभएर
तपाईंका शाखा सन्तानकै विरुद्धमा
अनादरार्थीको प्रयोग मात्रै हुनेछैन
छुरासमान मुख चलाउँदा चलाउँदै
आवश्यकताको नयाँ सिद्धान्तअनुसार
हात चलाउन पनि पछि पर्नेछैनौँ हामी !
हाम्रो आधार इलाकाभित्र बसेर
हाम्रै भगवानलाई सङ्गिन प्रश्न गर्ने
कहाँबाट परिचालित मान्छे हो तपाईं ?
शक्ति त्यसरी बढेर गइरहेको बेला
सेवन गरेर भगवानकै प्रिय शिवबुटी
भक्तिमा बेस्सरी लीन हुनुपर्ने ठाउँमा
भगवानको वास्तविकतामाथि नै
गम्भीर आशङ्का गर्ने अधर्मी !
तपाईंलाई ठिक पार्नु नपरोस् !
हरेकपल भगवानको आरती उतार्दै
भजन किर्तनमै लीन हुन छोडेर
यक्षप्रश्न गर्ने दुस्साहसी मान्छे !
तपाईं हाम्रो सबैभन्दा खतरनाक दुश्मनको
पहिलो सूचीमा हुनुहुन्छ !
यत्ति कुरा हेक्का राख्नुहोला !
आजीवन चुपचाप बस्नुमा नै
अब तपाईंको भलो हुनेछ !
०००
करादीखोला, स्याङ्जा
Subscribe
Login
0 Comments
Oldest







































