मिलन समीरतिमीहरू झोले नै हौ
फट्याइँ र छुद्रतासँगै घमण्ड र अहंकारको भारी छ माफियाका मतियार नाथे तिमीहरूले अहिलेसम्म के नै पो नापेका छौ र ? अझ फुर्किदै फुर्ती गरिरहेका छौ... ? हो, तिमीहरू साँच्चिकै झोले नै हौ ।

मिलन समीर :
जन्मिदै
अरु कसैको
वैशाखी टेकेर बासी विचारको
अरु कसैको तस्बिरलाई
पूजा गर्दै भगवानको रूपमा
हुर्किएका अन्धभक्त तिमीहरूले
अहिलेसम्म के नै पो नापेका छौ र ?
अझ फुर्किदै फुर्ती गरिरहेका छौ… ?
हो, तिमीहरू साँच्चिकै झोले नै हौ ।
सामन्तको झोला बोकेर हिंड्नु
गलत भएको भन्दै
छोडेर अरु सारा काम
बोकेर सर्वहारा विचारको झोला
तर्क सकिएपछि सुरु भएको
गालीगलौजको गोरेटो हुँदै
साम्यवादको दिशामा
हिंडिरहेका छौँ भन्ने
भ्रम फिजाउदा- फिजाउदै
आफैं महासामन्त बनेका
आँखा लोभी- मन पापी भएका
नाथे भुइँफुट्टा तिमीहरूले
अहिलेसम्म के नै पो नापेका छौ र ?
अझ फुर्किदै फुर्ती गरिरहेका छौ… ?
हो, तिमीहरू साँच्चिकै झोले नै हौ ।
अहिलेसम्म पनि लम्पटदास नाथे तिमीहरूको
न त आफ्नो कुनै वैकल्पिक विचार नै देखियो ?
न त आफ्नो बुद्धि- विवेकको थोपो नै देखियो ?
न त आत्मसम्मान र स्वाभिमानको रोपो नै देखियो ?
अहिलेसम्म देखियो त केवल
सत्ताप्राप्तिकै लागि गरिएको
छिनाझपटी र हानथाप मात्रै देखियो
सत्ताप्राप्तिपश्चात् पनि फेरि
व्यक्तिगत स्वार्थको लुछाचुँडी मात्रै देखियो
मनमुटुबिनाको भाते आन्द्राभुँडी मात्रै देखियो ।
अरु कसैको कठपुतलीको रूपमा
केवल ज्युदो लास बनेर बाचिरहेका
यस्ता नाथे सर्वाङ्ग नाङ्गा तिमीहरूले
अहिलेसम्म के नै पो नापेका छौ र ?
अझ फुर्किदै फुर्ती गरिरहेका छौ… ?
हो, तिमीहरू साँच्चिकै झोले नै हौ ।
बनेर अदृश्य प्रभुहरुको ईमानदार नोकर
बकम्फुसे कुतर्क गर्ने कहिँ नभएको जोकर
यस्ता नाथे औंठाछाप तिमीहरूले
अहिलेसम्म के नै पो नापेका छौ र ?
अझ फुर्किदै फुर्ती गरिरहेका छौ… ?
हो, तिमीहरू साँच्चिकै झोले नै हौ ।
लाज पचेका नकच्चराहरु
ईमान नभएका बेइमानहरु
नैतिकता नभएका अनैतिकहरु
धर्तीकै बोझ बनेर बाचिरहेका
यस्ता नाथे धुन्धुकारी तिमीहरूले
अहिलेसम्म के नै पो नापेका छौ र ?
अझ फुर्किदै फुर्ती गरिरहेका छौ… ?
हो, तिमीहरू साँच्चिकै झोले नै हौ ।
न त तिमीहरू नाथेले अहिलेसम्म
आफ्नो इज्जतिलो नाउँ नै बनाउन सक्यौ ?
न त तिमीहरू नाथेले अहिलेसम्म
कुनै गौरव गर्ने ठाउँ नै बनाउन सक्यौ ?
न त तिमीहरू नाथे बुङ्गासङ्ग
कुनै त्यस्तो विशेष खुबी नै रहेछ ?
भस्मासुरलाई नै बिर्साइदिने
हरामखोर नाथे तिमीहरूको
झोले नै बनेर बितेको थियोे विगत पनि
झोले नै बनेर बितिरहेको छ वर्तमान पनि
झोले नै बनेर बित्ने निश्चित छ भविष्य पनि ।
छ त तिमीहरुसँग केवल
फट्याइँ र छुद्रतासँगै
घमण्ड र अहंकारको भारी छ
माफियाका मतियार नाथे तिमीहरूले
अहिलेसम्म के नै पो नापेका छौ र ?
अझ फुर्किदै फुर्ती गरिरहेका छौ… ?
हो, तिमीहरू साँच्चिकै झोले नै हौ ।
०००
करादीखोला, स्याङ्जा








































“……अहिलेसम्म के नै पो नापेका छौ र ?………
मस्ट पाओरफुल……