भोजराज रेग्मी ‘मुखाले’गोलचक्कर
एउटोले कपडाको नाउँमा कट्टु मात्रै लाएर कराइराको छ । अर्कोचाहिँ निर्वस्त्र हल्लिएर चिच्याइराको छ । सेतो हात्ती आऊ ! हामीलाई बचाऊ । कतै भेडाहरूको जुलुस निस्किँदै छ । कतै सेता हात्ती धपाउ, हामीलाई बचाऊ ।

भाेजराज रेग्मी मुखाले :
मर्त्यलोकको एक भूखण्डमा अभागीहरूले बराजुका पालादेखि सेतो हात्ती पाल्दै आए । टाउको गणेशको जस्तो भए पनि अन्धभक्तहरूले उसलाई भगवान विष्णुको अवतार माने । सेतो हात्तीको देखाउने दाँतले ‘प्यारा प्रजाहरूलाई मायाले सुम्सुम्याएर मन्त्रमुग्ध बनाउँथ्यो भने चपाउने दाँतले कज्याएर काबूमा राखेको थियो ।
चितुवावर्ग ‘छोटे महाराज’ को उपाधि र सेवा सुविधा पाई मग्नमस्त थिए । ब्वाँसा र हुँडारहरूलाई प्रजाका घरगोठमा धावा बोलेर गरिखान इजाजत थियो । स्याल र फ्याउराहरू भने मालिकको गुणगान गर्दै विरोधीहरूको खेदो खनेर आफ्नु जुनी धन्यधान्य बनाउनमै व्यस्त र मस्त थिए । घरपालुवा जन्तुहरू चाहिँ प्रजाकै हैँसियतमा निगाह कुरेर बाँचिरहेका थिए ।
पृथ्वीले सूर्यलाई करोडौँ फन्को मारेपछि मर्त्यमण्डलका धेरै भूखण्डमा सेता हात्तीहरू मारिँदै गए । लाचारीको लम्पटमा हीनताबोध ओढेर सुतेका कुम्भकर्णहरू जाग्दै गए । रगतहरू तात्दै उम्लिँदै गए ।
“हाम्रै पसिनामा पौडी खेलेर, हाम्रै रगत घोटेर खुवा पकाएर यी भातमाराहरू मोजमस्ती गर्ने, हामीलाई दुःखमाथि सास्ती दिने सविनालाई अब ठेगान लाउने पर्छ ।” हवाइचप्पल लगाएको एउटो ख्याउटेले बोली सक्न नपाउँदै पररर ताली बज्यो ।
“हामी सधैँ यसरी नै सहेर बस्यौँ भने हामी मात्र हैन, नातिपनातिले समेत भुक्तमान खेप्नु पर्दछ, त्यसैले आजै अहिलेदेखि सेतो हात्ती
र जुकाहरू विरूद्ध एक्सन शुरू गर्नॅपर्छ”– सिम्पल सारीचोली लगाएकी मकैको ढोडले दर्शकश्रोताहरूलाई जुरूकजुरूक उचाली ।
“अब त अति नै भो, हाम्रा लालाबालाको गाँस काटेर सेता हात्ती पाल्न सक्दैनौ, यिनलाई अब धपाउनै पर्छ”– झाडापखालाबाट भर्खरै तङ्ग्रे्रेको जस्तो एउटा तालुखुइलेले मुठ्ठी उचालेपछि आन्दोलनको नेप्से उकालो लाग्यो ।
आ–आफूमा मारामार गरिरहेका कुकुर बिरालाहरूलाई समयले कटु अनुभवको कोर्रा हानेपछि बुद्धिबङ्गारो पलायो । यताको सेतो हात्तीको हालहुकूम पनि ओरालो लाग्दै गयो । यसरी समयले कोल्टे फेरेपछि अभागीहरूका आङमा न्यानो घाम लाग्यो ।
शुरूमा हुनेखाने र हुँदाखानेहरू बीचको असमानताको खाडल पुरेर पीच गर्ने र सर्वसुलभ बनाउने भन्ने थियो । पछि आफ्ना हातमा डाडुपन्यु परेपछि ती वाचाकसम जतिलाई घाममा सुकाइदिए । अनि कालेपार्टी, गोरेपार्टी, थेप्चेपार्टी, चुच्चेपार्टी, दन्तद्वारे पार्टी, डिम्पलपार्टी, खैरेपार्टी, डेरेपार्टी, तल्सिङपार्टी, मोहीपार्टी, भाउजूपार्टी, नन्दपार्टी, सालोजेठान पार्टी, सम्धिपार्टी, साढुपार्टी, भेनाज्वाइँ पार्टी, गुन्युचोली पार्टी, लेहेङ्गा पार्टी, जोईटिङ्ग्रे पार्टी, कालिकोट पार्टी, पेटीकोट पार्टी आदि ईत्यादि च्याउपार्टी र झ्याउपार्टीहरू मिलेर उल्का गर्न थाले । १५ वर्ष अघि जन्मेको वसन्त क्रान्ति नाम गरेको चुल्बुले मोरो पुल्पुलिएर, पलाप्पिएर, पात्तिएर, नाप्पिएर छोइचलाई सक्नुको भएन ।
कट्टु पनि सम्हालेर लाउन नसक्ने पट्टु प्राडोमा सवारी होइसिन थाल्यो । हवाईचप्पल लाउने त्यो ख्याउटे हवाईजहाजको टेण्डरमा समेत हातको सफाई गर्न सक्ने भयो । उसबेलाकी मकैको ढोड सप्रेर जलगैँडा जस्तै देखिन थाली । हाइ आउँदा हङकङ, हाच्छियूँ आउँदा सिङ्गापुर धाउन थाली ।
महँगीमा घिस्रिएर कर तिर्दातिर्दै जनता भनाउँदो सोझो जन्तुको थोत्रो कछाड पनि छोट्टिँदै गएर लँगौटी बन्न पुग्यो । त्यही लँगौटी अड्याउने कन्दनीमा पनि कर लाग्ने भएपछि भोट दिएको हातले गुप्ताङ्ग छोपेर अर्को हातले नेताजीको जयजयकार गर्नॅपर्ने भयो । त्यसो नगरे लोकतन्त्रको सास जान्थ्यो, गणतन्त्रलाई गाह्रो हुन्थ्यो । उसै पनि रहरले ल्याएको लोकतन्त्र, बाध्यताले ल्याएको गणतन्त्र अनि गलपासो लागेको सङ्घीयता जोगाउनै हम्मेहम्मे परेको छ ।
हिजोसम्म कुरै जोतेर, कुरै उमारेर, कुरै फलाएर, कुरै पकाएर कुरै ख्वाएर जनतालाई अघाउँजी पारेर जोरीपारीहरूलाई समृद्धि–यात्रा देखाउनेहरू एकापसमा चुम्माचाटी गर्दागर्दै लड्न थालेका छन् । ठाउँ कुठाउँमा अभर पर्ने गरी हानाहान गर्न थालेका छन् । एउटोले कपडाको नाउँमा कट्टु मात्रै लाएर कराइराको छ । अर्कोचाहिँ निर्वस्त्र हल्लिएर चिच्याइराको छ ।
सेतो हात्ती आऊ ! हामीलाई बचाऊ । कतै भेडाहरूको जुलुस निस्किँदै छ । कतै सेता हात्ती धपाउ, हामीलाई बचाऊ ।
भुक्तभोगीहरुको चीत्कार बढ्दैछ । फिल्म गज्जब बन्न लागेकोमा प्रोड्युसर दङ्गदास छ. डाइरेक्टर मख्लेल छ । पटकथा लेखक जुँगामा ताउ लाउँदै छ, टाइटल सिङ्गर सुसेल्दै छ । मुख्य र सहायक कलाकारहरूलाई चाहिँ सन्ततिको भविष्यमा आगो लाएर फिल्म सुटिङ्गको समापन गर्न भ्याइनभ्याई छ ।
०००
सिनामङ्गल, काठमाडाैं
सद्य लाेकार्पित जंगबहादुरकाे फ्रेन्डरिक्वेस्ट (२०८१)
Subscribe
Login
0 Comments
Oldest







































