उत्तमकृष्ण मजगैयाँमुखियाको पद खाली छ
तर कसैले आश्चर्य मानिदिएनन्, न त कसैले खुशी नै जाहेर गरे। म छक्क परेँ । हिजोसम्म मेरो बेकारी जीवनप्रति सबै चिन्तित थिए। तर आज किन खुशी छैनन् ? मेरो खुशी उम्लेर त्यसै पोखियो ।

उत्तमकृष्ण मजगैयाँ :
बदलिंदो युगबाट रत्तीभर अप्रभावित खोर (मेरो डेरा) भित्र बस्दाबस्दा पट्टाई लागेर ढाड सोझ्याउन बजार निस्कन्छु । तर नचाहेर पनि गुरुजीसंँग बाटैमा साक्षात्कार भइहाल्छ । उहाँ मेरो नजिक आएपछि एवं मेरो सादर नमस्कार पाएपछि म जुन प्रश्नबाट बच्न चाहन्छु, प्याट्ट त्यही सोध्नुहुन्छ- ‘के छ ? के गर्दैछौ आजभोलि ?’ उहाँले औपचारिकता निभाउनुभयो वा साँच्चिकै म बेकार भएकोमा उहाँलाई हार्दिक दुःख छ त्यो मैले आजसम्म ठम्याउन सकेको छैन । शायद अहं तुष्टिको लागि पनि यो प्रश्न गरिएको हुनसक्छ । यस प्रश्नले ममा जुन ग्लानि उठ्छ त्यसको छाया शायद मेरो अनुहारमा पर्छ होला । औपचारिकतावश मुस्कुराउनुपर्दा त्यो आँसुविनाको रोदन बन्छ होला । खै, त्यसवेला ऐना हेरिँदैन, तर चस्माभित्र हाँसिरहेका गुरुजीका आँखाले ममा अझ हीनभावना थपिदिएको स्पष्ट अनुभव गर्छु ।
झोंक-झोंकैमा विभिन्न योजनाहरू तैयार पार्न थाल्छु । आफ्ना यी योजनाहरूको भविष्यगत सार्थकता सम्झी फुरुङ्ग हुने पनि गर्छु। तर यी योजनाहरू कहिल्यै पूरा भएनन्, किनभने ‘अर्थदेव’ को निगाह ममाथि थिएन । मनका लड्डु घिउसित कति खाइयो । मन अघायो, तर पेट भने उही चाउरिएको मरीच झैं- खोक्रो । देवकोटाको उडेर चन्द्र छुने सन्देशको विंडो पनि थामेकै छु, तर मेरा विचारहरू कार्यरूपमा कहिल्यै परिणत हुन सकेनन् । कत्ति अन्तरवार्ताहरूमा पसे, जस्तोसुकै कामको लागि पनि कम्मर कसे, तर ‘सफलता भने शून्य । आफै भन्नोस् – म स्नातकले ‘खर्दार’ पनि नभेट्टाउनु लाजमर्नु कुरो होइन ? के गर्ने ? अव त लाज पनि पचाइसकेको छु । सानो – तिनो पुर्ख्याैली थाती पनि बेची खाइसकेको छु, जीवनमा पाउनुपर्ने हण्डर जति पाइसकेको छु । तर पनि कता हो कता गुरुजी एवं साथी-भाइहरूको प्रश्नको आँधीबाट च्नको लागि मन अताल्लिएको हुन्छ । यसभन्दा पनि ठूलो प्रश्न त अर्को छ- कसरी छाक टार्ने ? जीवन कसरी धान्ने ?’ तर कुनै पनि प्रश्नको समाधान टक्कै पाइएन ।
केही दिन त घरदेखि बाहिरै निस्किनँ । तर कपाल र दारी-जुँघा बढेर आफूलाई डर लाग्न थालेपछि एकपल्ट हजामको दर्शन गर्छ कि भनेर बजार पसेको थिएँ, एउटा साथीले बाटोमा ‘टेक अप’ गरिहाल्यो । मेरो हुलिया देखेर उसले सोध्यो- ‘के छ चालामाला कवि भइस् कि क्या हो ? मेरो गिदीमा कता हो कता टननन घण्टी बज्यो मीठो स्वरमा । ओहो ! या हुलियामा त म कविकै पो देखिँदो रहेछु । तीक्ष्ण बद्धिले सोच्यो, मुखले तुरुन्त ओकल्यो ‘के थियो र ? यस्तै केही काेर्ने गर्छ- कविता, लेख, कथाहरू ।’ साथीको अनुहारतिर हेरे ऊ छक्क परिरहेको थियो । म स्वय पनि तीनछक्क थिएँ। यति ठूलो असत्य सम्भाषण मेले मुखबाट कसरी ओकल्न सकें हेला ? हुनत झूठो बोल्न मेरो लागि कुनै नौलो कुरो थिएन, तर असत्य पनि यति मीठो हुँदो रहेछ- आजै थाहा भयो । साथी विस्मित भई हिँड्यो। मैले पनि अव हजामछेउ जाने विचार त्यागिदिएँ, किनभने यो हुलिया त कवि भएको प्रमाणपत्र पो रहेछ। दुई-चारवटा लेख-कविताहरू यता उताबाट चोरचार, तानतुन पारी, अरू भाषाबाट आफ्नो भाषामा उतारी भूमिकाको नून-भुटुनसहित साथीहरूको महफिलमा सुनाइदिएँ । मेरो औधी प्रशंसा भयो । एक-दुईवटा साथीले- ‘यो कताकता पढे वा सुनेजस्तो लाग्यो’- भने । तर मैले तत्काल उत्तर पड्काएँ- ‘लेखकहरूको दृष्टि सम्यक् हुन्छ । फेरि, मेरो रचना सुनेर यो अनुभूति पाउनुभएकोबाट म मेरो रचनालाई सार्थक र सफल ठान्छु किनभने यो तथ्य पढ़े-सुनेजस्तो मात्र नभई वास्तविक आँखा खोलेर हेरे समाजभित्रै आफ्नो छेउछाउ पाउनुहुनेछ, कसो ?’ अब कुनै संशय रहन्न । साथीहरू सन्तुष्ट हुन्छन् एवं म आफ्नो तर्कशील बुद्धिमाथि गर्व गर्छु। तर मेरो उरको व्यथा र जीवनाधारको करुण कथा लामिदै-लामिदै जाँदै छ किनभने पत्र-पत्रिकामा फाटफुट रचनाहरू प्रकाशित भए पनि धनले कुन्नि किन शत्रुताको निर्वाह गरेकै छ किनभने मसँग कुनै जागीर थिएन ।
एउटा साथीले सल्लाह दियो- ‘जागीर खा बाबै। देवकोटा जस्ता महान् साहित्यकारले त आजीवन जागीर र ट्यूसन नगरी सुख पाएनन्- तेरो के गिन्ती ? बरु भन्सारअड्डा ताकेस्, नभए करअड्डा वा अन्तःशुल्क भए पनि वेश । स्नातक छस् – बरु मुख्खे, बहिदार नै भएर बसेस् । मौकामा गधालाई पनि वराजु भन्नुपर्छ – आफ्नो बाबुको के जान्छ र ? बरु आउन थाले राख्ने ठाउँ हुन्न । समयमै होश गर है !’ भन्दै ऊ बाटो लाग्यो ।
अब त मैले ‘साहित्यकार’ ठहरिए पनि जागीर नखाई सुख नपाउने ठहन्याएँ। खबर कागतमा एक-दुईवटा विज्ञापन (खदार पदको किनभने त्यसभन्दा माथिको त कुनै आस नै थिएन। पढेर निवेदन ठोकिहालें। विभाग परेछ कृषि शाखाको । अन्तरवार्ताभन्दा पहिले नै भएको साक्षात्कार बढी प्रभावकारी हुन्छ भन्ने सुनेको थिएँ। तसर्थ साथीको एकजोर लुगा एक दिनको लागि मागी कविता छपाएर पाएको बक्सिसबाट केही कोसेलीको व्यवस्था गरेर कर्यालय-प्रमखको डेरातिर लागेँ । गेट खोलेर भित्र पसेकै वेला आँगनमा मेरै जीउडालका एउटा अधबैंसे कुर्सीमा बसेर घाम तापिरहेको देखेँ । उनको छेउछाउमा ताडको रूख झैं अग्लिएका छ – सातओटी अविवाहित ठिटीहरू पनि थिए । म सरासर बूढाको छेउ गएर नमस्कार बजारें। ठिटीहरूमध्ये एउटीले चिन्नु न जान्नु मलाई नमस्कार गरी एवं हाँस्दै मेरो हातमा भएको पोको खोसेझै गरेर लगी । अरू केटीहरू पनि ऊनेर झुम्मिए। एकै क्षणमा लुछाचुँडी चल्यो । कसैले स्याउ भेट्टायो, कसैले अम्बा, कसैले पिचुलिएको केरा। बूढाले मलाई छेउकै बेन्चमा बस्न अनुरोध गर्दै भने- ‘मेरा छोरीहरू हुन् बडो फ्याङ्क छन् देख्नुभएन ?’ अनि हललल हाँसे । मैले पनि उनको हाँसोमा साथ दिँदै भने- ‘बडो प्रसन्नताको कुरो हो….’ उनले आँखा केही चिम्स्याएर मलाई जाँचेझै हेरे, अनि पुनः हाँस्न थाले ।
केही क्षणपछि उनको हाँसो कम भयो । उपयुक्त समय ठानेकोले मैले आफ्नो आगमनको उद्देश्य बताएँ। अब बूढा केही गम्भीर गए। कुरै कुरामा म पढेको तर बेकार भएको, बेकारीको समयमा केही लेखिटोपल्ने, घरानिया तर टाट पल्टेको, अविवाहित साथै नगदनारायणको कोपदृष्टि परेको आदि तथ्यहरू उनले थुते । मेरो कुरा सुनेर बूढाका छोरीहरू मतिर क्वारक्वारती हेर्न थाले एवम् आँखै-आँखाले मलाई निल्छन् कि झै गर्न थाले। पोको खोस्ने चाहिँ त लाजै नमानी बेञ्चमा मसँगै नारिएर बस्न आई एवम् मेरो दाहिने हातका औंलाहरू समाउँदै भन्न थाली ‘यो त दार्शनिक हात हो। यो हातबाट साहित्य-सृजन किन नहोला ?’ तर बूढाले उसलाई हकार्दै भने- ‘कुन्ती ! तिमी राधा, उमा, लक्ष्मी, सरस्वती सबै वहिनीहरूलाई लिएर भित्र जाऊ । हामी गम्भीर वार्ता गर्दै छौं ।’ केटीहरू कालो मुख लाउँदैभित्र गइसकेपछि बूढाले भने- ‘कुन्तीले तपाईंलाई हे हे हे हे… तसर्थ मैले पनि विज्ञापनवाला पदको लागि तपाईलाई छाने । भोलि अफिस आएर नियुक्तिपत्र लिई काम गर्न थालिहाल्नोस् ।’
मैले के सुनेँ – के सुनेँ, तर जागीर पाइने आशाले चुप लागेँ । साँच्चिकै सोध्नुहुन्छ भने, मलाई जागीर बाहेक अन्य केही कुराप्रति अभिरुचि थिएन । जागीर मात्रै पाइयोस्- मेरो पच्चीसवर्षे जोवन कुन्तीको झन्डै तीस पारीको जोवनसँग कसरी बाँधिन्छ त हेरौं ? म त्यहाँबाट उठेर आउँदा भयालबाट केही जोडा काला आँखाले मलाई टाढासम्म पछ्याइरहेको पाएँ ।
दोस्रो दिन नियुक्तिपत्र पाएँ । मानौ लाखौंको चिठ्ठा पर्यो । बूढाको आग्रहले त्यसै दिनदेखि काम गर्न सुरु गरें। अस्थायी जागीर भएर के भयो त ? कामको अनुभव भएपछि आफ्नो महत्त्व बढ्छ, लो. से. आ. दिँदा सजिलो पर्छ । मैले पनि बस्ने कुर्सी भेट्टाएँ। मेरो टेबुलमाथि थुप्रै फाइलहरू थिए। यही त मेरो सपना हो । पाएँ- नपाइने चीज पाएँ। मेरो कत्रो अहोभाग्य !
साँझ अफिस सकिएपछि बजारको मूलसडकमा घाँटी तन्काई, छाती फुकाई बडो शानसँग हिड्न थालें । आज पनि गुरुजीसँग भेट भयो, तर केही सोधेनन् । उनलाई खुशीको खबर आफै सुनाएँ। कति परिचित साथीहरूको पाखुरा समात्दै भन्न थालें ‘थाहा पाइस् ? मैले कृषिमा जागीर पाएँ ।’ तर कसैले आश्चर्य मानिदिएनन्, न त कसैले खुशी नै जाहेर गरे। म छक्क परेँ । हिजोसम्म मेरो बेकारी जीवनप्रति सबै चिन्तित थिए। तर आज किन खुशी छैनन् ? मेरो खुशी उम्लेर त्यसै पोखियो ।
अर्कोदिन आफ्नो हुलियालाई सकेसम्म सपार्ने प्रयत्न गरे । घडी थिएन तसर्थ समय कति बित्यो होशै भएन । छिटो छिटो खुट्टा लम्काउँदै अफिस पुगेँ । तर मेरो कुर्सीमा आज अर्कै व्यक्ति बसेको देखेँ। पछि थाहा भो, यसलाई लोक सेवा आयोगले सिफारिश गरी पठाएको रहेछ । अर्थात् म स्वतः खारेज भएछु । अब ममा त्यहाँ उभिइरहन सक्ने शक्ति रहेन। म अफिस छोडी भाग्न थालेँ । बूढा चिच्याउँदै थिए- ‘पख्नोस्… पख्नोस्। यहाँ मुखियाको पद पनि खाली छ ।’ तर मलाई यो सुन्ने फुर्सदै थिएन। बरु डर थियो, हिजो कस-कसको पाखुरा समाउँदै मैले जागीर पाएको कुरो गरेको थिएँ आज मेरो पाखुरा समाउँदै ‘भोज ख्वा’ पो भन्छन् कि ? आँखा छोपेको बग्गीको घोडाझै दायाँ-बायाँ कतै नहेरी आफ्नो बस्ने कालकोठरीतिर लागें- जसको कालिमाले मेरो दारी र कपाल हप्तामा एक इन्च बढ्छ, जसको दुर्गन्धले शरीरको तौल महीनामा एक पाउण्ड घट्छ । युगले पल्टा खाओस् वा जेजस्तो होस् – तर मेरो यो घट्नु र बढ्नुको क्रिया निरन्तर भइरहने छँदैछ किनभने मैले अझै जागीर पाएको छैन ।
०००
दाङ
धराेधर्म हजुर (२०५४)
Subscribe
Login
0 Comments
Oldest







































