साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लुटतन्त्र अमर रहाेस्

डन भनेका लोकतान्त्रिक र पौरखी गन पनि हुन् तिनकै साथ लिएर लुटौं तिनलाई आशीर्वादको हात लिएर लुटौं हाम्रो राष्ट्रिय मिसन नै यही हो, दाह्रा किटेर लुटौं, घुसमा समेत कमिसन फिटेर लुटौं लोकतन्त्रको अर्को नाम लुटतन्त्र हो यस्तो लुटतन्त्रमा जसले सक्यो उसले लुट्न पाउनुपर्छ

Nepal Telecom ad

उठेर लुटौं, कुटेर लुटौं, फुटेर लुटौं, जुटेर लुटौं
यो लुटको मौसम हो, जे जसरी हुन्छ खुब लुटौं
लुट्नुमै छ मजा, लुट्नुमै छ आनन्द, परमानन्द
बसी बसी लुटौं, सुती सुती लुटौं,
हेरी हेरी लुटौं, छानी छानी लुटौं
लुट्ने कानुन छैन भने कानुन बनाएर लुटौं,
भुट्ने मौका छैन भने मौका मिलाएर लुटौं
माला पहिरी पहिरी लुटौं, गाला सोहरी सोहरी लुटौं
यो मुलुक लुट्न यस्तो अपूर्व अवसर
यसअघि कहिल्यै आएको थिएन,
दिल खोलेर लुटौं, हाक्काहाक्की बोलेर लुटौं
अवसर छोपेर लुटौं, जाँगरका शिलालेख खोपेर लुटौं ।

लुटानका अनन्त शृङ्खला हुन सक्छन् होऊन्
नैतिकता, आदर्श, आस्थामा जतिसुकै पाप्राहरू पाप्रिऊन्,
कायम भएका त्याग र वलिदानका गाथाहरू जतिसुकै छोपिऊन्,
निर्लज्जताका जुइना र डोरीहरू छिने छिनून्,
भेडा नागरिकहरूले थुक्नुसम्म थुके थुकून्
उनीहरूका आन्द्रा सुके सुकुन्
तिनै सुकेका आन्द्राहरू लुछीलुछी लुटौं,
हिँडेर आएका पाइलाहरू पुछीपुछी लुटौं
लुकीलुकी लुटौं, देखीदेखी लुटौं
सोचीसोची लुटौं, घोचीघोची लुटौं
बाँधेर लुटौं, खाँदेर लुटौ
भिटो पावर लगाएर लुटौं, बिटो पारेर लुटौं
यस्तो महान् अवसर फेरि आउँदै आउँदैन,
लुटलाई राष्ट्रिय अभियान बनाएर लुटौं ।

लुट्नका लागि जे गरे पनि हुन्छ, जसो गरे पनि हुन्छ
जब लुट्नु नै छ भने गर्धन निचोरेर लुटौं,
घाँटी थिचेर लुटौं, गाला पड्काएर लुटौं
घुँडा मारेर लुटौं, खुट्टा पसारेर लुटौं,
पाखुरा सुर्किदै लुटौं, आइलाग्नेका छाला खुर्किंदै लुटौँ
आँखा सन्काएर लुटे पनि हुन्छ,
झिँगा भन्काएर लुटे पनि हुन्छ
लोप्पा ख्वाएर लुटे पनि हुन्छ
धक्कु लाएर लुटे पनि हुन्छ,
पक्कु लाएर लुटे पनि हुन्छ

लुट्नु एउटा महान कर्म हो,
जे जसरी लुटे पनि हुन्छ ।
तेलमा पानी हालेर लुटौं,
पानीमा लेदो हालेर लुटौं,
औषधीमा बिष हालेर लुटौं
खुला बाटो सर्लक्कै थुनेर लुटौँ,
षड्यन्त्रका जाल बुनेर लुटौं
खोला जति झोलामा हालेर लुटौं

चिम हेर्न ममबत्ती बालेर लुटौं
कुनै बेला जुवाका खाल थापीथापी लुटौं,
कुनैबेला मगन्तेका थाल थापीथापी लुटौं
ठेक्काबाट लुटौं, पट्टाबाट लुटौं
युवाहरूको यहाँ कामै छैन,
विदेशका मरूभूमितिर पठाएर लुटौं,
उस्तै परे उतैतिर टाउका कटाएर लुटौं
एक अर्कालाई लडाई लडाई लुटौं,
बिनसित्तिका पाङ्दुरेलाई थाप्लामाथि चढाई चढाई लुटौं
डन भनेका लोकतान्त्रिक र पौरखी गन पनि हुन्
तिनकै साथ लिएर लुटौं
तिनलाई आशीर्वादको हात लिएर लुटौं
हाम्रो राष्ट्रिय मिसन नै यही हो, दाह्रा किटेर लुटौं,
घुसमा समेत कमिसन फिटेर लुटौं
लोकतन्त्रको अर्को नाम लुटतन्त्र हो
यस्तो लुटतन्त्रमा जसले सक्यो उसले लुट्न पाउनुपर्छ
त्यसैले हामी सबैले जोडसँग भनौं–
यो लुटतन्त्र अमर रहोस् । अमर रहोस् ।

कलङ्की, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x