साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमा !

आमा हुन् पृथिवी चराचर जगत् आमाविना मर्दछन्, आमाको ममता र दृष्टि नभए प्राणी थला पर्दछन् ।

Nepal Telecom ad

प्रह्लाद पोख्रेल


आमा जीवनमूल हुन् भुवनकी आधार हुन् सृष्टिकी
आमा लोचन हुन् नवीन रचना सारा नयाँ दृष्टिकी
आमा जीवनकी महौषधि सधैँ हुन् दिव्य सञ्जीवनी
आमाकै ममता पिएर तनमा हुर्कन्छ यो जीवनी


विद्यामूर्ति सरस्वती अभयदा आमा सदा प्राणदा
प्रज्ञाचक्षु विवेकविन्दु वरदा आमा स्वयं शारदा
आमा शान्ति, दया, क्षमा र करुणा वात्सल्यकी सागर
आमा उज्ज्वल चेतना हृदयकी उत्प्रेरणा, जाँगर


जस्तै रूपवती तथा गुणवती वीराङ्गना नायिका
नारीरत्न अनेक हुन् तर सबै आमाविना छन् फिका
आमासाथ भए हुने परपरै तृष्णा र तिर्खा-क्षुधा
आमा साथ रहे समीप रहने कल्याणकारी सुधा


आमा सिर्जनकी मुहान ममता औदार्य सारा गुण
हुन्छन् त्याग, दया, क्षमा, मधुरता मातृत्व आकर्षण
आमा प्राण दिई प्रभा चहकिलो सन्तानमा भर्दछन्
आमाकै भरबाट जीवन-नदी सन्तानले तर्दछन्


आमाको तन पाउँदैन कहिल्यै आराम गर्ने क्षण
आमा हर्दम लड्दछिन् अघि बढी यो जिन्दगीको रण
आमा हुन् पृथिवी चराचर जगत् आमाविना मर्दछन्
आमाको ममता र दृष्टि नभए प्राणी थला पर्दछन्


आमा हुन् धरणी चिरेर मुटु नै सन्तान जन्माउँछिन्
सास्ती, दुक्ख र पीर, हन्डर खपी सन्तान हुर्काउँछिन्
आमाको ममता भुलेर जति नै सन्तान जाऊन् पर
आमाको मन खुम्चिँदैन कहिल्यै सन्तानदेखिन् तर –


आमा ! रूप विरूप पार्न छ ठुलो उद्योग सञ्चालित
चाहन्नन् सपनातिरै पनि कुनै सन्तान तिम्रो हित
छौँ छोरा जिउँदै परन्तु सबको व्यर्थै भयो जीवन
जन्मायौ किन हा ! कुपुत्र यतिका आमा ! नढाँटी भन ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमा

आमा

प्रल्हाद पोखरेल
नयाँ वर्ष

नयाँ वर्ष

प्रल्हाद पोखरेल
शहीदकाे सम्झना

शहीदकाे सम्झना

प्रल्हाद पोखरेल
आँखा

आँखा

प्रल्हाद पोखरेल
साहित्य – सञ्जीवनी

साहित्य – सञ्जीवनी

प्रल्हाद पोखरेल
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x