सुलसुलेजनसाहित्य यात्राको ६७ औँ शृङ्खलामा डा.गिरिका कविता
राम विनयको अध्यक्षतामा सम्पन्न समारोहमा प्रमुख अतिथिका रूपमा साहित्यकार, एमाले संस्कृति विभाग प्रमुख रघुजी पन्त हुनुहुन्थ्यो ।

काठमाडौं । वैशाख १७।२०७९ राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले विगत लामो समयदेखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ६७ औँ शृङ्खलामा वरिष्ठ भाषाविद्, लोकसाहित्यका अन्वेषक, समालोचक एवम् कवि प्रा.डा.जीवेन्द्रदेव गिरीका एक दर्जन गीत/कविता गुञ्जिए ।
राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा अग्रज साहित्यकार, एमाले स्थायी समिति सदस्य तथा संस्कृति विभाग प्रमुख रघुजी पन्त उपस्थित हुनुहुन्थ्यो भने राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारी विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । अतिथिहरूमा पूर्व मन्त्री एवम् साहित्यकार शान्ता मानवी, त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्रमुख प्रा.डा.कृष्णप्रसाद घिमिरे, प्रगतिशील लेखक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष डा.मधुशूदन गिरी, प्रा.डा.ध्रुवप्रसाद घिमिरे, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका उपाध्यक्ष डा.फणीन्द्रराज निरौला, राष्ट्रिय जनसांस्कृतिक महासङ्घका उपाध्यक्ष आर.सी.न्यौपाने र सचिव राममणि ढुङ्गेल, डा.षडानन्द पौडेल, वरिष्ठ स्रष्टा बूँद राना, प्राज्ञ माधव प्रधान, वरिष्ठ स्रष्टा भक्तबहादुर पण्डित, प्रलेस काठमाडौँका अध्यक्ष ज्ञानु विद्रोही, स्रष्टाहरू रेशम विरही र धीरकुमार श्रेष्ठ उपस्थित हुनुहुन्थ्यो । सहयोगी कवि तथा गायकका रूपमा प्राज्ञ नर्मदेश्वरी सत्याल, सुशीला प्रधानाङ्ग, आकाश थापा, जीतेन्द्र चौधरी, रूपक चौधरी उपस्थित हुनुहुन्थ्यो ।
देबु लुइटेलको सञ्चालनमा सम्पन्न उक्त समारोहका अध्यक्ष राम विनयले छ वर्षअगाडिदेखि सञ्चालन गरिएको ‘अविरल जनसाहित्य यात्रा’ बिचमा केही समय रोकिएको तर गत महिनादेखि फेरि यसको उद्देश्यअनुसार एकजना प्रगतिवादी स्रष्टालाई यो विशेष समारोहमा उपस्थित गराई कविको व्यक्तित्व तथा कृतित्वका बारेमा समेत चर्चा गर्दै एक दर्जन कविता सुन्ने र ती कविताको समालोचना गर्ने यो कार्यक्रमले स्रष्टालाई र समग्र नेपाली साहित्यमा केही न केही योगदान अवश्य पुग्छ भन्ने ठानेर थालनी गरिएको बताउनु भयाृ ।
‘अविरल जनसाहित्य यात्रा’को उद्देश्य तथा आजको यो विशेष समारोहका कविनायक प्रा.डा.जीवेन्द्र देव गिरीको व्यक्तित्वमाथि राष्ट्रिय जनसाहित्यिक सङ्घका महासचिव प्रकाश सिलवालले प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा प्रा.डा.जीवेन्द्र देव गिरीले ‘किसानको गीत’, ‘बज्यै’, ‘श्रद्धाञ्जली त्यो विलुप्त बालकप्रति’ र ‘जबज प्यारो’ शीर्षकका कविता वाचन गर्नुभयो भने सहयोगी कविहरू नर्मदेश्वरी सत्यालले ‘राम विनय दाइ’ शीर्षकको र ‘बाबा विदेश जानुभो’ शीर्षकको बालकविता वाचन गर्नुभयो । सुशीला प्रधानाङ्गले ‘झिलिमिली बिजुली’ शीर्षकको बालकविता वाचन गर्नुभयो । ज्ञानु विद्रोहीले ‘सुन्दर’ शीर्षकको कविता वाचन गर्नुभयो । देबु लुइटेलले ‘समर्पण’ शीर्षकको अनुष्टुप छन्दको कविता वाचन गर्नुभयो भने जीतेन्द्र चौधरी र रूपक चौधरीले ‘हा हा कहो न’ शीर्षकको थारु भाषामा अनुदित गीत गाउनुभयो । आकाश थापाले ‘जाँदै छ रातको कालो’ बोलको गीत गाउनुभयो भने प्राज्ञ माधव प्रधानले ‘झुल्के घाम’ बोलको गीत गाउनुभएको थियो ।
वाचित कविता तथा गीतमाथि टिप्पणी गर्नुहुँदै प्रा.डा.कृष्णप्रसाद घिमिरेले बहुआयामिक व्यक्तित्व जीवेन्द्र देव गिरीसँग तीन दशकदेखि सङ्गत गरेको भए पनि देशको संस्कृति र सभ्यताका अध्येताहरूको गुणात्मक उपस्थिति रहेको आजको यो विशेष समारोहमा कवि जीवेन्द्र देव गिरीका रूपमा उहाँ प्रस्तुत हुनुभएको बताउनु भयो । ‘उहाँका कविताहरू शालिग्रामजस्ता कुँदिएका छन्, सशक्त छन्, सरल र सम्प्रेष्य छन् । उहाँका कविता केही शुद्ध कविता छन्, केही नाट्यकविता छन् भने केही आख्यान कविता रहेका छन् ।’ घिमिरेको कथन थियो ।
विशेष अतिथि प्रेमनाथ अधिकारीले लामो समयदेखि चलिरहेको ‘अविरल जनसाहित्य यात्रा’ कोरोना महामारीपछिको दोस्रो शृङ्खलाका रूपमा भौतिक उपस्थितिमा आज सम्पन्न भएको बताउनु भयो ।
प्रमुख अतिथि रघुजी पन्तले कवि जीवेन्द्र देव गिरीका आज बालकविता, छन्दोबद्ध कविता, गीतिकविता, गद्य कविता वाचित भएको बताउँदै मूलतः जीवेन्द्रजी भाषा, साहित्य, लोकसाहित्य र समालोचनाका स्थापित व्यक्तित्व हुनुहुन्छ र कुशल सङ्गठक पनि हुनुहुन्छ भन्नु भयो ।
विशेष समारोहमा आमन्त्रण स्वीकारी उपस्थित भएका प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरू, टिप्पणीकार, साहित्यानुरागी व्यक्तित्वलाई धन्यवाद दिँदै सङ्घका उपाध्यक्ष रमेश पोखरेलले हार्दिक आभार व्यक्त गर्नुभएको थियो । अर्को महिनामा ६८ औँ ‘अविरल जनसाहित्य यात्रा’मा चितवनमा रहेर नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहनुभएका किसान प्रेमीलाई प्रस्तुत गर्ने जानकारी दिँदै कार्यक्रमको समापन गरिएको थियो ।
– रमेश पोखरेल
Subscribe
Login
0 Comments
Oldest












































