गोविन्द पौडेलसुनिबक्स्योस् न बडामहाराज !
जनप्रतिनिधि भनाउँदा निला स्याल हुन् ती त कवाडीमा पनि नबिक्ने पतुर् हुन् सुनिबक्स्योस् न बडामहाराज ! यी पनि राष्ट्रका शतुर् हुन् ।

पहाड नचढ्न्या, गाड नतर्न्या
होची अर्घेली विचार नगर्न्या
जसो जसो आफ्नो कंस नेता
उसै उसै स्वाहा छर्दिन्या
जसो जसो आफ्नो दलको कवाली
उसै उसै सङ्गीत भर्दिन्या
एक फाँको चिउरामा आस्था बेची पठाउन्या
एक चौटा मासुमा स्वाभिमान नेटो कटाउन्या
नाकलाई नाक नभन्या, गाला भन्या
सेतालाई सेता नभन्या, काला भन्या
आफ्नै शक्ति भुलिकन तलुवा चाट्न्या
दलका गुरुबाको कुरा नकाट्न्या
बज्र रोक्ने छाती भया पनि
बाटो छेक्ने ताँती भया पनि
यिनी त साँढे जस्ता भया, जोत्न नमिल्न्या
भैँसीका गोबर जस्ता भया, पोत्न नमिल्न्या
नौजवानको दृष्टि लम्बा हुनुपर्न्या
युवा त राष्ट्रका खम्बा हुनुपर्न्या
वीर गोर्खालीका सन्तान बिर्सिकन
भकारी भकारीमा छुप्न्या
भविष्यको चिन्तामा नडुब्न्या
हनुमानको चितामा डुब्न्या
ती सबै युवा नामको पतुर् हुन्
सुनिबक्स्योस् न बडामहाराज !
यी पनि राष्ट्रका शतुर् हुन् ।
कर्तव्य छोपछाप गरिकन अधिकार घोकाउँदै हिँड्न्या
बन्चरोले दारी खौरन्या, बिलेटले मुढो गिँड्न्या
यता जोइ उक्साउन्या, उता पोइ उक्साउन्या
वारि एकताको भाका, पारि जातियताको गीत गाउन्या
पानी नआउने धारा तिनकै हुन्
कोखामा छिपेको दाह्रा तिनकै हुन्
वस्त्र उपहार दिइकन नङ्ग्याउँदै जान्या
सोझो मार्ग छाडिकन बङ्ग्याउँदै जान्या
फिरिङ्गीको डलरमा अल्झिएको
समाजमा पिलो बनी बल्झिएको
भुक्दै हिँड्न्या हड्डी टोक्न्या
कागजे विकास झोलामा बोक्न्या
एनजिओ/आइएनजिओका नाममा अन्मेका
तुहिन पर्ने जन्मेका
ती पनि सुर हराएका बेसुर हुन्
सुनिबक्स्योस् न बडामहाराज !
यी पनि राष्ट्रका शतुर् हुन् ।
आश्वासनकै रोटी बेली पठाउन्या
भोका पेटमा भाषणका ठेली पठाउन्या
डाँडा खोतल्न्या, समथर चिथर्न्या
डोजर हल्लाउन्या, जङ्गल लछार्न्या
आफ्नै घोषणपत्रको मलामी जान्या
पिर्कामाथि चढिकन सलामी खान्या
जनतालाई रैती ठान्याको
आफूलाई महाराज मान्याको
जन सपना कुल्चन्या चिल्ला मोटर चढिकन
भ्रष्टाचारको रोटी सेकाउन्या सुशासन नारा पढिकन
कार्यकर्ता नामको जुम्से चल्लालाई
बजेटरुपी कनिका छरिरहन्या
भोक र रोगले जनता मरिरहन्या
निरो बाँसुरीमा धुन भरिरहन्या
खापा उप्किएका ढोका, कब्जा खुस्किएका झ्याल हुन्
जनप्रतिनिधि भनाउँदा निला स्याल हुन्
ती त कवाडीमा पनि नबिक्ने पतुर् हुन्
सुनिबक्स्योस् न बडामहाराज !
यी पनि राष्ट्रका शतुर् हुन् ।
हेटौंडा
Subscribe
Login
0 Comments
Oldest







































