साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो अध्यक्षहरूको देश

धेरै अध्यक्षहरू सङ्गठनभन्दा आफूलाई ठुलो सम्झन्छन् र मनोमानी गर्ने गर्छन् । फेरि एकपटक सोच्नुहोस् त साँच्चै यिनीहरू अध्यक्ष हुन् कि अदक्ष हुन् ।

Nepal Telecom ad

गोविन्द पौडेल :

यस देशका प्रत्येक व्यक्ति मौजुदा अध्यक्ष वा हुनेवाला अध्यक्ष हुन् । देशमा २ करोड ६० लाख नागरिक होलान् तर सम्झनुहोस् त ३ करोड जति सङ्घ, सङ्गठन र समूह छन् । राजनैतिक, सामाजिक, आर्थिक, सांस्कृतिक र जातीय रूपमा आएका यी समूहमा कोही न कोही अध्यक्ष छन् । त्यसैले यो अध्यक्षहरूको देश हो ।

एउटा परिवारलाई नै उदाहरणको रूपमा लिन सकिन्छ । बाउ पत्नी पीडित सङ्घको अध्यक्ष, आमा तरूनी नेपालकी अध्यक्ष, जेठो छोरो शङ्खेकीरा पीडित मोर्चाको अध्यक्ष, माइलो छोरो उपियाँ उडुस उन्मूलन नेपालको केन्द्रीय अध्यक्ष, कान्छो छोरो निरमाया एसोसियसनको जिल्ला अध्यक्ष, बुहारी गर्भवती सङ्घकी अध्यक्ष, नातिनातिनाहरू बालक्लबका अध्यक्ष । यसरी नै प्रत्येक घरका प्रत्येक नागरिकहरू अध्यक्ष भएका छन् । अब मुलुकको चिनारी नयाँ नेपाल मात्र रहेन अध्यक्षहरूको नेपाल बन्न पुगिसक्यो ।

एकपटक दसैँको अवसर पारेर के.बि.सी. अर्थात् खल्ती विकास क्लबका अध्यक्ष ताकुरामजीले विजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रम राख्नुभएको थियो । समारोहमा गाउँका चल्तापूर्जाहरू जम्मा भएका थिए । परिचय सुन्दा अचम्म लाग्यो- त्यो त अध्यक्षहरूको भेलाजस्तो पो भयो । बाहुनदेखि दलितसम्म उत्तेजितदेखि स्खलितसम्म, इसाईदेखि हिन्दूसम्म रेखादेखि बिन्दुसम्म, उत्पादनदेखि बिक्रीसम्म फुलीदेखि सिक्रीसम्म, राजनीतिदेखि सहकारीसम्म झोलेदेखि भकारीसम्म सबका सब सङ्गठन र सबका सब अध्यक्षहरू । यी अध्यक्षहरूको भिडमा मैले पनि आफ्नो परिचयलाई कमजोर बनाउन चाहिनँ र भनें- हजुर म बिना विभागीय मञ्चको अध्यक्ष ।

देशका जति पनि समूह र सङ्गठन छन् ती सबैको अध्यक्षहरूको एउटा सङ्गठन खडा गरी केन्द्रीय क्षेत्रीय, जिल्ला, पालिका हुँदै वडासम्म फैलाएर फेरि अध्यक्षहरूको सङ्ख्या बढाउन सकिन्छ कि भन्ने सोच पलाउन सक्छ । त्यसो भएमा चिनारी पनि राम्रै हुन्छ ‘अखिल नेपाल अध्यक्ष सङ्घको अध्यक्ष । त्यसपछि उपाध्यक्षहरू उपाध्यक्ष सङ्घको, सचिवहरू सचिव सङ्घको, कोषाध्यक्षहरू कोषाध्यक्ष सङ्घको र सदस्यहरू सदस्य सङ्घको अध्यक्ष बन्न सक्नेछन् त्यसपछि भने देश साँच्चै अध्यक्षमय बन्ने छ ।

केही अध्यक्षहरू तपाइँलाई बेतुकका लाग्न सक्छन् । हाम्रा अध्यक्षहरू नेतृत्व गर्ने सिप र अनुभवभन्दा पदीय लोलुपताले बढी प्रेरित छन् । कोही सदस्यबाट अध्यक्ष बन्न पालो पर्खेदैनन् । सबै एक सय एक अध्यक्षका उम्मेदवारहरू/दाबेदारहरू । यहाँ त पदमा पुग्नु अगावै कमिसन, भ्रष्टाचार र घुसखोरीको हिसाबकिताब अनि पो चल्छ अध्यक्ष पदमा लडाइँ । त्यसपछि टोल विकासहुँदै ढल निकाससम्म र वन समितदेखि खुकुरी दलसम्म जताततै हुनेवाला अध्यक्षहरू सिनोमा गिद्ध भिडे झैं तछाडमछाड गर्न पुग्छन् । आखिर दामलाई अर्जुनदृष्टि बनाएर दौडने नाम मात्रका हराम अध्यक्षबाट सङ्गठनले के नै उपलब्धि प्राप्त गर्न सक्ला र ? कुरो गम्भीर छ ।

सर्वहारा वर्गका अध्यक्षहरू चिल्ला कार र राजसी सयलमा हुँइकिने गर्छन् । दुध सङ्घमा बिरालाहरू अध्यक्ष बनाइएको छ । समयले सदाबहार ज्वाइँसाबहरूलाई नारी अस्मिता संरक्षण मञ्चको अध्यक्ष बनाएको छ । पानी नपुगेका घट्टेहरू प्रगतिशील सङ्गठनको नेतृत्व गर्न पुगेका छन् । वर्षामा पहिरो लडेको र हिउँदमा डढेलो लागेको दुईवटा समाचार लेखेर पत्रकारको अध्यक्ष बन्न खोज्नेहरू पनि छन् । धेरै अध्यक्षहरू सङ्गठनभन्दा आफूलाई ठुलो सम्झन्छन् र मनोमानी गर्ने गर्छन् । फेरि एकपटक सोच्नुहोस् त साँच्चै यिनीहरू अध्यक्ष हुन् कि अदक्ष हुन् ।

०००
हेटौँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x