सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

चर्पी : आनन्दालय

शौचालय अर्थात् त्यो आनन्दको स्थलबाट भान्साघरमा फर्किसकेपछि एकतमासको बैराग लागेर आउँछ । शिशिरको वृक्षजस्तै उराठ छ भान्साघर । चामल भाँडोको पिँधमा पुगिसकेको हुन्छ ।

Nepal Telecom ad

गोविन्द पौडेल :

अलिकति आनन्दको सास फेर्ने र निलेको गाँस बिसाउने सानो इलाका चर्पी नै हो । यसलाई ठाउँ, समाज र भूगोलअनुसार धेरै पर्यायवाचक शब्दहरूले पनि चिन्ने गरिन्छ । पाइखाना, टट्टिखाना, चर्पी, शौचालय, ट्वाइलेट, रेस्टरूम, वासरूम आदि जे नामले पुकारे पनि यो आनन्दालय क्षेत्र हो भन्दा कसैको दुईमत रहने छैन । अथवा यसलाई ‘सु’ गरे सुकर्मस्थल र ‘गु’ गरे गुकर्मस्थल भनेर नामकरण गर्दा पनि कुनै भाषाविज्ञले टाउको दुखाइरहन पर्ने आवश्यकता देखिन्न । यस अर्थमा मैले चर्पीलाई आनन्दालय मानेको छु कि- यसभित्र चाहे दश मिनेट मात्र किन नहोस् सुरक्षाको आश फल्छ, चैनको सास चल्छ ।

यहाँभित्रको बसाइमा मानिसले आफ्नो ब्रह्म प्राप्त गर्छ । आफ्नै शक्तिको खोज गर्छ र आफ्नै भक्तिमा तल्लीन हुन्छ । कुनै अर्को ईश्वरको कल्पना गर्दैन र आफैँलाई ईश्वरको घोषणा गर्छ । आखिर सबै मानिस अनुपम छन्, अद्वितीय हुन् । कोही कसैसँग अनुहार नमिल्नु नै यसको ज्वलन्त उदाहरण हो । समानताको शिक्षालय पनि मान्न सकिन्छ यो पवित्रभूमिलाई । तपाईं सेतो भात खानुहोस्, हरियो साग खानुहोस्, रातो दाल खानुहोस्, कालो चिया खानुहोस्, पहेँलो केरा खानुहोस् तर यो बहुरङ्गीपन तपाइँले यहाँ पाउनुहुन्न । यहाँ त एउटै रङ्ग र एउटै आकारमा जन्म भएको हुन्छ । हो, राष्ट्रियता यही कोठीमा हजारचोटि जन्म भइसक्यो तर तपाईं बुझ्नुहुन्न । तपाईं दलित खानुहोस्, जनजाति खानुहोस्, क्षेत्री बाहुन खानुहोस्, यतिमात्र होइन मधेसी, पहाडी, हिमाली खानुहोस् अन्तत्त्वोगत्वा एउटै देश र एउटै भेषमा नेपाली नै जन्म हुन्छ ।

आनन्दालयभित्र विशेष गरी दुई वर्गका प्रयोगकर्ताहरूको हालीमुहाली रहने गर्छ । एउटा वर्गले हावा बढी र ठोस पदार्थ कम उत्सर्जन गर्छ । अर्को वर्गले ठोस बढी र हावा कम विसर्जन गर्छ । अथवा यसो भनौँ टन्न हसुर्नेले हाते लिंड पसार्छ, अड्कलेर हसुर्नेले हावाको प्रेसर दिएर थोरै खसाल्छ । त्यो पनि कुनै मापनयोग्य डाइमेन्सनमा हुँदैन । कुनै सिकारुले तयार पारेको सानो आकारको समोसाजस्तो ।

यो भूमि बेआराम हुँदा बढी प्रयोग हुन्छ तैपनि आरामपनको महसूस गर्न सकिन्छ । योभित्र कुनै राहु भोट माग्न आउँदैन, कुनै साहु सावाँब्याज असुल्न आउँदैन । कुनै बाउ परदेश जा भन्न आउँदैनन्, शत्रुहरू सरापको गीत गाउँदैनन् । न शिक्षक लौरो बोकेर गृहकार्य खोज्न आउँछ, न जिन्दगी शूल बनेर घोच्न आउँछ । उधारोको मानो खाएर के भो । टुक्रुक्क बसेपछि पेटको विकार क्लिएर कट, मनको विकार सफाचट् । तब पो यो जीवनको पाठशाला बनेको छ, मानवसपनाको राजधानी अर्थात् आनन्दालय ।

गालामा हात लाएर घत्रक्क बसिरहँदा मन भने चलायमान भइरहन्छ । न्युटनले बोटबाट स्याउ खसेको देखेर गुरूत्वाकर्षणसम्बन्धी त्यत्रो सिद्धान्त पत्ता लगाए । हामी वर्षौंदेखि यही पाइखानामा नपचेका शेष दाना खसालिरहेका छौं तर कुनै विचारको आविष्कार गर्न सकेनौँ । जेम्स वाटले वाफले बिर्को ठेलेको देखेर स्टिम इन्जिन तयार गरे । तर हामीले आफ्नै मुत्रको वाफ हेरेर नयाँ सूत्र तयार गर्न सकेनौं । २१ औँ शताब्दीमा आएर बल्ल हात धोएर खानुपर्छ भनेर पढ्दै छौं । चर्पी गएर फर्केपछि साबुन पानीले हात धुनुपर्छ भनेर सिक्तै छौं । यो पाइखाना पनि हाम्रै मात्र ्र बुद्धिले कहाँ बनाएका हौं र । चर्पी नभए रोग पल्किन्छ, प्यारो ज्यानको चिलिम फर्कन्छ भनेर त्रास देखाएपछि हाम्रो घैटोमा घाम लागेको हो । नत्र हिजोसम्म हामीले खोल्चाको अग्लो ढुङ्गो, जङ्गलको सालको फेद र बगरको काँसघारी मोलेकै हो । आज पनि हामीले भान्सादेखि शौचालयसम्म भन्दा फरक र टाढाको दूरी तय गर्न सकेका छैनौं ।

शौचालय अर्थात् त्यो आनन्दको स्थलबाट भान्साघरमा फर्किसकेपछि एकतमासको बैराग लागेर आउँछ । शिशिरको वृक्षजस्तै उराठ छ भान्साघर । चामल भाँडोको पिँधमा पुगिसकेको हुन्छ । पिठाको बोरा हेर्दा यस्तो लाग्थ्यो कि यसमा पहिला कसैले पिठो नै हालेको थियो र ? तरकारीको टोकरी उस्तै रित्तो, तेल, चिनी, चियापत्ती, ग्याँस, दाउरा सबैले इमरजेन्सी सेवासमेत बन्द गरिसकेका । फेरि भोलि चर्पीमा मजासँग दश मिनेट बस्न पनि यिनीहरूको जोहो त गर्नु नै छ । कहाँ सजिलो छ र चर्पीसम्म पुग्ने बाटो ! त्यसको पछाडि ठुलो सङ्घर्ष छ, घमासान लडाँइ छ, खपिनसक्नुको पीडा छ त्यो स्वर्गस्थल प्रवेशमा । धन्न परमेश्वरले हावा दिएका छन् र सास फेर्नचाहिँ ढुक्क छ । बरू सृष्टिकर्ताले भुँडीमा लुँडी खाँद्ने व्यवस्था खारेज गरेर बडेमानको फोक्सो जडान गरिदिएको भए हावाले नै चल्थ्यो नि जिन्दगी !

एउटा ६० वर्षको मानिसले ५५ वर्ष शौचालयमा मलमुत्र त्यागका लागि चर्पीको प्रयोग गर्न सक्छ । जबकि बाल्यकालको पाँच वर्षचाहिँ थाङ्नाथुङ्नी, आमाको फरिया, ओछ्यान, खाट, पलङ, पिँढी र आँगनतिरै लतरपतर पार्छ । दैनिक सात मिनेटका दरले हिसाब गर्दा ५५ वर्षमा ३ महिना साँढे सात दिन मलमुत्र त्यागमा ऊ व्यस्त रहन्छ । कम्तीमा त्यति समय भए पनि प्रत्येक नेपालीले शान्तिसुरक्षाको महसूस गर्दोरहेछ भन्ने मेरो सोझो ठम्याइ हो । हामीले त्याग गर्ने भनेकै चर्पीमा मात्र हो । अन्त त हामी पाएसम्मै लिनमै ध्यान केन्द्रित गर्छौं । मनकामना माताको आशीर्वाददेखि विदेशी दाताको बासी भातसम्म मागेर जीवन गुजार्छौँ । जे होस् पाइखाना सुशान्ति, सुव्यवस्था र सुशासनको मन्दिर मात्र होइन आत्मसन्तुष्टिको प्रयोगशाला पनि हो । मेरो पहिलो र अन्तिम इच्छा यही छ- पेट चरक्क चर्काएर खान पाउनेहरूको बाबाधाम होस्, अड्कलेर खाने दुःखीहरूको हावाधाम नहोस् ।
अस्तु ।

०००
गिलासवाद

Fitkauli Publication Books comming soon
Nepal Telecom ad