सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पत्रकार मितज्यूको प्रत्यक्ष प्रसारण

रातभन्दा सपना लामो हुने छाँट देखेपछि उनलाई टेलिभिजनमा पनि रहर मर्दै गयो । अचेल सुनेको छु, युट्युबर भका छन् रे । उनको सानैदेखिको सपना थियो ठुलो पत्रकार बन्ने ।

Nepal Telecom ad

मेरा पत्रकार मितज्यूको वास्तविक नामचाहिँ ताकुराम हो । सानामा हामी खुब झगडा गथ्र्यौं रे । त्यसैले दिक्क भएका छिमेकीहरू मिलेर हामीलाई मित लगाइदिएछन् । उनी पत्रकार भइसकेपछि मात्र उनको नाम ताकुराम थारू हो भन्ने खुलेको हो, नत्र गाउँमा उनका बोलाउने नाम धेरै थिए । नुहाउन त्यति जाँगर नगर्ने हुनाले बाउआमा माया गरेर ‘काले’ भन्थे । साथीभाइसँग ठुलो पल्टिने र झगडालु स्वभाव भएकाले साथीभाइहरू ‘भाले’ पनि भन्थे ।

समय कहाँ एकनास रहिरहन्छ र ? अहिले मेरा मितज्यू वरिष्ठ पत्रकार भा’का छन् । राष्ट्रको चौथो अङ्ग, उनको कत्रो सान छ, इज्जत छ र समाजमा छुट्टै मान छ । बाटामा दुईपाँच जनाका नमस्कार खा’का छन् । सभासमारोह हुँदा पहिले उनैलाई खबर पुग्छ । कोही मेरो खबर छापिदिनुपयो भनेर गुहार माग्छन् । कोही मेरो फोटो आउनुपर्‍यो भनेर बिन्ती गर्छन् । विचरा मितज्यूलाई भ्याइनभ्याई छ । कसैले बाङ्गोटेढो कुरा गरे कहिलेकाहीँ धम्की पनि दिँदारेछन् – ओइ । तेरो महाभारत छाप्दिऊँ ?

कुहिएको लोप्रामा झ्याउ उम्रन छोड्यो । वर्षाम च्याउ उम्रन छोड्यो बदलामा प्रशस्त एफएम रेडियोहरू उम्रेका छन् । पत्रपत्रिकाहरू निस्केका छन्- दैनिक, साप्ताहिक, पाक्षिक, मासिक के के हो के के । अनलाइन मिडियाको त कुरै नगरौं पाखोबारी अनलाइन, बाँझो खेत अनलाइन, छुचुन्द्रे मिडिया, पानीआन्द्रे डट कम, गुन्द्रुकसिन्की डिजिटल पत्रिका । हत्तेरिका, भो कुरै नगरौं, सलह जसरी उब्जेका छन् । सम्झनोस् त एक्काइसौं शताब्दी कस्तो भो । चाइनिज रेडियोभन्दा पनि स्टेसन मेनेजर सस्तो भो । पत्रकार भन्दैमा सबै एकै ड्याङका मुलाजस्ता समान कहाँ हुन्छन् र ? कोही सेप्रा छन्, कोही पोटिला- कोही नरम छन् कोही चोटिला । मेरा मित पनि चर्चित रेडियो स्टेसन ‘तितेपाती एफ एम’ का वरिष्ठ पत्रकार । पोहोरको मङ्सिर पुर्नेमा गोकणर्थान जात्राको प्रत्यक्ष प्रसारण (लाइभ) उनैले दिए । थोत्रो एफएमको फ्रिक्वन्सी नामक ट्वाङ्ग्रो घुमाउँदै जाँदा झट्ट मितको स्वर सुने । उनी जात्राबट प्रत्यक्ष दिँदै थिए ः

श्रोतागण, यतिखेर म गोकणर्थान जात्राको प्रत्यक्ष प्रसारण गरिरहेको छु । पूर्वबाट मनहरी खोलाको चिसोचिसो हावा बगिरहेको छ । करिब दशवाह्र ठाउँमा लङ्गुरबुर्जा हल्लाइरहेका छन् । बुर्जा तेब्बर अहिले भर्खर मैले पानमा पाँच रुपैयाँ थापेको थिएँ तर बुर्जा तेब्बर पर्‍यो । बधाइ छ बुर्जामा मन जानेहरूलाई । ऊ यतिखेर म देखिरहेको छु, एक जना केटा र एक जना केटी जम्मा दुई जना एउटै पछ्यौरी ओडेर काँसघारीतिर लागेका छन् । कुरो अलि गडबडजस्तो लाग्दै छ । रात अझ छिप्पिँदै गएपछि तिनीहरूको पनि म लाइभ गर्ने छु । पल्लो छेउतिर जाँडले झल्लु भएकाहरू मनहरी खोलाको बहाव जस्तै बाङ्गोटिङ्गो पाइला चालिरहेका छन् । जे होस् जात्रा साँच्चिकै जात्राजस्तै भएको छ । ऐया- भर्खर मात्र पछाडिबाट मलाई कसैले लात मार्‍यो । त्यसलाई यो जाडोमा मनहरी खोलामा चोपल्न पर्छ कि क्या हो ।

मितज्यू के के भनेर फलाक्दै थिए, मलाई दिक्क लाग्यो । साँच्चिकै जात्रा जाँदा त दश बजाउन हम्मेहम्मे पथ्र्यो मलाई जाबो प्रत्यक्ष प्रसारण के मन पर्नु !

भोलिपल्ट फेरि फ्रिक्वन्सी बटारेँ । अर्को ‘निगाले एफएम’ मा पनि मितज्यू नै पो चिच्याइरहेका । मेरीबास्सै कति चर्चित भएछन् त मितज्यू । यहाँचाहिँ बाखो ब्याउन लागेको घटनाको प्रत्यक्ष प्रसारण गरिरहेका रहेछन् । यस्तै हो भने यिनले त एफएमलाई डिस्कभरी र एनिमल प्लानेट च्यानल जतिकै बनाउन बेर छैन । उनी चिच्याउँदै थिए – श्रोतागण, यतिखेर हामी डाँडाघरे घँटी दीदीको घरमा छौं । उहाँको घोर्ले बाखोको आज टुङ्गो पुगेको छ । यतिखेर बाखो प्रसव व्यथाले छटपटाइरहेको छ । हामी देखिरहेका छौं- पछाडि पट्टिको दुईओटा खुट्टा बाहिर आउँदै छ । ए हैन हैन अगाडि पट्टिको खुट्टा छ, अहिले त टाउको पनि निस्क्यो । अहो । हेर्दाहेर्दै बच्चो भुइँमा खस्यो । भर्खरै जन्मेको यस नवजात शिशुको लिङ्ग पहिचान हुन सकेको छैन । पाठो हो कि पाठी हो हाम्रा प्राविधिक मित्र हेरिरहनु भएको छ । पहिचान हुने बित्तिकै हामी यहाँहरूलाई जानकारी दिने नै छौँ ।

समय बदलिँदै गयो । अब एफएम रेडियोको सिजन खुस्क्यो भन्ने बुझेर मितज्यू टेलिभिजनतिर लागेछन् । एक दिन पहाडी भागमा ठुलो पहिरो गयो । ‘तुलीगाँडा टेलिभिजन’ नेपालकै तेज समाचार प्रसारण गर्ने सञ्चार गृहको वरिष्ठ पत्रकार थिए उनै । रिपोर्टिङ गर्न हानिए दूरदराजतिर । पहिरो लडेको एउटा गाउँको कथाव्यथा प्रस्तुत गर्नु थियो । गाउँलेहरू टिभीमा आफ्नो अनुहार आउने आशामा पहिरोको पिर भुल्दै थिए । अगाडि आउन र मुख देखाउन तँछाडमछाड गर्दै थिए । एउटा अलि नेताजस्ता टाइँफाइँ गर्ने मान्छेलाई पत्रकार मितज्यूले प्रश्न र क्यामरा एकैसाथ तेर्‍स्याए – पहिरो कसरी आयो ? एक्कासि आयो ?

त्यो मान्छे झनक्क रिसायो । मनमनै सोच्यो साले । पहिरो कसरी आउँछ यसलाई थाहा हुँदैन । अनि उसले मन्द मुस्कानका साथ बिस्तारै भन्यो – हैन हजुर एक्कासि आएन । पहिला एउटा ढुङ्गो लड्दै आएर हामीलाई भन्यो कि गाउँले हो म पहिरोको दूत हुँ । मेरा साथीहरू माथितिर छन् । तिमीहरूलाई कुनै गाह्रो हुँदैन भने हामी सबै हातेमालो गरेर तलतिर झर्छौं हैन भने माथि नै बस्छौं के छ विचार ? ढुङ्गाको कुरा विश्वास भएन सबैले तलै आइज भने, अनि पहिरो आयो । एक्कासि आएन अनुमति लिएरै आयो । गाउँलेको कुराले मितज्यू जिल खाए ।

रातभन्दा सपना लामो हुने छाँट देखेपछि उनलाई टेलिभिजनमा पनि रहर मर्दै गयो । अचेल सुनेको छु, युट्युबर भका छन् रे । उनको सानैदेखिको सपना थियो ठुलो पत्रकार बन्ने । जसरी जाँडको तलतल माडले मेट्न सक्दैन, नुनको तलतल सुनले मेट्न सक्दैन, मैयाँको तलतल भैयाले मेट्न सक्दैन उसरी नै मेरो मितज्यूको पत्रकार बन्ने तलतल न डाक्टर बन्ने कल्पनाले मेट्यो, न इन्जिनियर बन्ने सपनाले छेक्यो । आखिर बनेरै छाडे राष्ट्रको चौथो अङ्ग ।

अस्तु ।

गिलासवाद’ हास्यङ्ग्य निबन्ध (२०७८)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
चर्पी : आनन्दालय

चर्पी : आनन्दालय

गोविन्द पौडेल
यो अध्यक्षहरूको देश

यो अध्यक्षहरूको देश

गोविन्द पौडेल
सक्कलीदेखि सावधान !

सक्कलीदेखि सावधान !

गोविन्द पौडेल