नरेन्द्रराज पौडेलमलाई प्रजातन्त्र लागेको छ
शहिद हुनेहरू भए हुँदै रहुन् तिनकै सपनाहरूको ओथारो कोरल्दै तिनकै आदर्शहरूको बर्को ओढ्दै यो बहादुर सेनानीलाई बाघ भएर एकपटक आफ्नै डमरुलाई झम्टिने सपना जागेको छ ।

नरेन्द्रराज पौडेल :
सेप्रिएको पेट फुल्दै आएछ
चाउरिएको अनुहारमा आँखाको चहक खुल्दै आएछ
भोज, भत्ता र भ्रमण भन्नु नै प्रजातन्त्र रहेछ
यो ढाडे बिरालोलाई तर मारेर पुग्दैन
तातो चुलोमा ढलीमली गर्दै उग्राउन पनि पाउनुपर्छ ।
कहिलेकाहीँ दाँतहरू चिलाएका हुन्छन्
मुसा छुचुन्द्रा चपाउन पाउनुपर्छ
कहिलेकाहीँ नङ्ग्राहरू सकसकाएका हुन्छन्
अंगेनामाथिका भार र भित्ताहरू कोपर्न पाउनुपर्छ ।
ज्वाइँ भान्जा, साला, भतिजाहरूको जमात रहेछ प्रजातन्त्र
तिनैको भलाइमा दिनरात यो तपस्वी ज्यान हाड घोट्दै छ
यता मानव अधिकारको पनि सवाल छ
त्यसैले बेलाबेला डार्रडुर्र झगडा गर्दै
विपक्षीहरूलाई झम्टिन र चिथोर्न पनि पाउनुपर्छ ।
कहिलेकाहीँ लहड चल्दा तिनै सामन्त संधियारहरूलाई
लाछलुछ र काटकुट पार्न पनि पाउनुपर्छ
शहिद हुनेहरू भए हुँदै रहुन्
तिनकै सपनाहरूको ओथारो कोरल्दै
तिनकै आदर्शहरूको बर्को ओढ्दै
यो बहादुर सेनानीलाई बाघ भएर एकपटक
आफ्नै डमरुलाई झम्टिने सपना जागेको छ ।
डाइने बोक्सी होइन, भूतप्रेत पनि होइन
गाँजा चरेस भनौं, त्यो पनि होइन
सायद मलाई त हिजोआज
प्रजातन्त्र लागेको छ
मलाई प्रजातन्त्र लागेको छ ।
०००
‘हस्ताक्षर’ आँखा स्वयंसेवी प्रकाशन, (२०६०)
‘नेपाली हास्यव्यङ्ग्य कविता’ भैरव पुरस्कार गुठी (२०७५)
Subscribe
Login
0 Comments
Oldest








































