साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाली हास्यव्यङ्ग्य निबन्धको महत्त्व र ऐतिहासिक पृष्ठभूमि- १

मूलतः पाश्चात्य दृष्टिकोणमा हास्य लगायत सम्पूर्ण हास्य व्यङ्ग्य प्रकार हरूलाई एउटै तहमा राखेर विवेचना गरिएकाले तिनीहरूलाई पृथक् र स्वतन्त्र हास्यव्यङ्ग्य प्रकारको रूपमा लिएको स्पष्ट देखिन आउँछ ।

Nepal Telecom ad

ठाकुर शर्मा भण्डारी :

प्रकृतिप्रदत्त स्वभाव हो हाँस्नु, वैज्ञानिक दृष्टिकोणमा पनि हाँस्ने कुरालाई सकारात्मक रूपमा लिने गरिन्छ । मानिसको जीवनमा हाँसोले आयु बढाउने कुरा आयुर्वेद शास्त्रमा गरिएको छ । यसका लागि आजकल त विविध योग गराउने संस्थाहरू वा अन्य क्रियाकलापमा लागेका संस्थाहरूले पनि हाँस्नुपर्छ फाइदा हुन्छ भनेर छुट्टै हाँस्ने कक्षा पनि सञ्चालन गरेको पाइन्छ । सदैव प्रसन्न रहनु जीवनका लागि आयुवर्द्धक एवं लाभप्रद कुरा हो । प्राचीन कालदेखि नै साहित्यको क्षेत्रमा पनि हास्यव्यङ्ग्यको प्रयोग हुँदै आएको छ । साथै साहित्यका नवरसमध्ये हास्यरस पनि एक महत्त्वपूर्ण रसको रूपमा लिइन्छ र यसको प्रयोग पनि कुनै न कुनै रूपमा भई आएको छ । भनिन्छ नि मुस्कानसहितको ठट्यौलो रूपमा गरिएको गालीले पनि मिठासको अनुभूति दिन्छ । त्यसैले यसको मनोवैज्ञानिक महत्ता रहेको छ ।

हास्य र व्यङ्ग्य दुवै संस्कृत तत्सम शब्द हुन् । हस्+य (ण्यत् प्रत्यय) बाट ‘हास्य’ शब्द व्युत्पन्न हुन्छ भने वि+अञ्ज+य ( ण्यत् प्रत्यय) बाट व्यङ्ग्य शब्द निर्माण हुन्छ । यसरी व्युत्पन्न ‘हास्य’ शब्दको व्युत्पत्तिमूलक अर्थ ‘हाँस्न योग्य, हाँसो उठ्तो, हाँस्न लायक, उपहास्य आदि हुन्छ भने व्यङ्ग्यको अर्थ चाहिँ व्यञ्जनधर्मी र शब्द, वाक्य एवं अभिव्यक्तिबाट पद, पदांश र सम्पूणर् लेखनमा रोचक पक्षलाई नवीन, आकर्षक भाव सम्प्रेषण गर्ने अभिव्यञ्जना गरेको हुन्छ। सामान्य प्रचलनमा रहेको अर्थलाई हेर्दा ‘हास्य’ शब्दले व्युत्पत्तिगत अर्थलाई नै बोकेको देखिन्छ भने ‘व्यङ्ग्य’ शब्दको चाहिँ घुमाउरो पाराले छेड हान्न कटाक्ष गर्न योग्य, छेडपेच वा कटाक्षको भाव भन्ने अर्थ लाग्छ ।

मानवजीवनका विविध पक्षमा देखिने गरेका कमजोरीहरू विसङ्गतिका पक्षहरूलाई देखेर व्यङ्ग्य हान्ने वा घोचपेच गर्ने स्वाभाविक गुण हो तर यसलाई अलिकता हाँसो मिसाएर गरिएको व्यङ्ग्यले बुझ्न बुझाउन पनि सहज हुने हुनाले हास्यव्यङ्ग्य साहित्यले समाजमा प्रभाव जमाएको देखिन्छ । यसमा विचार कुरा के हो भने हास्य र व्यङ्ग्यलाई साहित्यमा एक रूपमा हेर्ने गरे तापनि यी अलकअलक कुरा हुन् भन्ने अर्थ पूर्ववर्ती आचार्यहरूले पनि गरेका छन् । हास्यभित्र व्यङ्ग्य र व्यङ्ग्यभित्र हास्य हुनै पर्छ भन्ने अनिवार्य हुँदैन तथापि यी दुवैको सन्तुलित प्रयोगले कथन प्रभावकारी बन्ने कुरामा द्विमत हुन सक्दैन। साहित्यमा व्यङ्ग्ग्र्य मात्र भयो भने रुखो हुन्छ तर त्यहाँ हास्य मिसाइदियो भने त्यो भने विशिष्टता हासिल गर्छ, प्रभावकारी हुन्छ, मनोरञ्जनात्मक हुन्छ ।

संस्कृत साहित्यको क्षेत्रमा हास्यव्यङ्ग्यको विशाल पृष्ठभूमि रहेको छ । प्रथमतः भरतको नाट्यशास्त्रमा काव्यशास्त्रसम्बन्धी सन्दर्भहरू आएका छन् । भनिन्छः काव्येषु नाटकम् रम्यम् तत्रापि च शकुन्तला । संस्कृत नाटकहरूमा एउटा विदुषक पात्र हुन्छ, जसले हास्यव्यङ्ग्यद्वारा नायकलाई रमाइलो बनाउँदै विषयवस्तुलाई प्रभावकारी बनाउँछ ।

संस्कृत काव्यशास्त्रमा हास्यरसको रूपमा प्रयोग भएको छ । व्यङ्ग्यसँग जोड्ने चलन छैन तथापि आचार्य भरतले आफ्नो नाट्यशास्त्रमा मूलतः हास्य, करुण, अद्भुत र भयानक रस उत्पत्ति हुने कुरा बताएका छन् र हास्यरसलाई शृङ्गाररसको अनुकृतिको रूपमा पनि मानिएको छ । परवर्ती आचार्य विश्वनाथको ‘विकृताकारवाग्येषु चेष्टादेः कुहकाद्भवेत् (साहित्यदर्पण) ले पनि यही कुरालाई सङ्केत गरेको पाइन्छ ।

यहाँ हास्यरसको विषयमा भरतको नाट्याशास्त्र अनुसार भनिएको भेटलाई हेर्नु उपयुक्त हुन्छ । तदनुसार हास्यका स्मित, हसित, विहसित, उपहसित, अपहसित र अतिहसित गरी छ भेद बताइएको छ । यस सन्दर्भमा संक्षिप्तमा यी भेदको अर्थ दिनु प्रासङ्गिक हुन्छ :

स्मित- मुसुक्क मुस्काउने केवल दृश्य रूपमा रहनेलाई ‘स्मित’ भनिन्छ ।
हसित- थोरै मात्रामा सुन्न सकिने मन्द मुस्कानलाई ‘हसित’ भनिन्छ ।
विहसित- मध्यम खालको हास्यलाई ‘विहसित’ भनिन्छ ।
उपहसित- विचित्र वेशभूषा, अगसञ्चालन, विधि-व्यवहार वा कुरूपता आदिबाट सृजित हाँसोलाई ‘उपहसित वा अवहसित’ भनिन्छ ।
अपहसित- अशिष्ट प्रकारको हाँसोलाई अपहसित भनिन्छ ।
अतिहासित- कुनै भद्रता, मर्यादा नराखी पेट मिची मिची हाँस्नु र उच्च आवाज निकाली हाँस्नुलाई ‘अतिहसित’ भनिन्छ ।

पाश्चात्य दृष्टिकोणमा पनि हास्य परम्परालाई पुरानो समयदेखि चल्दै आएको हिसाबबाट लिने गरिन्छ । शिष्ट परम्परातर्फ भने यसको सर्वप्राचीन नमूनाका रूपमा आदिकवि होमरको ‘मार्गारितोस’ (अप्राप्त तर अस्तुले आफ्नो काव्यशास्त्रमा उल्लेख गरेको) हास्यव्यङ्ग्यात्मक प्रहसनात्मक (सुखान्त) महाकाव्यलाई (त्रिपाठी, २०५१ः१२१) मानिन्छ । ग्रीक उच्चारणमा ‘कोमोइदिआ’ भनिने सुखान्त र प्रहसनधर्मी हास्यव्यङ्ग्यधर्मी नाटकको स्रोत पनि होमरको उक्त रचना नै भएको ‘काव्यशास्त्रमा उल्लेख छ (त्रिपाठी, २०५१ ः १२१) । प्राचीन ग्रीसका नगरराज्यका सीमावर्ती ‘कोमोई’ ग्रामवासी दोरिआई र मेगरी जातिको मनोविनोदात्मक एवम् व्यस्य विद्रोहात्मक नाच-गान (कोमोसहरूको+ ओइदे (गीत)) नै हास्यव्यङ्ग्यात्मक सुखान्त नाटकलाई बुझाउने ग्रीक शब्द ‘कोमोइदिआ’ अग्रेजी ‘कमेडी’को स्रोत रहेको हुन सक्ने सम्भावना पनि रहेको छ (त्रिपाठी, २०५१ ः १२१) ।

आधुनिक अङ्ग्रेजी शब्दावलीमा ‘स्युमर’, ‘सटायर’, ‘वीट’, ‘आइरोनी’ आदि भनिने हास्य व्यङ्ग्यका यी विविध जाति-प्रजातिहरूको मुख्य स्रोत पनि कोमोइदिआ नै रहेको छ । नाट्यसृजनातर्फ ग्रीक सुखान्त नाटककार अरिस्टोफेनसलाई हास्यव्यङ्ग्य सञ्चेतनाका सफल सशक्त र सर्वोत्कृष्ट प्रयोक्ताको श्रेय प्राप्त छ । साहित्यका साथसाथै ग्रीसेली चित्रकलाले पनि उस बेला उत्कृष्टता प्राप्त गरेको साक्ष्य अरस्तुको काव्यशास्त्र नै छ । यिनै प्राचीन ग्रीक साहित्यका महान विधा र कलाका अन्य फाँटहरूबाट समेत ऊर्जा प्राप्त गर्दै साहित्यका अन्यान्य विधामा समेत हास्य-व्यङ्ग्य व्यापक बन्दै गई आधुनिक युगसम्म यसले विविध स्वरूप र वैशिष्ट्य प्राप्त गरेको स्थिति पनि पश्चिमी साहित्यमा रहेको पाइन्छ ।

ग्रीसेली मेनिप्पोसदेखि नै प्रारम्भ भएको हास्य व्यङ्ग्यको यो प्रवृत्ति ल्याटिन परम्पराका भ्यारो, होरेस आदि हुँदै सेक्सपियर, वेन जोन्सन र मोलायरका सुखान्त नाटक; ड्राइडेन र अलेक्जान्डर पोपका कविता; जोनाथन स्विफ्ट, व्वाइल्यू र भोल्टायरका निबन्ध आदि विश्वप्रसिद्ध व्यङ्ग्यप्रधान रचनाहरूको माध्यमबाटै प्रभाव र प्रेरणा बाँकी विश्वलाई प्राप्त भएको (त्रिपाठी, २०५१ः १२५) पाइन्छ ।

यसरी पूर्व र पश्चिमका हास्य-व्यङ्ग्यसम्बन्धी सम्पूर्ण चिन्तनपद्धतिलाई हेर्दा पूर्वीय विद्वान्हरूले ‘हास्य’लाई मात्र केन्द्र मानेर आफ्ना दृष्टिकोण प्रस्तुत गरेका छन्, यसर्थ उनीहरूको दृष्टिमा व्यङ्ग्य आदि अन्य तत्त्वहरू हास्य सृजना गर्ने कारकतत्त्वका रूपमा हास्यकै सहयोगी सामग्री रहने मात्र हो कि झैँ अनुभूत हुन्छ । मूलतः पाश्चात्य दृष्टिकोणमा हास्य लगायत सम्पूणर् हास्य व्यङ्ग्य प्रकार हरूलाई एउटै तहमा राखेर विवेचना गरिएकाले तिनीहरूलाई पृथक् र स्वतन्त्र हास्यव्यङ्ग्य प्रकारको रूपमा लिएको स्पष्ट देखिन आउँछ ।

संस्कृत साहित्यका आचार्यहरूले समय समयमा ध्वनि, रस, अलङ्कार, गुण, रीतिको विषयमा गरिएका सैद्धान्तिक धारणा अनुसार नवरसमध्ये हास्यरस पनि एक हो भनेका छन् ।

युगौंदेखि साहित्यमा हास्यरसले उचित स्थान हासिल गरेको छ । हास्यका साथ व्यङ्ग्यको पनि आवश्यकता स्वतः छ भन्ने कुराको पुष्टि उपर्युक्त कुराले पारेको छ ।

क्रमशः

०००
०८० जेठ १५ गते लोकार्पित ‘हास्यव्यङ्ग्य महारथी भैरव अर्याल’ कृतिबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आमा-बाबा

आमा-बाबा

ठाकुर शर्मा भण्डारी
कहाँ पाऊँ म मानिस

कहाँ पाऊँ म मानिस

ठाकुर शर्मा भण्डारी
भानुभक्तप्रति

भानुभक्तप्रति

ठाकुर शर्मा भण्डारी
0
Would love your thoughts, please comment.x
()
x