ठाकुर शर्मा भण्डारीनेपाली हास्यव्यङ्ग्य निबन्धको महत्त्व र ऐतिहासिक पृष्ठभूमि (२)
हास्यव्यङ्ग्यको क्षेत्र त्यसपछि अझ फराकिलो हुँदै गएको छ । यसमा कलम चलाउने अनेक स्रष्टाहरू देखिन्छन् तर भैरव अर्यालको त्यो स्थानलाई उछिन्न नसककेको कुरालाई अवश्य पनि नकार्न सकिन्न, किनकि पछि लेखिएका रचनामा हास्यलाई व्यङ्ग्यले थिचेको अनुभूति पाठकलाई हुन्छ ।

ठाकुर शर्मा भण्डारी :
नेपाली साहित्यमा हास्य व्यङ्ग्यको परम्परा लोकसाहित्यको परम्परा र सांस्कृतिक परम्परामा चलेर आएको देखिन्छ तापनि नेपाली साहित्यमा हास्यरसप्रधान पहिलो सृजना शक्तिवल्लभ अज्र्यालको ‘हास्य कदम्ब’ (१८५५) साँढ्याको कवित्तलाई मानिएको छ । त्यसपछि गुमानी पन्त वा अन्य साहित्यकारहरूले सामान्य प्रयोगद्वारा केवल बिँडो मात्र थामे । भानुभक्त मूलतः भक्तिभावका कविमा युग, समाज र परिस्थितिप्रतिको चेतनाले उत्प्रेरित गरेर केही फुटकर कविताहरू आए । भानुभक्तको यो कवितांशलाई उदाहरणका रूपमा हेरौं-
रोज् रोज् दर्शन पाउँछू चरणको ताप छैन मन्मा कछु
रात् भर् नाच् पनि हेर्छु खर्च नगरी ठूला चयनमा म छु
लाम्खुट्टे उपियाँ उडुस् यी सँगी छन् यिन्कै लहड्मा बसी
लाम्खुट्टेहरू गाउँछन् यी उपियाँ नाच्छन् म हेर्छु बसी । (भानुभक्त)
यसमा व्यङ्ग्यको प्राचुर्य छ भने हास्यव्यङ्ग्यको रूपमा आदिकवि भानुभक्त आचार्यद्वारा नै लेखिएको कवितालाई पनि लिन सकिन्छ । जस्तै-
गजाधर सोतीकी घरबूढी अलच्छिनकी रहिछन् ।
नरक् जानालाई सबसित बिदावारी भइछन् ।
पुग्यौं साँझमा तिन्का घरपिंडिमहाँ बास गरियो ।
निकालिन् साँझमा अलि पर गुज्रान गरियो ।
समय सापेक्षताको आधारमा प्रयोग भएका यी कवितालाई प्रारम्भिक स्वरूपको दृष्टिकोणबाट हेर्नुपर्ने हुन्छ । सन्त परम्पराका कवि ज्ञानदिल दासको कवितामा पनि हास्यव्यङ्ग्यको प्रयोग तीक्ष्ण छ-
“ब्राह्मण हुँ भन्यौ ब्रह्म नचिन्न्याँ,
बैली बाख्री कता छन् भनी खोजी हिंडन्या ।”
माध्यमिक कालमा मोतीराम भट्ट, लक्ष्मीदत्त पन्त, राजीवलोचन जोशी, शिखरनाथ सुवेदी लगायतले हास्यव्यङ्ग्यको सामान्य प्रयोग गरेको देखिन्छ, र यो चाहिँ परम्परा धान्ने मात्र कुरा भयो ।
जीवन जगत्का विविध विसङ्गति वा कमी-कमजोरीलाई हाँसोमा उडाउँदै त्यसप्रति रोष, घृणा, विरोध आदि जगाउनुका साथै त्यस्ता कमी कमजोरीको परिहासको समेत अपेक्षा गरिएकामा रचनालाई विनोदपूणर् रचनाका रूपमा यी र चनाहरूलाई लिन सकिन्छ । हिन्दीमा लेखिएको श्रीलाल शुक्लाको ‘राग दरवारी’ यस्तै प्रकारको रचना हो र नेपाली साहित्यको क्षेत्रमा पनि प्राथमिक कालदेखि नै विनोदी हास्यव्यङ्ग्य रचना हुँदै आएको उल्लिखित कविताले पुष्टि गर्दछन् ।
नेपाली साहित्यमा भानुभक्त कालभन्दा पूर्व नेपाली काव्यपरम्परामा सरसता प्रदान गर्न प्रारम्भ गरे पनि हास्यव्यङ्ग्यमा प्राथमिक कालका आदिकवि भानुभक्त आचार्य, माध्यमिक कालका आशुकवि शम्भुप्रसाद ढुङ्गेल, लक्ष्मीदत्त पन्त, मोतीराम भट्ट, आधुनिक कालका आदर्शोन्मुख, परिष्कारवादी लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, कुलमणि देवकोटा, भूपी शेरचन, चोलेश्वर शर्मा आदि केहीले सामान्य प्रयोग गरे पनि भीमनिधि तिवारीले कवितामा हास्यव्यङ्ग्यमा बढी योगदान दिएको अनुभूत गर्न सकिन्छ । व्यङ्ग्यको प्राचुर्य भएका उदाहरण अनेक छन् तथापि यस सन्दर्भमा लक्ष्मीप्रसाद देवकोटाको हास्यव्यङ्ग्य कृति ‘मनोरञ्जन’ कवितासङ्ग्रह निबन्ध ‘हाई हाई अंग्रेजी !’ जस्ता निबन्धहरू र ‘नयाँ जमाना’ जस्ता अनेक कवितामा देखिएको छ । यो कवितांशलाई यसको सटीक उदाहरणका रूपमा हेर्न सकिन्छ-
नवाफी रवाफी कवाफी छ नेता
विलासी गिलासी सुवासी विजेता
प्रजातन्त्रको ढ्वाँग रित्तो करायो
जवाना अनौठो नयाँ आज आयो ।
आधुनिक कालमा आइपुग्दा महाकवि देवकोटा कविता र निबन्ध फाँटमा हास्य-व्यङ्ग्यका सशक्त प्रयोक्ताका रूपमा देखापर्छन् । उनले साँढे, प्रभुजी भेडो बनाऊ, भाँचूँ कि मेरो कलम लगायतका फुटकर कविताका साथै मनोरञ्जन कवितासङ्ग्रह र हाई हाई अंग्रेजी, गधा बुद्धिमान् कि गुरु ?, कविराजको च्याने खच्चरजस्ता निबन्धमा हास्यव्यङ्ग्यलाई जीवन्तता दिए । देवकोटापछि भीमनिधि तिवारी, भूपी शेरचन आदिले पनि यस फाँटमा आफ्नो राम्रै स्थान बनाए ।
कविताले हास्यव्यङ्ग्यको चुरो समात्न नसकेको सन्दर्भमा गद्यलेखनमा केशवराज पिँडाली, वासुदेव लुइँटेल, भैरव अर्याल, श्रीधर खनाल, श्याम गोतामे, रामकुमार पाँडे, घटोत्कच शर्मा, विष्णु नवीन आदि केही हास्यव्यङ्ग्यको क्षेत्रमा दरिन आएका छन् ।
तीमध्ये पनि केशवराज पिँडालीको स-साना कुरालाई समेट्ने सूक्ष्मता र भैरव अर्यालको सरलताका साथै सरसता हास्यव्यङ्ग्यको गाम्भीर्यले अझ उच्च स्थान लिएको अनुभूति गर्न सकिन्छ । नयाँ पुस्ताका उल्लिखित हास्यव्यङ्ग्यकारमा भैरव अर्यालको सङ्ख्यात्मक र गुणात्मक स्वरूप अझ सशक्त भएर आएको देखिन्छ । आजसम्म पनि प्राप्त उनका हास्यव्यङ्ग्य निबन्धमा खोट लगाउनुपर्ने ठाउँ भेटिँदैन भन्नुभन्दा पनि स्तरीयताको तराजुमा राख्दा अग्रता अवश्य लिएको देखिन आउँछ । हास्यव्यङ्ग्यको क्षेत्र त्यसपछि अझ फराकिलो हुँदै गएको छ । यसमा कलम चलाउने अनेक स्रष्टाहरू देखिन्छन् तर भैरव अर्यालको त्यो स्थानलाई उछिन्न नसककेको कुरालाई अवश्य पनि नकार्न सकिन्न, किनकि पछि लेखिएका रचनामा हास्यलाई व्यङ्ग्यले थिचेको अनुभूति पाठकलाई हुन्छ ।
हास्यव्यङ्ग्य साहित्यको विकास र विस्तारमा कौवा प्रकाशनको योगदान महत्त्वपूणर् रहेको छ । यसले ‘भालु पुराण’, ‘छ्याकन’जस्ता पुस्तकहरू प्रकाशन गर्नुका साथै भैरव अर्यालका केही पुस्तकहरू प्रकाशनसमेत गरेको छ । पछि भैरव पुरस्कार गुठीका साथै विभिन्न सङ्घ/संस्थाहरूले हास्यव्यङ्ग्यको क्षेत्रमा योगदान गरेका छन् । केही हास्यव्यङ्ग्य निबन्धको क्षेत्रमा लेखिएका पुस्तकहरूसम्बन्धी उदाहरणमा-
वासुदेव लुइँटेलका ‘भूत छैन’ (२००६) र ‘भीमसेनको पाती’ (२०२४), केशवराज पिँडालीको ‘खै खै’ (२०१७) र फेरि उल्टै मिल्यो (२०३९), भैरव अर्यालको काउकुती (२०१९), श्रीधर खनालको नमरी स्वर्ग देखिन्न (२०२०), रामकुमार पाँडेको ‘ख्याल ख्याल’ (२०२३) र ‘बाबुको बिहे’ (२०३३) घटोत्कच शर्माको ‘दमाहा’ (२०२४), भीमप्रसाद लामिछानेको ‘घुएँत्रो’ (२०२४), होम सुवेदीको ‘कालीपोके’ (२०२५), श्याम गोतामेको ‘बुख्याँचा’ (२०२७), विपिनदेव ढुङ्गेलको भीरको चिन्डो (२०३९), आदि तत्कालीन हास्यव्यङ्ग्यका केही किताब हुन् भने पछि गएर नरेन्द्रराज पौडेल ‘घरभित्रको गाईजात्रा’ (२०४१) र ‘विमोचनको विगविगी’ (२०७३), युवराज मैनालीको ‘भ्रष्टाचारको भाङ’ (२०६५) जस्ता अनेक व्यक्तित्वहरूले महत्त्वपूर्ण पुस्तक प्रकाशन गरेका छन् ।
हास्य-व्यङ्ग्यमा समर्पित भएर देखिएका स्रष्टाहरूमा केशवराज पिँडाली, वासुदेव शर्मा लुइँटेल (भूतको भिनाजु), भैरव अर्याल, कृष्णप्रसाद चापागाइँ, श्याम गोतामे, रामकुमार पाँडे, घटोत्कच शर्मा आदि हुन् भने पिँडाली र भैरव अर्याल उपल्लो दर्जाका हास्य व्यङ्ग्यकार मानिन्छन् । त्यसपछि हृदयचन्द्रसिंह प्रधान, अच्छा राई रसिक, कृष्णचन्द्रसिंह प्रधान, श्रीधर खनाल आदिका साथै कुलमणि देवकोटा, दाताराम शर्मा, प्रेमराज शर्मा, विष्णु नवीन, चूडामणि रेग्मी, नरेन्द्रराज पौडेल, लीलाध्वज थापा, युवराज मैनाली, चोलेश्वर शर्मा, राजेन्द्र सुवेदी, रुद्र खरेल, बालमुकुन्ददेव पाण्डे, आर.सी. रिजाल, माधवप्रसाद पोखरेल, भीमप्रसाद लामिछाने, वेदनिधि शर्मा, विश्व शाक्य, वल्लभमणि दाहाल, विजय चालिसे, वासुदेव गुरागाईं (पिँडालु पण्डित), उत्तमकृष्ण मजगैयाँ, ऋषि एम. सुब्बा, नरनाथ लुइँटेल, नकुल काजी, खगेन्द्र सङ्गौला, चट्याङ मास्टर, खगेन्द्र लुइँटेल, श्याम लामा, नरमेन्द्र लामा, लक्ष्मण गाम्नाङे, माणिकरत्न शाक्य, मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) जस्ता अनेकौँ व्यक्तित्वहरूले यस क्षेत्रमा कलम चलाएका छन् । नरनाथ लुइँटेल, चट्याङ मास्टर, लक्ष्मण गाम्नागे, धीरेन्द्र प्रेमर्षि, थरेन्द्र बराल, अर्जुन पराजुली, माणिकरत्न शाक्य, देवी घिमेरे, टङ्क आचार्यहरूद्वारा प्रारम्भ गरिएको सिस्नुपानी नेपालको वार्षिक कार्यक्रम सिस्नुपानी द्यौसी लगायतका हास्यव्यङ्ग्य कार्यक्रमहरूले सबैको मन हरेको देखिन्छ । यसमा पनि अरु अनेक साथीहरूको योगदान रहेको छ ।
मोहनराज शर्माले निबन्धविधा र नाट्यविधामा हास्यव्यङ्ग्यको नवीन प्रयोग गरेका छन् । त्यस्तै प्रेमराज शर्माको ‘ससुराली’, मित्रदेव ढुङ्गेलको ‘रक्सी’, गोपालराज पन्तको ‘सेतो शालिग्राम’ आदि हुन् । कथातर्फ केशवराज पिंडालीको ‘सङ्गीतको कपालक्रिया’ लाई पहिलो प्रयोग (प्रधान, २०५४ : ८) मानिएको छ भने कृष्णप्रसाद चापागाईंको ‘रसभरी चमचम’ कथासङ्ग्रह हो । अन्य हास्यव्यङ्ग्ग्य स्रष्टाहरूमा हृदयचन्द्रसिंह प्रधान, रुद्रराज पाण्डे, लीलाध्वज थापा, मुरलीधर, केशवलाल कर्माचार्य आदि छन् भने मोहनराज शर्माका कथाहरू हास्य कम तर धारिलो व्यङ्ग्य प्रयोग भएका चोटिला छन् । उपन्यास विधामा भोगेन्द्र बस्नेतको ‘मूर्ख जासूस’ लाई पहिलो प्रयोग मान्न सकिन्छ भने शङ्कर कोइरालाको ‘श्रीमती हिरोइन’ लाई लिन सकिन्छ ।
आधुनिक नेपाली साहित्यको हास्यव्यङ्ग्य निबन्ध विधाको क्षेत्रमा प्रसिद्धि कमाएका व्यक्तित्वहरूमा केशवराज पिँडाली, वासुदेव लुइँटेल, भैरव अर्याल, श्रीधर खनाल, श्याम गोतामे, रामकुमार पाँडेजस्ता व्यक्तित्वको नाम लिन सकिन्छ । यिनीहरूको माझमा भैरव अर्याल सँगसँगै हास्यव्यङ्ग्यमा हिँडेका हुन् र उनको अग्रगामी कदम रहेको अनुभूति गर्न पनि सकिन्छ- उनका कृतिहरूको अवलोकन गर्दा । अहिले यस क्षेत्रमा धेरैले हात चलाएका छन् यसमा अनेकौँ व्यक्तित्वको नाम लिन सकिन्छ । समकालीन व्यक्तित्वहरूले पनि कतिपय कुरामा भैरव अर्यालसँग सँगै हिँड्न गाहारो परेको आभास हुन्छ । कारण के हो भने नेपाली हास्यव्यङ्ग्य निबन्ध परम्परामा उच्चता हासिल गरेका व्यक्तित्व हुन्- भैरव अर्याल ।
भैरव अर्यालका निबन्धमा शब्दचयन, भावगत दृष्टिकोणबाट हँसाउनुका साथै व्यङ्ग्यदृष्टि प्रबल रहेको पाइन्छ । हास्यरसद्वारा गहन विचारहरूलाई पनि सामान्यीकरण गरेर परिष्कृत भाषा-शैलीमा सहज तरिकासँग पाठकलाई सम्प्रेषण गर्ने क्षमता रहेको छ । निबन्धकारले आफ्नै कथा लेखेजस्तो गरी आफ्नै अनुभव बताउनु र गहन कुरालाई पनि सरलतापूर्वक हृदयमा बस्ने गरी पुर्याउन सक्नुपर्दछ । सरल शब्दबाट आफ्नो कुरा भन्दै गएर महत्त्वपूर्ण कुराहरू बीचबीचमा राख्दै केही कुरा उसले पनि अनुभव गरेजस्तै आत्मसात गर्न सक्ने तुल्याउनु निबन्धगत विशेषता हुन जान्छ । यसले पाठकलाई पढ्न, बुझ्न कठिनाइ हुँदैन । अझ पठनतिरको आकर्षण पनि बढाउँछ । भैरव अर्यालका हरेक निबन्धहरूले उनीभित्रको दृष्टिकोणलाई राम्रोसँग पाठक समक्ष पुर्याएको अनुभव गर्न सकिन्छ ।
यसरी हास्यव्यङ्ग्यको लेखन अहिले आएर घरै फराकिलो भएको छ । गद्य रचना होस् या पद्यरचना अथवा अन्य लोकछन्दमा यसले प्राथमिक कालदेखि नै प्रारम्भ भएर पहिले त्यसको गति सुस्त भए पनि आधुनिक कालमा आइसकेपछि हास्यव्यङ्ग्यलेखनमा सबैको ध्यान आकृष्ट भएको छ । यसको प्रहसनको क्षेत्रमा पर्वपर्वलाई दृष्टिगत गरी हाम्रा संस्कार र परम्परा अनुसारका गतिविधिमा र सिर्जनामा समेत हास्य नभई नहुने भएकोले क्रमिक रूपमा लेखनको दायरा बढेको स्पष्ट हुन आउँछ ।
हास्यव्यङ्ग्य निबन्धको विशेषता भनेको नै पाठकसँग आत्मीयता स्थापित गर्नु हो । यो कुरामा भैरव अर्यालले विचार पुर्याएका छन् । समाजका हरवस्तुलाई आफैले भोगे झैं गरी प्रस्तुत हुनुले निबन्ध पढ्दा कतै पनि दिक्क लाग्दैन । उनको जुनसुकै निबन्ध पढ्न थालेपछि नटुङ्ग्याई छाड्न सकिँदैन, त्यहाँ शब्दले, भावले तानिरहेको हुन्छ । समाजमा नपच्ने शब्दले पनि भिन्नै अर्थ सम्प्रेषण गर्न समर्थ रहेको अनुभूति हुन्छ । यसको सन्दर्भमा निबन्धकार भैरव अर्यालको ठूलो विशेषता मान्न सकिन्छ ।
०००
‘हास्यव्यङ्ग्यका महारथी भैरव अर्याल’ (२०८०)
Subscribe
Login
0 Comments
Oldest









































