साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हास्यव्यङ्ग्य निबन्धहरूको सँगालो ‘खाइराइड’भित्र पाइएको विषयगत अवधारणा

खाइराइड’भित्रका निबन्धहरूले पाठकलाई प्रशस्त खुराक अवश्य दिएका छन् । राजेन्द्रको लेखनीले निरन्तरता अवश्य पाउनुपर्छ । नेपाली हास्यव्यङ्ग्य निबन्धको क्षेत्रमा हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेलजस्ता स्वयं हास्यव्यङ्ग्यमा निरन्तर लागेका व्यक्तित्वको फित्कौलीले प्रकाशनमा ल्याएको ‘खाइराइड’ आफैमा परिष्कारतर्फ उन्मुख भएर आएको छ ।

Nepal Telecom ad

ठाकुर शर्मा भण्डारी :

१. विषयप्रवेश
नेपाली साहित्यमा हास्य-व्यङ्ग्यको परम्परा, लोकसाहित्यको परम्परा र सांस्कृतिक परम्परामा चलेर आएको देखिन्छ तापनि नेपाली साहित्यमा हास्यरसप्रधान पहिलो सृजना शक्तिवल्लभ अर्ज्यालको ‘हास्य कदम्ब’ (१८५५) मानिएको छ । त्यसपछि गुमानी पन्तहरूले सामान्य प्रयोगद्वारा केवल पिँडो मात्र थामे । भानुभक्त मूलतः भक्तिभावका कविमा युग, समाज र परिस्थितिप्रतिको चेतनाले उत्प्रेरित गरेर केही फुटकर कविताहरू आए । माध्यमिक कालमा मोतीराम भट्ट, शम्भुप्रसाद ढुङ्गेल, लक्ष्मीदत्त पन्त, राजीवलोचन जोशी, शिखरनाथ सुवेदी लगायतले सामान्य प्रयोग गरेको देखिन्छ, जो परम्परा धान्ने मात्र कुरा भयो । आधुनिक कालका आदर्शोन्मुख, परिष्कारवादी लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, कुलमणि देवकोटा, भूपी शेरचन, चोलेश्वर शर्मा आदि केहीले सामान्य प्रयोग गरे पनि भीमनिधि तिवारीले हास्यव्यङ्ग्य कवितामा बढी योगदान दिएको अनुभूत गर्न सकिन्छ । व्यङ्ग्यको प्राचुर्य भएका उदाहरण अनेक छन् तथापि यस सन्दर्भमा लक्ष्मीप्रसाद देवकोटाको निबन्ध ‘हाई हाई अंग्रेजी !’ जस्ता निबन्धहरू र ‘नयाँ जमाना’जस्ता अनेक कवितामा देखिएको छ ।

जीवन जगत्का विविध विसङ्गति वा कमी-कमजोरीलाई हाँसोमा उडाउँदै त्यसप्रति रोष, घृणा, विरोध आदि जगाउनुका साथै त्यस्ता कमी-कमजोरीको परिहासको समेत अपेक्षा गरिएको विनोदपूर्ण रचनाको रूपमा लिन सकिन्छ । कविताले हास्यव्यङ्ग्यको चुरो समात्न नसकेको सन्दर्भमा गद्यलेखनमा केशवराज पिँडाली, वासुदेव लुइँटेल, भैरव अर्याल, श्रीधर खनाल, श्याम गोतामे, रामकुमार पाँडे, घटोत्कच, विपिनदेव ढुङ्गेल आदि केही हास्यव्यङ्ग्यको क्षेत्रमा दरिन आएका छन् । हास्यव्यङ्ग्य साहित्यको विकास र विस्तारमा कौवा प्रकाशनको योगदान महत्त्वपूर्ण रहेको छ । यसले भालु पुराण, छ्याकनजस्ता पुस्तकहरू प्रकाशन गर्नुका साथै भैरव अर्यालका केही पुस्तकहरू प्रकाशनसमेत गरेको छ । पछि भैरव गुठीका साथै विभिन्न सङ्घ/संस्था र पत्र-पत्रिकाहरूले हास्यव्यङ्ग्यको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका छन् । हास्य-व्यङ्ग्यमा समर्पित भएर देखिएका अन्य स्रष्टाहरूमा- हृदयचन्द्रसिंह प्रधान, अच्छा राई रसिक, कृष्णचन्द्रसिंह प्रधान, कुलमणि देवकोटा, दाताराम शर्मा, प्रेमराज शर्मा, भीमप्रसाद लामिछाने, विष्णु नवीन, चूडामणि रेग्मी, नरेन्द्रराज पौडेल, युवराज मैनाली, कृष्णप्रसाद चापागाइँ, चोलेश्वर शर्मा, राजेन्द्र सुवेदी, रुद्र खरेल, बालमुकुन्ददेव पाण्डे, आर.सी. रिजाल, माधवप्रसाद पोखरेल, वेदनिधि शर्मा, होम सुवेदी, ऋषि एम सुब्बा, नरनाथ लुइँटेल, नकुल काजी, खगेन्द्र सङ्ग्रौला, चट्याङ् मास्टर, लक्ष्मण गाम्नागे, माणिकरत्न शाक्य, मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) आदि अनेकौँ व्यक्तित्वहरूले यस क्षेत्रमा कलम चलाएका छन् । नरनाथ लुइँटेलद्वारा प्रकाशन आरम्भ गरिएको फित्काैली मासिक (हाल हास्यव्यङ्ग्यकाे अनलाइन पत्रिका फित्काैली डटकम),  वार्षिक रूपमा चल्ने सिस्नुपानीकाे हास्यव्यङ्ग्य देउसीले सबैको मन हरेको देखिन्छ । यसमा पनि अनेकौं लेखक साथीहरूको योगदान रहेको छ । यसैको पछिल्लो क्रममा फित्कौली अनलाइन मार्फत राजेन्द्र कार्की ‘खाइराइड’जस्तो महत्त्वपूर्ण हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह (२०८०) लिएर जोडिन आएका छन् ।

२. स्रष्टापरिचय
पिता कर्णराज कार्की एवं माता डम्बरकुमारी कार्कीका सुपुत्र राजेन्द्र कार्कीको जन्म २०२३ साल असार महिनामा भोजपुरमा भएको हो ।  एमबिए, एमफिलसम्मको अध्ययन गरेका कार्की साहित्यिक क्षेत्रमा (प्रकाशनको हिसाबबाट) प्रथम पटक पाइला चालेक भए पनि नेपाली साहित्यको क्षेत्रमा एक सशक्त हास्यव्यङ्ग्यकार व्यक्तित्वका रूपमा लिन सकिन्छ – ‘खाइराइड’को माध्यमबाट । नेपाल राष्ट्र बैंकजस्ता विभिन्न संस्थाहरूमा रहेर केही समय देशको सेवा गरेका कार्की हाल क्यानाडामा बसोवास गर्दछन् । फित्कौलीका सम्पादक, प्रकाशक श्री नरनाथ लुइटेलजस्ता प्रतिभाशाली व्यक्तिको सम्पर्कमा आएर हास्यव्यङ्ग्यको क्षेत्रमा आफूलाई उभ्याउन सफल भएका छन् । उनी अहिले विदेशको धरातलमा भए पनि जीवनशैली नेपालको वस्तुस्थितिसँग निकट रहन चाहने र नेपाली भाषालाई विदेशमा पनि उन्नत गराउन चाहने व्यक्ति भएको हुनाले पनि नेपाली साहित्यको हास्यव्यङ्ग्य लेखनतर्फ उन्मुख भएको देखिन आएको छ । कुनै पनि व्यक्तिले लेख्न चाहनु एउटा कुरा हो, पढ्न चाहनु अर्को कुरा हो तर स्रष्टा राजेन्द्रले पढाइ र लेखाइको माध्यमबाट आफ्नाे लेखनलाई उत्कृष्ट बनाएर लगेको प्रथम प्रकाशनबाट नै देखिन आएको छ, यो महत्त्वपूर्ण कुरा हो ।

३. ‘खाइराइड’ हास्यव्यङ्ग्य निबन्धहरूको सन्दर्भमा द्रष्टा-दृष्टिकोण
(क) हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेलद्वारा प्रकाशशक्याैली क्रममा लेखिएको ‘लुतो होइन, खाइराइड सल्किएपछि’ शीर्षकको लेखमा भनिएको छ : लुताेभन्दा कडा थाइराइड, त्योभन्दा माप्पाको खाइराइड । शरीरविज्ञानमा थाइराइडले दिने पीडाभन्दा समाजविज्ञानमा ‘खाइराइड’ले कडा पीडा दिइरहेको र यसको उपचार हुनुपर्छ भन्ने बोध गर्दै राजेन्द्र कार्की नेपाली हास्यव्यङ्ग्यको अभियानमा प्रवेश गर्नु भएको छ । उहाँको यो अर्थपूर्ण आगमनमा यसरी स्वागत गर्न पाउँदा फित्कौली खित्खिताउनु स्वाभाविक हो । (अग्रपृष्ठ- ख)

(ख) सिस्नुपानी नेपालका अध्यक्ष एवं चर्चित हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेद्वारा भूमिकाको रूपमा लेखिएको ‘खाइराइडको लेफ्टराइट’ शीर्षकमा भनिएको छ : वर्तमान नेपाली हास्यव्यङ्ग्य रचनाहरूबाट हास्य गायव भएर व्यङ्ग्य, त्यो पनि कतिपय त गालीको तहसम्म झरिरहेको बेला खाइराइडमा ठाउँठाउँमा हाँसोका खित्का छुटाउने प्रसङ्गहरू पनि आउँछन् । व्यङ्ग्य साहित्यमा प्रचलित एउटा विशिष्ट कला प्रयोग गरिन्छ, आफैलाई पात्र बनाएर तीर हान्ने तर चोट अन्तै पुर्‍याउने । त्यो शैली पनि कतिपय निबन्धमा प्रयोग भएको छ । (अग्रपृष्ठ- च)

(ग) “रुवाउन सजिलो छ, हँसाउन सजिलो छैन । हास्यव्यङ्ग्य लेखेर हँसाउन झनै सजिलो छैन । प्रहसन र श्रव्यदृश्यको जमानाले हास्यव्यङ्ग्यलेखन र पठनलाई छायाँमा पारेको सत्य-तथ्य स्वीकार्न हिच्किचाउनुहुँदैन  भन्ने सर्जकको दृष्टिकोणबाट अभिप्रेरित ‘खाइराइड’ निबन्धसङ्ग्रहका स्रष्टा राजेन्द्र कार्कीको दृष्टिकोण रहेकाे छ । उपर्युक्त द्रष्टा-स्रष्टा श्री लक्ष्मण गाम्नागे र नरनाथ लुइँटेलको दृष्टिकोणले हास्यव्यङ्ग्यमा प्रथम पटक पाइला टेकेर प्रकाशनमा आएको कृति कनिष्ठ भए पनि हास्यव्यङ्ग्यको फाँटमा एउटा नयाँ आयाम अवश्य थपेको छ भन्नु अत्युक्ति हुने छैन किनकि निबन्धकारको लेखनशैली परिमार्जित र बोधगम्य रहेको छ । वक्रतामा र सूक्तिमयतामा केही कमी भए पनि सौन्दर्यपक्षको प्रबलता रहेको छ ।

४. ‘खाइराइड’ हास्यव्यङ्ग्य निबन्धहरूको विषयगत सन्दर्भ
राजेन्द्र कार्कीद्वारा सृजित ‘खाइराइड’ हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहमा एकतिसवटा विविध शीर्षकका व्यङ्ग्य-निबन्धहरू रहेका छन् । यो कृति २०८० भाद्रमा ‘फित्कौली अनलाइन मिडिया कलङ्की, काठमाडौँ’बाट प्रकाशित भएको हो । निबन्धसङ्ग्रह – बा-आमा र मेरी सन्तानकी आमाप्रति समर्पण गरिएको छ । यस कृतिको सम्बन्धमा केही चर्चा गर्ने प्रयास लेखनको समुद्देश्य हो । यस सङ्ग्रहभित्रका निबन्धको विषयवस्तु यही समाजको अन्याय, अत्याचार, मानवीय सङ्गति-विसङ्गतिको व्यङ्ग्य-विष्फोटन हो । नेपालमा पनि अनेक किसिमका परिवर्तन भए, तिनले मानिसको मानसिक क्षमता बढाउनुको सट्टा विकृतिको अवस्थालाई बढाएकोले पनि अझ विकराल बन्दै गएको स्थितिलाई उजागर गरेको छ कृतिमा ।

वस्तुतः अहिले नेपालमा मात्र होइन संसार अशान्त छ, जीवन त्रसित छ, आक्रान्त छ, मनस्थिति दयनीय, संवेदना हराएको छ । यस अवस्थामा नेपाल पनि त्यसबाट अछुतो कसरी रहन सक्छ र ! यहाँको राजनीतिक अक्षमताले युवाहरू बाहिरिएका छन्, गाउँघर खाली भएका छन्, युवाहरू अरूको दासत्व स्वीकार्न बाध्य छन् । त्यतातिर कसैले ध्यान नदिँदा देशको अवस्था खस्कँदो छ भन्ने धारणा प्रत्येक सर्जकको हो र यसभित्रका निबन्धहरूमा ती विषयलाई उठाएर व्यङ्ग्य गरिएको छ । यस सङ्ग्रहभित्रका हरेक निबन्धमा व्यङ्ग्यको प्रचुरता छ, हास्यरसको पूर्णताभन्दा पनि व्यङ्ग्यको पूर्णतामा अभिव्यक्त छन् निबन्धहरू । सङ्क्षेपमा निबन्धगत विषवस्तुलाई समीक्षात्मक दृष्टिकोणबाट हेर्नु उपयुक्त हुन्छ ।

‘कुकुरको भाग्य’ शीर्षकमा कुकुरले मस्ती गर्ने जमाना हो, मान्छेलाई कहाँ त्यो उपलब्ध छ र ! धनी देशको कुकुर हुनु भाग्य मानिन्छ । आज मान्छेभन्दा कुकुर बफादार छ, मान्छे तल झरेको छ, बेइमान भएको छ भनेर महाभारतको कथाबाट पुष्टि गरिएको छ र यसमा सूक्ष्म व्यङ्ग्यको झटारो हान्दै मानिस पशुभन्दा पनि तल झरेको स्थितिको अवलोकन गराइएको छ ।

यसैगरी ‘भाग्दाभाग्दै’ शीर्षकको निबन्धमा मानिस भाग्दाभाग्दै कहाँ पुगेको छ, तर कहीँ निश्चितता छैन, असन्तुलित छ, बाबुबाट आमाको गर्भमा, त्यहाँबाट धर्तीमा, धर्तीमा पनि देश र परदेशका विभिन्न ठाउँमा भाग्याभाग्यै छ । जीवनपर्यन्त यो प्रकृया चलेको सामान्य देखिने लेखनमा व्यङ्ग्यको प्रचुरता पाइन्छ । यस्तै ‘जनावरलाई गाली किन ?’ शीर्षकले पशुसभाको सन्दर्भ ल्याएर स्याल, ब्वाँसो, गिद्ध, सर्प, गोही, गधा, गोरु, भेंडा, कुकुर, बाँदर आदिको भेलाले के निश्चय गर्‍यो भने सम्पूर्ण बिगार्ने मान्छे हो । यो निबन्धले कता कता भैरव अर्याललाई सम्झाएको छ तर हास्यमिश्रित स्वरूमा कमी भने देखिन्छ । जस्तै : सबैभन्दा महत्त्वपूर्ण त पृथ्वीको तापमान वृद्धि हो । त्यो मान्छेकै कारण भएको हो । अधिक वर्षा र खडेरी त्यही तापमानमा आएको वृद्धिले हो । बाढी, पहिरोका घटनामा वृद्धि भइरहेको छ । त्योभन्दा पनि महत्त्वपूर्ण त अधिक हिउँ पग्लेर सेता सुन्दर हिमाल खण्डहर पहाड बन्ने क्रममा छन् भने समुन्द्रको सतह बढिरहेको छ । कहिलेकाहीँ अनपेक्षित रूपमा जाडोमा गर्मी र गर्मीमा जाडो हुने जस्ता अनौठा रूपहरू देखिइरहेका छन् । (पृष्ठ १४)

‘घाँडो बूढो’ शीर्षकमा अहिले समाज वृद्धवृद्धालाई गरिने व्यवहारप्रति व्यङ्ग्यात्मक स्वरूप निबन्धले देखाउँछ । जीवनको चक्रमा बूढो भएपछि कतिपय अवस्थामा घाँडो हुन्छ, आफ्नी बूढी भए बरु केही भन्न पाइयो, त्यो पनि नभएको बूढो काम लाग्दैन भन्ने आशय व्यक्त छ निबन्धमा । ‘बिहे किन ?’ शीर्षकको निबन्धमा बिहे हुनै पर्छ भन्ने के छ र ! आधुनिक जमानामा संसार कहाँ पुगिसक्यो, त्यही पुरानो कुरा समातेर बस्ने भन्ने पाश्चात्यको प्रभावप्रति व्यङ्ग्य गरिएको छ भने ‘कामी’ निबन्धले कार्यसँग सम्बन्धित कुरालाई सङ्केत गर्दै कामी र बेकामीको कुरा उठाइएको छ । यस्तै ‘कहाँ छ स्वतन्त्रता ?’ शीर्षकको निबन्धले स्वतन्त्रताको कुरा विविध किसिमबाट उठाएको छ । यस सन्दर्भमा निबन्धकारको आफ्नै किसिमको अभिव्यक्ति रहेको छ : नाङ्गै जन्मेको मान्छेलाई नाङ्गै हिंड्ने स्वतन्त्रता हजारौं वर्ष पहिले थियो, तर आज छैन । स्वतन्त्रतालाई मान्छेले कृत्रिम बनाएका छन् । स्वतन्त्रताका परिभाषा कृत्रिम छन् । त्यही कृत्रिमताको साङ्लोले मान्छेलाई बाँधेको छ । (पृष्ठ ३४)

‘धारा र शौचालय महात्म्य’ शीर्षकमा अमेरिकाको हाइट हाउसमा जाँदा शैचालयको धारा खोल्न नजानेर अरूको हेरेर सिकेको प्रसङ्ग आएको छ भने ‘सोल्टिनी’ शीर्षकमा हाम्रो सामाजिक व्यवस्थामा जेजस्ता नाता भए पनि सोल्टिनीजस्तो मीठो र प्यारो अरू छैन भन्ने निष्कर्ष निकालिएको छ । ‘चिनिनँ’ शीर्षकमा समाजको विषयवस्तुमा आधारित बनाएर कसैले मैले चिनिनँ भन्छ भने केही फरक पर्ने त होइन, नेपालको विषय होस् व्यक्तिको तर यहाँ विभिन्न धारणा प्रस्तुत गरेर व्यङ्ग्य गरिएको छ : नेपाल नचिने पनि सगरमाथा चाहिँ सबैले चिन्दा रहेछन् । सगरमाथा संसारको अग्लो डाँडो हो भन्ने थाहा नपाउने कमै हुँदा रहेछन् । सगरमाथाको डाँडो पनि मागी खाने भाँडो भएको छ । हिउँको बीउ हुन्जेल त मागी खाने भाँडो होला । हिउँको बीउ सिद्धिएपछि त्यो भाँडो पनि ठाँडो हुने हो कि भन्ने खतरा छ । (पृष्ठ ५२)

‘त्यो नेपाली होइन’ स्वस्थानीको कथाको झल्को दिने गरी लेखिएको निबन्धले पनि नेपाल र नेपाली पहिचानको विषय बनाइएको छ भने ‘चुनाउ पुराण’मा देश-विदेशका प्रधानमन्त्री, राष्ट्रपतिका अनेक प्रसङ्गका साथै ती विषयलाई पुराणका उदाहरण दिएर पुष्टि गरिएको छ । ‘लेखकको कन्दनी’ शीर्षकमा नेपाली साहित्यको विषयमा पहिले लेखक कम हुने गर्थे, अहिले धेरै पुस्तक प्रकाशन र लोकार्पण हुने तर पाठक पाउन कठिन हुने कुराको उठान गरिएको छ । त्यस्तै ‘लिङ्गपुराण’मा शिवलिङ्ग त चिह्न हो, प्रतीक हो । स्त्री-पुरुषको लिङ्गको कुरा गरेर हँसाउने र रमाइलो गराउने प्रयास भए पनि लिङ्गको तात्पर्य नबुझेको जस्तो गरी उपहासको पात्र बनाइएको छ । वस्तुतः व्यङ्ग्यको तात्पर्य उडाउने होइन, भैरव अर्यालको जस्तो हास्यव्यङ्ग्य हुनुपर्छ र लेखनमा दीर्घकालिक र सर्वग्राह्य हुनुपर्छ जस्तो लाग्छ । यस सङ्ग्रहको मूल शीर्षक भएको निबन्ध ‘खाइराइड’ हो । यसमा मान्छेको प्रवृत्तिलाई देखाउँदै अहिलेको जमानामा सेवा-भावभन्दा पनि कहाँबाट फाइदा हुन्छ ? भन्नेतिर दौडेको छ मानिस । थाइराइडले भन्दा समाजमा खाइराइडले मानिसलाई सताएको छ भन्ने व्यङ्ग्य गरिएको छ । यसमा ऐतिहासिक सन्दर्भ ल्याएर पुष्टि गर्न खोजिएको छ । यसमा निबन्धकारको भनाइ यस्तो छ : इमान र नैतिकता नेतामा मात्र खोजेर हुँदैन । कलेजको मास्टरभन्दा भन्सारको खरदारलाई छोरी दिने संस्कार भएसम्म यो खाइराइड रोगको निदान हुन सजिलो छैन । त्यसको लागि समाजको संस्कार नै परिवर्तन हुनुपर्छ । त्यो नभएसम्म खाइराइडले देश बिग्रियो भनेर चिच्याउँदैमा कोही पानीमाथिको ओभानो हुन सक्दैन । (पृष्ठ ७६)

यस्तै विकृतितर्फ उन्मुख गराउने निबन्ध ‘देश डुब्यो’ शीर्षक पनि हो । यसमा पञ्चेपछि काँग्रेस, एमाले आदि हुँदै गणतन्त्र भएको छ तर विसङ्गति चरम सीमामा छ भनिएको छ । ‘बुहारी सासू’ निबन्धमा वर्तमान समय परिवर्तनको सामाजिक अवधारणालाई अत्यन्त चोटिलो ढङ्गबाट प्रस्तुत गरिएको छ भने ‘सरको डर’मा सबैले सर हुनुपरेको सन्दर्भमा – कानमारा, तनमारा, धनमारा, ज्यानमारा आदि सर हुनुको विकृतिलाई नामकरण गरेर व्यङ्ग्य गरिएको छ । यस्तै ‘पद पैसा’ निबन्धमा वर्तमान समयमा पद र पैसाले ठूलो स्थान ग्रहण गरेको छ, यसले समाजमा अनेक विकृति आएको कुरालाई विभिन्न किसिमबाट देखाइएको छ । यस्तै यौनिक सन्दर्भलाई लिएर ‘बूढो गोरु कि बहर !’ निबन्धमा युवक र युवतीको सन्दर्भमा स्त्रीलम्पटको कुरा गरिएको छ । जीवनको आधार प्राण वायु हो, खानाले पाइखानामा परिणत गर्ने कुरालाई अनेक दृष्टान्तद्वारा ‘जिन्दगी खाना पाइखाना’मा चर्चा गरिएको छ । मानिस देशमा जेजस्ता परिवर्तन आए पनि मानिस पहिलेदेखि नै लाहुरे हुने कुरालाई ‘लाहुरे’ शीर्षकमा व्यक्त भएको छ । यसमा आजकलका लाहुरेको नामकरण पनि गरिएको छ- भर्ती लाहुरे, अर्ती लाहुरे, छिर्ती लाहुरे, फिर्ती लाहुरे आदि । यस्तै ‘नेपालीले गर्छ’ नेपालीप्रतिको गहिरो व्यङ्ग्य गरिएको निबन्ध हो । अनेक किसिमका उदाहरणहरू ल्याएर नेपालीले जे पनि गर्छ, गर्न सक्छ भन्ने भाव व्यक्त भएको छ । ‘प्रधानमन्त्री कि वरदानमन्त्री !’ निबन्धमा कृषिप्रधान देशमा सापटी लिएर खाने प्रवृत्तिलाई प्रहार गरिएको छ । सक्षम असक्षम जे भए पनि परकै आशीर्वाद पाएपछि प्रधानमन्त्री बन्ने र मागेर खाने प्रवृत्तिलाई उजागर गर्नु यस निबन्धको उद्देश्य रहेको छ भने ‘हाइ हाइ अमेरिका’मा नेपालीले अमेरिका जान पाए स्वर्ग गए झैँ गर्छन्, यसका कथा-व्यथा आफ्नै किसिमका छन् । यस सन्दर्भमा भनिएको छ : अमेरिकाले हत्तपत्त कसैलाई पस्न दिँदैन । पसेपछि फिर्न दिँदैन । अमेरिकाले नागरिकता दिँदा कसैलाई पनि भएको नागरिकता त्याग्न लाउँदैन तर अमेरिकाको नागरिकता त्याग्यो भने पाइला टेक्न पनि दिँदैन । (पृष्ठ १२१)

‘नामको चाम’ शीर्षकमा मानिसले नामका लागि अनेक प्रयास गर्छ । यसको महत्त्वलाई बढी ध्यान दिएर काम गर्छ भन्ने धारणा छ भने ‘कुरा गरेर खानु’मा सबैले कुरा गरेर खाने प्रवृत्तिलाई उठाइएको छ । यस्तै ‘गुट फुट झुट’मा यो संसारमा सबै देश गुटमा बाँडिएका छन् । यो गुटले गर्दा जनताले दुःख पाएका छन् भनिएको छ भने ‘दलाल’मा दलाली प्रवृत्तिले कोही रातारात धनी हुन्छन् । कोही मारमा पर्छन्, शिक्षा, स्वास्थ्य, आर्थिक क्षेत्र वा अन्य सबै क्षेत्र दलालीको कारण बिग्रिएको छ भनिएको छ । यस्तै समाजमा कन्यादानदेखि हरेक कुराको दान गर्ने कुरा ‘दानी कि नादानी’मा व्यक्त गरिएको छ भने ‘मृत्युविज्ञापन’मा मृत्युलाई विज्ञापन गर्ने प्रचलनले गाँजेको सन्दर्भ ल्याउँदै भनिएको छ : मृत्यु उत्सव जीवनको सुन्दर पक्ष हो तर सामाजिक सञ्जालमा मृतकको फोटो राखेर विज्ञापनको बाढी ल्याउनु चाहिँ कति सुन्दर हो ? मृतकले चिन्दै नचिनेका जनहरूको त्यो बाढीमा बगेको देख्दा मृतकलाई कति हाँसो उठ्दो हो । झन् कहिल्यै नचिनेका र नभेटेकाको ‘रीप’ले मृत्युलाई चिप बनाउँदो हो । जिउँदो र मरेको नछुट्याई श्रद्धाञ्जली दिनेको श्रद्धाञ्जलीले मृत्युलाई कति गिज्याउँदो हो ? श्रद्धाञ्जली र चिरशान्तिको सुनामीले मृतकको आत्मालाई शान्ति होइन, कतै अशान्ति त हुँदैन ? बाँचुन्जेल पीडा भोगेको मृत्युले कति लज्जाबोध गर्दो हो । (पृष्ठ १५७/१५८)

यसरी ‘खाइराइड’भित्रका निबन्धहरूले विविध विषयलाई समेटेका छन् । यसमा आरोहावरोह प्रशस्त मात्रामा रहेको छ । लेखक कवि पनि भएकोले निबन्धहरूको बीच-बीचमा कविताहरू पनि आएका छन् । अझ यसको सुन्दर पक्ष भनेको निबन्धको विषयवस्तु र शीर्षक अनुसार कलाकार व्यक्तित्व राजेश मानन्धर (राजमान)का चित्रहरूले सुनमा सुगन्ध भरेका छन् । यी निबन्धहरू विशेष गरेर समाजमा भएको विकृतिलाई औँल्याउनु रहेकोले चित्रहरूले त्यस्तै विचित्रपन उजागर गरेका छन्, व्यङ्ग्यात्मकताको श्रेणीमा अझ निबन्धलाई उच्चतामा पुर्‍याएका छन् ।

‘खाइराइड’ भित्रका निबन्धहरूले सामाजिक विकृति-विसङ्गतिलाई हास्यव्यङ्ग्यको शैली, सरल भाषामा गम्भीर विविध विषयमा कुरा उठाएर निबन्धकारले नेपाली साहित्यको हास्यव्यङ्ग्य विधालाई समाजको यथार्थस्थितिको आधारमा माथि उठाउने काम गरेका छन् – समाजमा रहेको राजनीतिक, धार्मिक तथा सांस्कृतिक, शैक्षिकक्षेत्र वा आफ्ना घरायसी कुराहरू होऊन्, सबैतिरको विसङ्गतिपूर्ण अवस्थालाई पर्गेल्ने काम निबन्धमा भएको छ । आज संसारमा हेर्ने हो भने कुनै पनि क्षेत्रका मानिसमा संवेदनशीलता छैन, आफ्नो कर्तव्यप्रति सजगता छैन, अवलम्वन गर्नुपर्ने मार्ग कुन हो ? भन्ने स्वयं पहिल्याउन नसकेको अवस्थामा यस्ता निबन्धहरूले समाजका विकृति-सिङ्गतिप्रति प्रहार गर्नु स्वाभाविक हुन आउँछ । यसभित्र जुनसुकै निबन्धले पनि नेपाली साहित्यका पाठकलाई प्रशस्त खुराक दिएको अनुभूति हुन्छ । नेपालको राजनीतिक क्षेत्र होस् वा अन्य क्षेत्र कुनैले पनि आफ्नो दिशा के हो ? निर्क्याेल गर्न नसकेको कारण हरक्षेत्र दुषित बनेको यथार्थ हो । यस अवस्थामा एउटा लेखक सजक हुनु पनि स्वाभाविक हो । हास्यव्यङ्ग्य निबन्धमा उखान, टुक्काको प्रयोगले निबन्धलाई सशक्त बनाएको हुन्छ, त्यसको प्रयोग उचित ठाउँमा भयो भने । तर यहाँ उखान र टुक्काको प्रयोग छ कतै कतै मात्र । जीवनका आरोहावरोहमा स्वयं निबन्धकारले देखे-भोगेका सन्दर्भहरूलाई कतै स्वयं पात्र बनेर, कतै विविध पात्रहरूलाई समाविष्ट गरी निबन्धलाई रोचक र घोचक बनाइएको छ ।

केही लेखनकार्यमा सर्जकले ध्यान दिनुपर्नेतर्फ सामान्य उदाहरणका लागि – ‘कहाँ छ स्वतन्त्रता ? र लिङ्ग पुराण’जस्ता निबन्धमा भनिएका कतिपय संस्कार, सामाजिक आदर्श, सभ्यता, जीवन-दर्शनलाई ख्याल नगरेर हँसाउने र व्यङ्ग्य गर्ने नाममा – संस्कार-निर्माणमा असर पर्ने कुराको कतै पाठकलाई त आभास दिन्न ? लेखनमा यस्ता कुराको पनि ख्याल गर्नुपर्ने हुन्छ कि ! के नाङ्गै जन्मेको नाङ्गै रहनुपर्छ र ! लिङ्ग के जननेन्द्रियसँग मात्र सम्बन्धित छ र ? यस्ता विरोधाभासपूर्ण कुराहरू अन्यत्र पनि आएका हुन सक्छन्, के लेखकले ध्यान दिनुपर्दैन र ! कसैलाई पनि प्रवृत्तिलाई मात्र हेरेर वा कुसंस्कार, कुप्रवृत्तितर्फ व्यङ्ग्य गरेर सुधार्नु लेखनको उद्देश्य हुनुपर्छ कि !

हास्यव्यङ्ग्यलाई उचाइमा पुर्‍याउन होला पुराण, संस्कृति, परम्पराका कुरा र भाषा, संस्कृति पनि ठाउँ-ठाउँमा प्रयोग छ, त्यो शुद्धतातर्फ पनि ध्यान दिनुपर्नेछ किनकि किताब भनेको ज्ञानको भण्डार हो, पाठकले पढेर सुधार्ने हो भने हर शब्दमा, हर भावमा पनि अवश्य ध्यान जानुपर्ने हुन्छ होला, होइन र !

५. विषयान्त एवं कवितात्मक भावना
‘खाइराइड’भित्रका निबन्धहरूले पाठकलाई प्रशस्त खुराक अवश्य दिएका छन् । राजेन्द्रको लेखनीले निरन्तरता अवश्य पाउनुपर्छ । नेपाली हास्यव्यङ्ग्य निबन्धको क्षेत्रमा हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेलजस्ता स्वयं हास्यव्यङ्ग्यमा निरन्तर लागेका व्यक्तित्वको फित्कौली अनलाइनले प्रकाशनमा ल्याएको ‘खाइराइड’ आफैमा परिष्कारतर्फ उन्मुख भएर आएको छ । प्रकाशनको दृष्टिले कान्छो भए पनि कता कता हास्यव्यङ्ग्य क्षेत्रका महारथी भैरव अर्यालको सम्झना गराउँछ । क्रमशः परिपाकतर्फ आफूलाई उन्मुख गराउँदै विगतका स्रष्टाहरू र वर्तमानका हास्यव्यङ्ग्य स्रष्टाहरूमाझ आफूलाई उभ्याउन सक्ने क्षमतातर्फ उन्मुख भएका सजग र क्रियाशील हास्यव्यङ्ग्य निबन्धकार राजेन्द्र कार्कीको सन्दर्भगत दृष्टिकोणलाई मनन गर्दै एवं मनमा उठेका भावनालाई कवितामा उतार्दै यो सङ्क्षिप्त समीक्षात्मक दृष्टिकोणलाई टुङ्ग्याउँछु ।

‘खाइराइड’ को अर्थ हास्यव्यङ्ग्य उचाइमा
‘राजेन्द्र’ छन् रमाएका लेखनी तीक्ष्ण-धारमा ।
शब्द घोचाइका अस्त्र भैरवी-रूप साथमा
मान्छेको मनको भाव समाजभित्र द्वन्द्वमा ।१।

हास्यको रसमा भन्दा व्यङ्ग्यको भाव उच्च छ
समाजभित्रको दुःख-कष्टले भित्र घोच्दछ ।
पद-पैसा भए पुग्ने बाह्य-संसार हाय ! छ
नादानी पनको मृत्यु यही मानिस रोज्दछ ।२।

वैश्विक-रसमा व्यङ्ग्य भाग्नेको पनि व्यङ्ग्य छ
पशुवत् रसमा व्यङ्ग्य जीवनी रूप व्यङ्ग्य छ ।
स्वतन्त्रता लिई आयो परतन्त्री स्वयं भयो
कसले चिन्छ यो मान्छे ‘खाइराइड’मा गयो ।३।

कतै तृष्णा-वितृष्णा छ मान्छे घाँडो स्वयं बनी
जीवन्त पन खै आफ्नो विकृत रूपको धनी ।
राजनीति कतै बिझ्छ, जनको भावना कतै
स्रष्टाको चाहनाभित्र यथार्थ धारणा कतै ।४।

‘राजेन्द्र’ रचनाभित्र व्यङ्ग्य-चातुर्य मिल्दछ
आफैमा रहने भाका स्रष्टाको भित्र खुल्दछ ।
‘खाइराइड’ले व्यङ्ग्य प्रशस्त दिन्छ चेतना
नैरन्तर्य रहोस् तीक्ष्ण लेखाइ शुभकामना ।५।

०००
२०८० कार्तिक २१ गते । धुम्बाराही, काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आमा-बाबा

आमा-बाबा

ठाकुर शर्मा भण्डारी
कहाँ पाऊँ म मानिस

कहाँ पाऊँ म मानिस

ठाकुर शर्मा भण्डारी
भानुभक्तप्रति

भानुभक्तप्रति

ठाकुर शर्मा भण्डारी
0
Would love your thoughts, please comment.x
()
x