देशको विकास हेरिरहूँ लाग्छ
विकासको योजना पूरा गर्याैँ अनि कोसीमा पानी जहाज ल्यायौँ पनि रोजगारी धेरै भएर टन्न कामदारी भित्र्यायौँ पनि यस्तै हो भने विकासले पनि विकासको स्तर नै नाघ्छ नेपाल पनि आफूलाई अमेरीकासँग दाँज्छ देशको विकास हेरिरहूँ लाग्छ ।
विज्ञान त्रिपाठी :
देशको विकास हेरिरहूँ लाग्छ
हैट ! के भनेको मैले
विकासको नाम सुनेपछि
म भित्रको आत्मा सात समुन्द्र पार भाग्छ
कहिले अष्ट्रेलिया भाग्छ त कहिले खाडी नै ढाक्छ,
अब त नेपालको विकास होला कि भनी
नयाँ आश जसोतसो जाग्छ
पिण्ड खाने बाहरू सत्तामा देख्दा
त्यो आशा निराशा बनी नागार्जुनको जङ्गलतिर भाग्छ
देशको विकास हेरिरहूँ लाग्छ ।
काण्ड र काण्डकारीले भरिएको मेरो देश
कहिले सय किलो सुन भित्र्याउँछ त
कहिले नेपालीलाई भुटानी शरणार्थी बनाई
देशैबाट पन्छाउँछ
आश्चर्य लाग्दो कला, सुनको गुन
आजभोलि त सुन पनि निकै व्यायाम गर्दा रैछन्
राष्ट्र बैंकदेखि वाणिज्य पुग्दा
चालिस किलो तौल घटाउँदो रैछ
कस्तो सूत्र यो, मलाई पनि सिकाउन ए ! सुन,
सानै भए पनि लगाइदेऊ मलाई एउटा गुन
सुनलाई त के सोहन बरु सुनारलाई सोध्न चाहन्छु
तपाईंको त्यो तौल घटाउने कलालाई भित्री हृदयदेखि नै मान्छु ।
यसो कसैलाई बाइक पछाडि राखेर घुम्न लगूँ भन्दा
देशको विकासको झलझली याद आउँछ
रोडले पनि धुलोको प्रसाद टन्न खुवाउँछ,
म पनि छु है भनी खाल्डो आफ्नो गर्वगान गाउँछ
देशको विकास हेरिरहूँ लाग्छ
देशको परिस्थिति हेर्दा
पल्लाघरे रवि दाइ जस्तै मेरो भित्रको नै बाघ जाग्छ
सत्ता पक्षको कस्तो जादुको घडी एक पटक घुमाउँदा
बाघ पनि मुसा बनी दुलोभित्र भाग्छ,
सिहंदरबारबाट टेलिफोन आयो मलाई
देश विकास भइरहेको छ रे
भारतबाट गाडी गाडी मुर्रा भैंसी झारिएको छ रे
खै कुन्नी कहाँ हो घरमुनिबाटै खोला बगिरहेको छ रे
प्रतिनिधि सभामा मिटर ब्याजीको कुरा उठिराछ रे
ललिता निवासको जग्गा हड्पिएको
प्रकरणको खोजी पनि भइरहेको छ रे ।
बन्दुक र हतियारबिना विद्यालय र अस्पतालले
जनतालाई लुटिराखेको छ रे
यस्तै हो साथी, देश विकास भइराछ रे !
तीन बालाई तह लाउँछु, भन्ने व्यक्ति आज कता
ए साथी दुबई, मलेसिया, साउदी, कतार यता,
राष्ट्रिय विकासको योजना त कति हो कति
विकास भएकै कारण आज नेपालको यो गति
विकासको योजना पूरा गर्याैँ अनि
कोसीमा पानी जहाज ल्यायौँ पनि
रोजगारी धेरै भएर टन्न कामदारी भित्र्यायौँ पनि
यस्तै हो भने विकासले पनि विकासको स्तर नै नाघ्छ
नेपाल पनि आफूलाई अमेरीकासँग दाँज्छ
देशको विकास हेरिरहूँ लाग्छ ।
०००
हाल- काठमाडौं
Subscribe
Login
0 Comments
Oldest