हिरा भट्टमेरो सिधा साथी
हाँस्दै हेर् न सरस्वती कलमका जङ्घारमा हेलियो तेरै आँगनभित्र छ्न्द-रङका गुच्चाहरू खेलियो भित्ताको पनि कान हुन्छ नसुनोस् मैले भनेको भनी जेरीतुल्य सिधा सिधा अति सिधा साथी छ मेरो पनि ।

हिरा भट्ट :
घन्टी जान्छ न बोल्न मान्छ कहिल्यै फोनै उठाउन्न ऊ
पैसा सापट माग्छ भाग्छ जहिल्यै फर्केर आउन्न ऊ
खोजेमा पनि देखिदैँन भवमा ऊ हिँड्छ हावा बनी
जेरीतुल्य सिधा सिधा अति सिधा साथी छ मेरो पनि
।१।
खायो होटलमा पस्यो सङ बस्यो साथीत्व फाल्दैन ऊ
कस्तूरी चितुवा निकाल्छ जहिल्यै हात्ती निकाल्दैन ऊ
सित्तै भोजन बालुवा पनि मिले ऊ खान्छ खास्सा भनी
जेरीतुल्य सिधा सिधा अति सिधा साथी छ मेरो पनि
।२।
सोध्दछ बैतडी-बिजुलको पाथीभरा जान्छ ऊ
भाषा बोल्दछ “आइ लभ् चिकन”को मानूँ दया मान्छ ऊ
बाँड्ने बात मिठा मिठा अति मिठा जिब्रो असाध्यै धनी
जेरीतुल्य सिधा सिधा अति सिधा साथी छ मेरो पनि
।३।
मागे ज्यान दिनेछु भन्दछ ठुला सिद्धान्तको सिद्ध ऊ
माग्दा ध्यान दिँदैन बन्दछ सधैँ भञ्ज्याङको गिद्ध ऊ
ज्याला लिन्न जमेर काट्दछ कुरा ज्ञानी र दानी बनी
जेरीतुल्य सिधा सिधा अति सिधा साथी छ मेरो पनि
।४।
हाँस्दै हेर् न सरस्वती कलमका जङ्घारमा हेलियो
तेरै आँगनभित्र छ्न्द-रङका गुच्चाहरू खेलियो
भित्ताको पनि कान हुन्छ नसुनोस् मैले भनेको भनी
जेरीतुल्य सिधा सिधा अति सिधा साथी छ मेरो पनि ।
।५।
०००
बिजुल=सुन्दर बैतडीको अति सुन्दर गाउँ=रचनाकारको जन्मस्थल
Subscribe
Login
0 Comments
Oldest







































