हेमराज पन्तसंघीयता
बोली मात्र न हो विकास बबुरो देख्ने यहाँ को छ र । लोली मात्र न हो मिलाउन सिके लेख्ने यहाँ को छ र ।। पैसाले पदले मिलाउँछु सबै बोल्ने मुखाले थुनी । सत्ता, शासन, राजकाज सबमा भेटे तिनै बैगुनी ।।

हेमराज पन्त :
यस्तै हुन्छ विकास यो मुलुकमा बोकेर संघीयता ।
सिङ्गो बोट उभिन्छ ठिङ्ग नजिकै बाटो कता हो कता ।।
केले रुन्छिन खै यहाँ विरहमा संघीयताकी चरी ।
थारो वाद कराउँदै दिनदिनै देखेर आफै डरी ।।
१
कोही बाघ बनी कराउँछ यहाँ कोही बिराला बने ।
बाठा गर्छन् लाजनीति सहजै बेहाल देखे धने ।।
झोला बोक्न सिकाउँदै दल घुमे चम्चे छहारी बसे ।
काला नाग विषाक्त यी जहरिला लाटा र सोझा डसे ।।
२
नारा, भाषण यी मिठा र गुलिया पोल्दै सधैं सज्जन ।
हुक्के, दास, दलाल तस्कर चिनी बोक्दै छ दैनन्दिन ।।
सत्तामा, प्रतिपक्षमा, सदनमा टंकार सुन्थे ठुलो ।
बोली चल्छ बतास झैँ गगनमा सिद्धान्त फिक्का लुलो ।।
३
छोरी, भाइ, दिदी, भदा र ससुरो बोक्ने छ नेता चिनौ ।
कोही छैन् समीपमा यदि भने पैसा बिटोले किनौ ।।
केके गर्छु विकास हेर जनता नारा सुनौला छरे ।
बोकी सिन्धु हिमालका हिँमगरा जोतेर खेती गरे ।।
४
बोली मात्र न हो विकास बबुरो देख्ने यहाँ को छ र ।
लोली मात्र न हो मिलाउन सिके लेख्ने यहाँ को छ र ।।
पैसाले पदले मिलाउँछु सबै बोल्ने मुखाले थुनी ।
सत्ता, शासन, राजकाज सबमा भेटे तिनै बैगुनी ।।
५
०००
पाटन २ सिलङ्गा, बैतडी
Subscribe
Login
0 Comments
Oldest






































