डा.हरिप्रसाद सिलवालठक्करवाला पार्टी
पहिला यो पार्टी खुब गुड्थ्यो । त्यसकारण यसको नाम गोरखकाली पार्टी थियो । पछि यसले धेरै ठक्कर खान थाल्यो । अरू पार्टीलाइ पनि ठक्कर दिन थाल्यो ।

अब आयो हाम्रो देशमा ठक्करवाला पार्टी
विकासले आकाश छुने विपक्षीको सातो
जनताले प्रश्न गरे मुहार बन्छ रातो
सबैसित लड्ने यही हो टक्करवाला पार्टी !!
जनताको खुसी बोक्ने ठक्करवाला पार्टी
बाल, वयस्क, वृद्ध जति सबै अटाउने
पत्रकारले प्रश्न गरे त्यहीँ ठटाउने
हजुरमाथि गजुर लाउने टक्करवाला पार्टी !!
स्वागत छ महाशयहरू हाम्रो पार्टीमा ! यो त अरूको जस्तो गन्हाएको, पुरान्निएको थोत्रिएको, मोत्रिएको र लत्रिएको पार्टी होइन, यो भर्खरै खुलेको ताजा पार्टी हो । हाम्रो पार्टी भनेको हिङ् नभए पनि हिङ् बाँधेको टालो बोकेको पार्टी हो । त्यसैले यो पार्टीको वासना दूरसम्म फैलिँदो छ, सतुरको धाक मैलिँदो छ । चतुयारीहरूको मतियारी बन्न सक्ने हाम्रो पार्टीको गुणगान गर्न सायद प्राचीन नारदमुनिजस्ता प्रवक्ता कोही छ भने हामी बकाइदा तलब दिएर सजाउने छौँ । अरूको जस्तो चतुर हुँ भन्ने तर जनताको अगाडि फतुर कुरा गर्ने खालको पार्टी होइन यो । यो त होसियारीपूर्वक बनाइएको ठाँटी हो जहाँ खाँटी नेताहरू मात्र ठूला-ठूला गफको फेता ओडेर बस्ने पार्टी हो । यो पार्टी सबैको साझा वाटिका पनि हो जहाँ नयाँ पुराना, चौतर्फी भिजेका, सुझबुज भएका व्यक्तित्वहरूले सज्जिएको फूलवारी बनेको छ । कसैको धम्कीमा नदम्किने, कसैको घुर्कीमा नतर्सिने र कसैको धमासमा नअत्तासिने पार्टीको नाम हो- ठक्करवला पार्टी !
अब प्रश्न ठडाउनु होला- “यस पार्टीको नाम किन ठक्करवाला राखेको भनेर ? ्र यस पार्टीमा सदस्यदेखि अध्यक्षसम्म सबैले एक न एक ठक्कर पनि खाएकै छन् । ठक्कर खाँदा खाँदा ठक्करे अनुभवले भरिपूर्ण भएपछि सबैको राय दिए अब एउटा पार्टी खोलौँ र नाम फेरौँ ठक्करवाला पार्टी राखेर । यसको नाम सुन्ना साथ विपक्षी पार्टीको चुनावमा जमानत नै जफत भएको छ । यस्ता जबाफहरू त हामीसित तयारी छ, तयारी चाउचाउ जस्तै । जहाँ जहाँ जनताका समस्या छन्, त्यहाँ त्यहाँ सजिलै, सधैँ गुड्न सक्ने भएर नै यो पार्टीको नाम ठक्करवाला पार्टी ।
अब, प्रस्ट पारुँ भने यो पार्टी त गोरखकाली टायरभन्दा पनि बलियोसित गुड्छ । जहाँ जहाँ भ्रष्टाचार छन्, त्यहाँ त्यहाँबाट गुड्न सक्ने, जहाँ जहाँ सुनौला दरबारहरू छन् त्यहाँत्यहाँबाट पनि गुड्न सक्ने, जहाँ जनताको नाममा ठूला ठूला कामहरू हुन्छन् त्यस्ता ठाममा दामैदाम देख्न सक्ने र जस्तोसुकै कानुन पनि लेख्न सक्ने भएर यो पार्टीको यस्तो भरपर्दो नाम राख्न हामीले कन्जुस्याइँ गरेनौँ । यसले देशका कुनै निकायलाई ठाउँको ठाउँ ठक्कर दिन सक्छ । अख्तियारमा हाम्रो पार्टी विरुद्ध उजुरी पर्यो भने तुका तु टक्कर लिन सक्छ । पैसा भने पैसा, ऐसा भने ऐसा । कसैलाई बिराम र विश्राममा पुर्याउन पनि कुनै कसुर बाँकी नराख्ने । कसैलाई परेको कुनै समस्याहरू पनि ठाउँको ठाउँ समाधान गरिदिने । अर्को बेजोडको सन्दर्भ त हामी उदरको निम्ति, अझ भनौँ भने जनताको उदरको निम्ति र आफ्ना कार्यकर्ताको जीवनकै उदरको निम्ति कति उदार छौँ भन्ने प्रमाण पनि पार्टीको नामैले ड्याम्मै बुझाउँछ । हाम्रो पार्टींमा जति उदरनीतिको कुरा हुन्छ त्योभन्दा बढी नै उदारनीतिको चर्चा हुन्छ । निष्कर्ष भने उदारको भन्दा पनि उदरको नै छिटो निस्कन्छ । हाम्रो पार्टीको नाममा कसैले टक्कर दिन सक्दैन । यस पार्टिले केही मौलिक सिद्धान्तहरू निर्माण गरेको छ जुन सबै सामु स्पष्ट रहेकै छ :
हाम्रो पार्टीमा प्रवेश गर्नेमाथि कसैले भ्रष्टाचारको आरोप लगाए भने तुरुन्त ठक्कर दिने ।
हाम्रोे पार्टीमा प्रवेश गर्नेलाई कसैले गुन्डा भनेर हेपेमा बदलामा ठाडै महागुन्डा नै प्रयोग गर्ने ।
हाम्रो पार्टीले विकास गरेन भन्यो भने त्यसलाई तत्काल तुकातु पूर्व कोसीमा हानेको टाउको पश्चिम गण्डकीको किनारमा ठोक्किने गरी ठक्कर दिने ।
हाम्रो पार्टीलाई सिद्धान्तहीन भनेर आरोप लगाउमा बखतमै बलपूर्वक टक्कर दिने ।
हाम्रो पार्टीलाई घुखिोरी आरोप लगाएमा त्यसलाई तुरुन्तै भुससरह बनाइदिने ।
हाम्रो पार्टीमाथि नैतिकताको प्रश्न उठाएमा तत्काल भौतिक ठक्कर दिने ।
हाम्रो पार्टीलाई कसैले विदेशी भएको दोष लगाइ उसैलाई विदेश पठाइदिने ।
हाम्रो पार्टीमाथि अमानवीय भएको आरोप लगाएमा आरोपीको कानमा प्वाल पारिदिने ।
हाम्रो पार्टीलाई काम नगरेको लान्छना लगाएमा उसको जिब्रो थुतेर फालिदिने ।
हाम्रो पार्टीले पार्टीको बैठक मासिक एक पटक चन्द्रमामा राख्ने ।
हाम्रो पार्टीको विकासे योजना बैठक त्रैमासिक रूपमा मङ्गल ग्रहमा बस्ने ।
हाम्रो पार्टीको कोषमा रकम जम्मा नगर्नेमाथि भ्रष्टाचारको मुद्दा दर्ता गराइदिने ।
हाम्रो पार्टीको रणनीतिक बैठक समुद्री जहाजको यात्रामा गर्ने ।
हाम्रो पार्टीले भन्दा अरू पार्टीले विकास गरेर हामीलाई माथ गरेमा तत्काल ठक्कर दिने ।
हाम्रो पार्टीभन्दा बौद्धिक मान्छे अरू पार्टीमा देखिएमा तिनलाई तत्काल मूर्ख घोषणा गर्ने ।
हाम्रो पार्टीले विश्वभ्रमण गर्न बेलुने रकेटको निर्माण गर्ने र नासालाई पनि टक्कर दिने ।
हा्रमो पार्टीमाथि नराम्रो साच्ने जोकोहीमाथि पनि तत्कालै ठक्कर दिने दस्ता बनाउने ।
हाम्रो पार्टीलाई समर्थन नगर्नेहरूलाई तत्काल आतङ्ककारी घोषणा गरी ठक्कर दिने ।
हाम्रो पार्टीलाई चुनावमा धाँदली गरी हराएमा बदलामा महाधाँदली गरेर कडा टक्कर दिने ।
हाम्रो पार्टीले भोट नदिनेलाई चोट र भोट दिनेलाई नोटको सुन्दर प्रबन्ध गर्ने ।
हाम्रो पार्टीले भोट दिने र नदिने मान्छेहरूको अभिलेख तयार गरी ग्रन्थ निर्माण गर्ने ।
हाम्रो पार्टीले पार्टीको पक्षमा गीत गाउनेहरूको गला नसुक्ने बुटी पिलाउने र विपक्षमा गीत गाउनेहरूको गला सुकाउने अस्त्र प्रयोग गर्ने ।
हाम्रो पार्टीले पार्टीको समर्थनमा साहित्य, लेख लेख्ने विद्वान्हरूलाई सात पुस्ते प्रशंसापत्रको व्यवस्था गर्ने र विपक्षमा लेख्नेहरूको बुद्धिको घैँटोमा ठक्कर दिएर झुकाइदिने ।
हाम्रो पार्टी विरुद्ध कसैले मुद्दा हाले सबै निकायहरूलाई साम दाम दण्ड भेदबाट मिलान गर्ने ।
हाम्रो पार्टीले संसारका सबै तन्त्र, सिद्धान्त र मान्यतालाई गाउँ गाउँसम्म पुर्याउने ।
हाम्रो पार्टीले खोला, नाला, नदी, ताल, डाँडाकाँडा, पाखामा रिमोर्ट कन्ट्रोल पुल हाल्ने ।
हाम्रो पार्टीले त्रिलोक चौध भुवनभरि जमिन, जल र जङ्गल नहुनेलाई दामासाइमा वितरण गर्ने ।
हाम्रो पार्टीले हिमालको हिउँ सङ्कलन गरेर मैदानको उखुको रस मिसाएर आइसक्रिम बनाउने र विश्व बजारमा व्यापार गर्ने ।
हाम्रो पार्टीले विश्वका महान् समाजसेवी ल्याएर बाटाका यात्रीलाई खाजा खुवाउने व्यवस्था गर्ने ।
हाम्रो पार्टीले धर्मात्मा, पापी, अद्र्धधर्मात्मा, अद्र्धपापीको खाता दुरुस्तीकरण गर्ने र मर्नुअघि सोअनुसार परलोकमा दण्ड र सुविधाको लागि सिफारिस गर्ने ।
हाम्रो पार्टीले केश साटुवा, भेष साटुवा र देश साटुवालाई जोडेर साटुवा एकाइ गठन गर्ने ।
हाम्रो पार्टीले अल्छी गर्ने, बल्छी थाप्ने र गल्छी ढुक्नेलाई समेटेर छिछिछि एकाइ बनाउने ।
हाम्रो पार्टीले घिउ बेचुवा, जिउ बेचुवा, बिउ बेचुवाबाट कर उठाएर देशलाई सम्पन्न पार्ने ।
हाम्रो पार्टीले रात चौगुना दिन आठ गुनाका गतिमा विकास गरी विश्व चमत्कार गर्ने ।
यसकारण यति धेरै ठक्कर दिन सक्ने सिद्धान्त, नीति तथा कार्यक्रम भएको पार्टीलार्ई ठक्करवाला पार्टीको रूपमा स्थापना गर्न पाउनु हाम्रो गर्वको विषय बनेको छ ।
‘कुरौटो’ बाट
Subscribe
Login
0 Comments
Oldest








































