विश्व विनोदछोरो भर्ना गर्ने बोर्डिङ
अनिकालको जमानामा सन्ततीले पनि फन्फन्ती बनाउने, बाउ भएर के गर्नु र वास्तवमै राहु परिएछ, साहुको हात नसमाति भाउ नपाइने अनि जिन्दगीको भाउ पनि नपाईने अनि जिन्दगीको नाउ पनि नचल्ने । लोड सेडिङको कमालमा परिबार नियोजनको साधनमा गडबडी आएर बुढेसकालमा बजिया मोरोले धर्ति देखिहाल्यो अनि छोराको बाउ भईयो । स्वास्नीले त नपाम् बुढा भनिथी नि ? के गर्नु ती बालअधिकारवादीले भुँडीको बच्चाको पनि जन्मन पाउने अधिकार छ नत्र मुद्दा हालौंला भने अनि बुढीको भुँडी रात चौगुना दिन नौगुना बड्न थाल्यो । घराँ एक दर्जन भएर पनि कति पाएका हौ भनेर परिवार नियोजनबादीले सोध्दा मैले विद्युत अफिसलाई गएर सोध न, यता माल सामान झिक्न नपाई ट्याक्क बिजुली फाल्दिएपछि सन्तान जन्मिदैनन् त ? बच्चा पेटमै कच्चा हुँदा नै फाल्नलाएकै हो नि ! ती बालअधिकारवादीले फाल्न पाउन्नौ भनेपछि नपाएर के गरौं त प्रभो ?
विद्युत गा’को बेला जन्मेकाले मैले छोराको नामबिद्युत प्रसाद राखिदिएँ तर घरमा उसलाई बिजुलीकान्ते भनेर नाम राखियो । बिद्युत प्रसाद नाम राख्नु पर्ने कुरा तपाईंले बुझेकै होला, आखिर ऊ विद्युतको प्रसाद न थियो । बिजुलीको
कमालले नै होला ऊ बिजुलीकान्ते नै थियो । सरकारी स्कुलमा पढाउँछु भनेको त छोरो मोरोले मान्दै मानेन बा । बोर्डिङको होर्डिङबोर्ड देखेपछि उसले निजीमा जान्छु भनेर हुटहुटी गरेपछि गरिबीलाई आहुति दिन करै लाग्यो ।
बिजुली कान्तेलाई लिएर म यौटा बोर्डिङ स्कुलमा प्रबिष्ट भएँ, थाहा छैन त्यहाँ छिर्दा उत्कृष्ट या निकृष्ट भएँ । बोर्डिङको गेटमा जुँगेमुठे हल्दारले गज्जबको स्यालुट दिँदा मलाई त आफू राजा–महाराजा भएको पो भान भयो । बोर्डिङले जानेकै हो नि एक दिनको सम्मान दिएर वर्षौं बर्षको लागि स्थायी ग्राहक बुकिङ्ग गर्न सक्नु पनि ब्यापारिक कुटनीतिकता नै त होला नि ! वाह बोर्डिङका प्रिन्सिपल पनि गज्जबका रहेछन् जाना साथ कोकसँगै के के थोक खुवाए म त लठ्ठै भएँ बा !
बोर्डिङका बिभिन्न नियम हुँदारहेछन् । मैले सोधें “अनि यहाँ विद्यार्थीले के के सुबिधा पाउँछन् नि ?” उनले मेरो प्रश्न भुँईमा खस्न नपाउँदै उत्तर फर्काए– “यहाँ डान्स क्लासको सुबिधा छ, स्विमिङ पुलको सुबिधा छ, भलिबल, फुटबल,
बास्केटबल, क्रिकेट टिचरको सुबिधा छ, विद्यार्थीलाई गाडीबाटै ल्याउने लाने सुबिधा छ …।” म त अचम्ममा परेँ, यत्राबिधि सुबिधाको बारेमा यिनले फलाक्दा पढाउने सुबिधाको बारेमा कुरै गर्दैनन् त ? “अनि पढाउने सुबिधा मुख्य क्ुरा हैन र यत्राबिधि नानाभाँतिका कुरा गर्दा खै पढाउने कुरा गर्दा खै पढाईको कुरा गर्नु भा’छ नि त तपाईंले ?”
प्रिन्सिपल भनाउँदा लाजले रातै भए ।
आजकाल बोर्डिङले आफ्नो विज्ञापन गर्दा पढाइको कुरा कहाँ छ कहाँ छ, दशथरी खेलकुदका, सौन्दर्य प्रतियोगिताका कुरा अलापेर र फलाकेर कुरा गर्न थाल्छन् । अनि मैले बिजुली कान्तेलाई भर्ना गर्नको लागि के के गर्नु पर्छ भनेर सोध्दा त त्यहाँ भर्ना गराउन सरकारी कार्यालयबाट गरेको सम्पतिको मूल्याङ्कन गरेको प्रमाण, बच्चाको निरोगिताको डक्टरी रिपोर्ट, बच्चाको अभिभावकको बार्षिक आयव्यय, धरौटी रकम आदि ईत्यादि, तथा बच्चाको बाबु आमाको विदेशमा बस्ने भए पिआर.को प्रतिलिपि पनि संलग्न गर्नु पर्ने रहेछ । यत्राबिधि मापदण्डले मलाई त दण्ड दिई रहेथ्यो । अनि मैले मन अमिल्याउँदै सोधें, “हैन किन चाहियो यत्राबिधि कुरा ?” प्रिन्सिपल भनाउँदोले भने, “हेर्नुस् यहाँ सरकारी उच्चपदस्थ कर्मचारीका बाबुनानी पढ्न आउँछन् । अझ शिक्षा बिभाग, शिक्षा मन्त्रालय, शिक्षा कार्यालय, क्षेत्रिय शिक्षा निर्देशनालय तथा बिद्यालयका हेडसर, स्रोत व्यक्ति, बिद्यालयका बिद्यालय निरीक्षक लगायत उच्चपदस्त कर्मचारीका बाबुनानी भर्ना हुने ठाउँ हो यो । त्यसैले मैले भनेका डकुमेन्ट हुनै पर्छ, ए अनि तपाईंले बाबुको भर्ना गर्ने हो भने बाबुको दिशापिसाब, रगत, खकार सबै जाँच गरेको रिपोर्ट हामीलाई बुझाउनुस् है…।” हामी सरकारी स्कुलमा पढ्दा हाम्रा बाउआमाले यसो गरे होलान् त ? म त अवाक् भएँ, अन्त्यमा मैले पनि त्यो बोर्डिङको आबश्यक कागजात छ छैन भनेर सोध्न जरुरत ठानेर मैले उन्को बोर्डिङको अनुमतिपत्र हेर्न जिज्ञासा राखें । उनले देखाउनै मानेनन् ।
अन्त्यमा उनले भने “सुन्नस् न यौटा जेन्टलम्यान डिलिङ गरौं न, म तपाईंको बच्चालाई सित्तैंमा भर्ना र पढ्ने बन्दोबस्त गरिदिन्छु, यहाँको अनुमतिपत्र चाहिँ नमाग्नुस् ल !”
पछि गाँठी कुरा पत्ता लाग्यो त्यो बोर्डिङले उपल्लो कक्षाको अनुमति नपाईकनै उपल्लो कक्षामा पढाइ रहेको रहेछ । त्यो बोर्डिङ शिक्षा कार्यालयको दश मिनेटको हिंडाईमा पुग्न सकिन्छ । के यस्ता विद्यालय तपाईंकै वरिपरी त छैनन्,
आवश्यक कागजात छैनन् कहिल्यै सोध्ने जमर्को गर्नु भा’छ ? तपाई आफ्ना बाबुनानी भर्ना गर्ने सोचमा त हुनुहुन्न ? सोचौँ है ! जदौ !
‘त्रिशूली छाल‘ अङ्क २२ बाट
Subscribe
Login
0 Comments
Oldest








































