सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नयाँ व्यवसाय

Nepal Telecom ad

पच्चिस वर्ष प्राथमिक दरबन्दीमा शिक्षण गरी हाल निवृत्त भएको छु । पेन्सनले घर खर्च पुग्दैन । अन्य आयस्ताको कुनै बाटो छैन । अब बुढेसकालमा के व्यवसाय गरौँ भनेर केही महिना घोत्लिँदा घोत्लिँदै बित्यो । एक दिन झल्याँस्स सम्झेँ– धत्तेरिका, बसिबियाँलो पनि हुने अलिअलि कमाइ पनि हुने, एउटा फ्ल्याट भाडामा लिने र तास खेलाउने । दाउ पर्दा कहिलेकाँही जुवाका निम्ति कौठै झम्काउने । यसो गरे कसो होला ? फेरि अर्को मनले भन्यो– एउटा पवित्र पेशा गरेर निवृत्त भएको गुरु म । कसरी यस्तो व्यावसाय अपनाउने ? मनले फेरि ढाढस दियो– मेरो पेशा मात्र त पवित्र थियो । पच्चिस वर्षमा २–४ जनालाई राम्ररी कालो ‘क’ चिनाउने मौका नै नमिली पेन्सन भो, सम्झँदा टेन्सन पनि हुन्छ । जागिरको अवधिभर यस विषयमा मेरो मनमा चलेको द्वन्द्व प्रकाशन गर्दा आजभोलि म लेखक नै कहलिएको छु । आश्चर्य पनि लाग्छ, अलिकति आनन्द पनि लाग्छ । आश्चर्य यो मानेमा समाज भलोको कुनै कार्य गर्न सकिन । सरकारले सुम्पेको दायित्व पनि राम्ररी पुरा गरिएन तै पनि निवृत्त भए । सन्तोष यस मानेमा कि यस्तै फाल्तु कुरो सार्वजनिक गर्दा साहित्यिक परिवेशका देश विदेशका सवै साथीहरूसँग परोक्ष भए पनि चिनजान भो ।

अँ म कुरा गर्दै थिए नयाँ व्यावसायको । तास खेलाउने । तर कसरी ? त्यो बारेमा आफूलाई पूर्ण ज्ञान चाहिन्छ । आफूलाई पुराना जमानाका तास खेल फलास, किटी, मिलमपत्ती, साईडल, कलब्रेक आदि बाहेक आउँदैन । यसो बुझेको तासको बजार म्यारीज भन्ने २१ पत्तीले खेल्ने ३ बुक तासको पो रहेछ । अव परो कि फसाद ! को को त्यसका पेशेवर खेलाडीहरू हुन् ? कहाँ कहाँ खेल्छन् ? कसरी तिनीहरूलाई आफूकहाँ आकर्षण गर्ने ? आदि कुराको समस्या भो । त्यसैले मैले पहिले त्यो म्यारीज खेल खेल्न सिक्ने विचार गरेँ । यसो तास खेले ठाउँमा गएँ । बसँे । ध्यानपूर्वक हेरेँ, केही दिन यसो गरेपछि आफूले पनि ३ बुक तास किनेँ र फिट्न सिकेँ । सानो सानो पइन्टमा खेल्न शुरु गरेँ । खेल पनि साँच्चै इमान्दार पाराले औकात अनुसार खेल्ने हो भने टाइम पासको माध्यम पनि हुने रहेछ जस्तो पनि पो लाग्यो । त्यसैले चिने नचिनेका जो कोहीलाई पनि तपाईंलाई म्यारीज खेल्न आउँछ ? भनी सोध्दै खेल्न पनि थालेँ । नभन्दै एक दुई महिनामा सामान्य काम चलाउ खेल खेल्न जाने । त्यसपछि बजारमा भएका खेलाडीहरूको सम्पर्कमा गएँ ।

कुरो काम धेरै अघि बढ्यो । आफ्नो फ्ल्याट यसो अलि व्यवस्थित बनाएर उद्घाटन गरेँ । एउटा फ्रिज किनेँ त्यसमा अलिकति वियर, कोक, फ्यान्टा, रुस्लान पनि राख्न थालेँ । खेलाडीहरूले खेल्ने खाने गर्न शुरु गरे । सुरुबुरु आयस्ता पो हुन थाल्यो । मेरो पालो अर्को फ्ल्याट थपेँ । एकजना एचआइभी पोजिटिभ १६ वर्षे सुन्दरीलाई काममा सहयोगी राखेँ, उनलाई रोजगारी दिएँ । बाफ रे वाफ ! आज भोलि त सवै खर्च कटाएर प्रति महिना ५०–६० हजार आम्दानी भैरहेछ । तासमा १०–२० हजार हारेपछि वा मारेपछि त्यो रन्कोमा धन भएका बुद्धि नभएका मनुवाहरू २–४ हजारको मासु र रक्सी खान किन्चित मान्दैनन् । पस्किएर सेवा गर्ने सुन्दरी तालिम प्राप्त छिन् । उनलाई अन्य पुरुषहरूलाई एचआइभी नसार्न मैले निर्देश गरेकैछु । यति भएपछि चित्र गुप्तको हिसाव कितावमा पनि मेरो अपराध दरिने डरै भएन ।

आखिर मेरो बजार भनेको धन भएका बुद्धि नभएकाहरूको बजार हो । मैले व्यवसाय बन्द गर्दा पनि उनीहरू अन्यत्र कतै गई फजुल खर्च गर्नेनै छन् भने मलाई के डर ? अव म मेरो आम्दानीको कम्तीमा २५ प्रतिशत चाहिँ वास्तविक पीडित साहित्यकारको भलाइको निमित्त खर्चिने छु । तपाईंलाई मेरो नव व्यवसाय कस्तो लाग्दछ ? बताउनोस् ल ?

डिमा, संखुवासभा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad