सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

छात्रकी स्त्री छात्रा हो कि छात्री !

Nepal Telecom ad

आज छात्रकी स्त्री को हो ? खोजी गरौँ । मेरो यस प्रस्तावले क्याम्पस पढ्ने ठिटा–ठिटीमध्ये कतिपयलाई रमाइलो लाग्ला । कतिपयलाई भेद खुल्ने भयले कोपर्ला । मलाई गुप्तचर चाहिँ नभनियोस् । म अहिल्यै छात्रकी स्त्री खोजेर देखाइदिन्छु ।

व्यवहारमा छोरो मान्छेकी स्त्री बुहारी हो । व्याकरणमा छोरो शब्दकी स्त्री छोरी हो । भतिजो शब्दकी स्त्री भतिजी हो । ठिटो वा ठिटालाई ठिटी अनि केटो वा केटालाई केटी मिलाउन सजिलो छ । ओकारान्त नामलाई ईकारान्त बनाएर स्त्रीलिङ्ग बनाउनुपर्ने कुरा पहिले पनि भइसकेकै हो । छात्रकी स्त्री को हो त ? हामी सबै जना मिलेर खोजी गरौँ ।
नेपाली भाषा मास्नका लागि परदेशी पैसाले पोसिएकाहरूले उहिल्यै दाहाल र दाहाल्नी, कार्की र कर्किनी, लामा र लमिनीलाई अनि अध्यापक र अध्यापिका, शिक्षक र शिक्षिका, सम्पादक र सम्पादिका, प्राध्यापक र प्राध्यापिका आदिलाई एकछत्त बनाइसके । पुलिङ्ग अथवा स्त्रीलिङ्गबाट उभयलिङ्गमा परिणत गराइसके । ओकारान्त शब्दका स्त्री हुनाले तरुनी, बुढी, केटी, ठिटी आदि चाहिँ जोगिए । भारतमा इन्दिरा गान्धीले आकस्मिक निर्णयका आधारमा बलपूर्वक कुमार र कुमारीको समेत परिवार नियोजन गरिदिएझैँ नेपाली शब्द–भण्डारको नियोजनमा सक्रिय हुनेहरूसँग सचेत बनौँ, राम्ररी सोचौँ । तिनीहरूले कवि र कवयित्री दुइटैलाई जोडेर एउटै बनाइदिँदा कतिलाई त मजा पनि आयो होला । “यसो गर्दा अत्याधुनिक लोकतन्त्रवादीहरूले चाहेको जस्तो लिङ्गभेद पनि अन्त्य हुने छ ।” भन्दै तिनीहरूले एकरूपताका नाममा कुनै दिन आमालाई पनि बाबु नै भन्न बाध्य बनाउन सक्छन् ।

आमालाई बाबु भन्ने दिन नआउन्जेल हामी छात्रका लागि अस्थायी नै भए पनि स्त्रीको खोजी गरिहालौँ । छात्रकी स्त्री छात्रा हो कि छात्री हो ?

दाताकी दात्री, नेताकी नेत्री, अभिनेताकी अभिनेत्री नै हुन् । जनककी छोरी जानकी, पर्वतकी छोरी पार्वती, द्रुपदकी छोरी द्रौपदी, गान्धारकी गान्धारी आदि । यसरी कसकी छोरी ? भन्ने प्रश्नको उत्तर दिने उपर्युक्त शब्दहरूमा दीर्घ इकार थप भएको देखिन्छ । रुद्रकी स्त्री रुद्राणी, शर्वकी स्त्री शर्वाणी, इन्द्रकी स्त्री इन्द्राणी आदि हुने प्रक्रिया अर्कै हो ।

छात्रकी स्त्री छात्री होइन, छात्रा हो । पुष्प, बालक, श्याम, राम, शिव आदि अकारान्त पुलिङ्गी शब्दलाई स्त्रीलिङ्गी बनाउँदा आकारान्त बनाइन्छ । पुष्पा, बालिका, श्यामा, रामा, शिवा आदि ।

नेपालीमा अकारान्त शब्द सबैलाई आकारान्त नबनाई बस्ने हो भने विभक्तिको नाम परिवर्तन गर्ने साहस कति जनासँग छ ? प्रथम पुरुष, द्वितीय पुरुष, तृतीय पुरुष भनेझैँ प्रथम विभक्ति, द्वितीय विभक्ति, तृतीय विभक्ति भन्न सकिएला त ? अहँ, सकिँदैन । प्रथमा विभक्ति, द्वितीया विभक्ति र तृतीया विभक्ति नै भन्नुपर्छ । चतुर्थ, पञ्चम, षष्ठ, सप्तमलाई क्रमशः चतुर्थी, पञ्चमी, षष्ठी, सप्तमी भनेझैँ गरी प्रथम, द्वितीय र तृतीयलाई क्रमशः प्रथमी, द्वितीयी र तृतीयी बनाउन मिल्छ र ? अहँ, मिल्दैन । मिल्दैन भने छात्रलाई सुहाउँदो जोडी छात्रा नै खोज्नुपर्छ । छात्री सुहाउँदैन । अकारान्त विशेषण शब्द प्रियलाई प्रिया, प्रियतमलाई प्रियतमा बनाए जस्तै गरी पूज्य, पूजनीय, आदरणीय आदिलाई पूज्या, पूजनीया, आदरणीया आदि बनाउनै पर्छ अन्यथा शब्दको हत्या हुने छ अनि आमालाई बा भन्ने दिन छिटै आउने छ ।

नैकाप, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
म प्रज्ञापति !

म प्रज्ञापति !

गाउँले बलदेव