शेषराज भट्टराईसाथी कति जाति
गारो साँघुरो फुकाउने क्रिया कर्म गर्ने मित्रलाई साथी भनिन्छ । साथीहरू प्राण सँगका र प्राण विनाका पनि हुन सक्छन् । अर्थात् सजीव र निर्जीव साथी । जे होस् अप्ठ्यारोमा साथ दिने चिजलाई साथी भन्नु पर्छ । चाहे त्यो तल होस् या माथि दिउँसो होस् या राती ।
छिमेकी देश जो एक देशले अर्काे देशलाई साथी मान्छ । युक्रेन र रसियाले झैँ सँधियारा साथीमा तँ भन्दा म माथि भन्ने भावनाले मारामार पर्न थाल्यो भने त्यसलाई मित्र युद्ध भन्नु पर्छ । मित्र युद्ध जसमा साथीले नै साथीलाई अचानामा राखेर छ्याक छ्याक पार्ने गर्छन् जुन साथीको परम धर्ममा पर्छ र साथीको जुनी यसै गरी टर्छ । जसलाई सँधियारा प्यारा साथीले व्यहोरी राखेका हुन्छन् ।
आकाशको साथी नक्षत्रहरू भए । सजीव साथीको साथी प्राणवायु हुन्छ । जुन मरेपछि साथीको साथ छोडेर जान्छ । हामी एक्लो भइन्छ र लडिन्छ । एउटा खुट्टाको साथी अर्काे खुट्टो । तलको दाँतको साथी माथिको दाँत । हिमालको साथी हिउँ । दुधको साथी घिउ । खेतीको साथी बिउ । यो यो यसको साथी भनेर बुझी लिउँ । मैले अर्ति कति दिउँ ।
पोखरी या खोलामा डुबेर मर्ने स्थितिमा कसैले डोरी समाउन दियो भने त्यस डोरीको पुच्छर समाएर बेतरणी नदी पार गर्न सकिन्छ । यहाँ निर्जीव डोरी नै साथी भयो । ठूलो हुरी बतास, असिना पानी प¥यो र स्याल लुक्ने ओडार फेला प¥यो भने त्यस ओडारको शरण पर्दा मरणको दुर्दशाबाट बच्न सकिन्छ । आपत् पर्दा मान्छेहरू स्यालको ओडारमा पनि लुक्न पुग्छन् । अवस्था अनुसारको कदम चाल्नु सजीव साथीको क्रिया हो ।
घर एकान्तमा छ तर घरमा एउटा निमोनिया ग्रस्त लुते कुकुर छ भने त्यो पनि घरको भर पर्दाे साथीमा दरिन्छ । मोबाइल फोन एकान्तको साथी बनेको छ । आँखा मधुरो देखिन्छ तर अझ छर्लङ्ग देखिनलाई चश्मा साथीको आवश्यकता पर्छ । खुट्टो भाँचियो या आधी खुट्टो नै छैन भने ठडिएर दरो बनाउँदै ठिङ ठङ हिँड्नलाई बैशाखी साथीको आवश्यक पर्छ । आफू एक्लै हुनुहुन्छ तर घर चलाउन श्रीमती ल्याउनु भयो भने त्यस स्थितिमा श्रमिती नै तपाइकी साथी हुन्छिन् भनेपछि साथी भनेको के रहेछ यार छर्लङ्ग भयो कि भएन ?
नौ सय जन्तीका साथ आफैले नौमति बाजा बजाएर नौ लाखको गहना किनेर, नौ डाँडा कटाएर, नौ थरी क्रिम पाउडरका साथ झकीझकाउ पारेर रातारात भित्र्याएकी साथीले नौ महिना नहुँदै आइन्दा नौ घण्टा पनि साथ दिन नसक्ने भनेर खुट्टा लुलो पार्न थालिन् । ल अब भन्नुहोस् अब कसको साथ खोज्नु हुन्छ ? नियम कानुनले तर्साएर या कोर्रा बर्साएर आफैतिर फकाउनु भयो भने धाक, धम्की र कानुननै त्यस स्थितिका साथी हुन् । एकै छिन् अगाडिका साथी एकैछिन पछि आत्माघाती हुन सक्छन् । त्यसैले साथीको साथ अपरिहार्य छ ।
तपाई दाँतको अभावमा अल्छी मानी मानी ढिँडो टोकी राख्नु भएको छ । गुन्द्रुक भट्टमासको तिउन अचार पनि छ भने त्यो तिउन र अचार निख्लो ढिँडोका साथी भए । किनकि ती सितन नभई सुख्खा ढिडो मात्रै ब्ल्याक होलमा छिर्न सक्दैन । त्यसैले साथीको अभावमा हामी अप्ठ्यारोमा परिन्छ भने साथीलाई ढिंडो, तिउन, अचार जस्तै साथमा राख्न नबिर्सनु भएमा तपाईका ज्ञानेन्द्रिय, कर्मेन्द्रिय, वायु विकार, सब ठिक हुन्छन् । यो आयुर्वेदिक ठूलो ओखती मुलो जानी राख्नु भयो भने साथीको खुट्टो लुलो हुनबाट जोगिन सकिँदैन त ?
फूलबारी–११, पोखरा
फोन : ०६१५३०१२२, ५३४७१३
Subscribe
Login
0 Comments
Oldest







































