साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ल्यापटप खाले श्रीमती

Nepal Telecom ad

श्रीमती पनि दुई खालका हुने भएछन् जमानाले । यौटा घरैमा कजाउन मिल्ने अर्की बाहिर बाहिर सजाउन मिल्ने । मनभा’का मान्छे भन्दा पनि धनभा’का मान्छेलाई थरिथरिका श्रीमती फेर्न मिल्ने रहेछ । घरमा छे चिटिक्क परेकी पियारी तर नि कहिलेकाहीँ भै हाल्छ गडबडी भन्याझैं घरकी भन्दा परकी राम्री देख्ने तपाईंको हजुरबाको पालाभन्दा पनि अगाडिदेखिकै चलन हो ।

कम्प्युटर दुई खालका हुन्छन् । यौटा डेस्कटप हो अर्को ल्यापटप हो । डेस्कटपमा बिभिन्न तारहरू जडित हुन्छन् । यो अलिक भद्दा हुन्छ । बाहिर लिएर हिँड्न मिल्दैन । यो लिएर हिँड्दा झन्झटिलो हुन्छ । तर त्यसको विपरित ल्यापटप चट्ट बोकेर झट्ट हिँड्न मिल्छ । यो झोलामा लुकाउन सकिन्छ, बोक्न सकिन्छ, बोकाउन सकिन्छ । जोड्नलाई तार चाहिन्न । झन्झट पनि हुन्न, कन्चट पनि तात्दैन । जहाँ लैजान पनि मिल्ने, जहाँ पनि बिनाब्याट्री लामो समय काम गर्न सक्ने ल्यापटपको बहुगुण हो । त्यस्तै श्रीमती पनि डेस्कटप र ल्यापटप खाले हुने गर्दछन् । घरकी श्रीमती डेस्कटप खाले श्रीमती हो भने अर्काकी श्रीमती जसलाई तपाईंले आफ्नीभन्दा बढी माया गर्नुहुन्छ ऊ चाहिँ ल्यापटप खाले श्रीमती हो । हुन त ऊ वास्तविकतामा अर्कैकी श्रीमती हो तर उसको श्रीमान बाहिर भएको हुँदा उसले रेमिट्यान्स खेती गरी दिँदा ऊ तपाईंको केटी बन्न सकेकी न छ ।

मैले धेरै वर्ष अघि पढाउँदा यौटा सानो भाइले आफ्नै कक्षाकी यौटी नानीलाई प्रेमपत्र अलपत्र तरिकाले लेखेछ । ती केटीले केटालाई सजायको माग गर्दै हेडमास्टरको कोठामा पुगेपछि हेडसरले मुद्दाको छिनोफानो गर्ने जिम्मा मलाई नै लगाइ सदनुभो । पछि मैले त्यो चिठी लेख्ने सानो भाइलाई तिमीलाई साँच्चै त्यो केटी मन पर्छ भन्दा उसले मन पर्ने कुराको स्विकारोक्ति जनायो । अनि मैले उसलाई सोधें अनि तिमीले उसलाई बिहे गर्छौ त ? उसले मलाई भन्यो– लभ मात्रै गर्छु सर बिहे त गर्दिन । हो ल्यापटप खाले श्रीमतीलाई तपाईंले लभ गरे पुग्छ, गफ गरे पुग्छ बिहे गर्नु पर्दैन । उसलाई तपाईंले ल्यापटप झैं लुकाएर भित्रिनी या बाहिरीनी बनाउन सक्नुहुन्छ । उ सजिलै लिएर हिँडन मिल्ने खाले हुन्छे । लुकाएर लिएर हिँड्न मिल्छ यिनीलाई । समाजमा लाज हटाउन ल्यापटप खाले श्रीमतीले तपाईंलाई सघाउ पुग्छ । साँच्चै भन्नुस् न घरकीभन्दा परकी कुन आकर्षक हुन्छन् ? हो परकी नै आकर्षक हुन्छन् जस्तो कि ल्यापटप डेस्कटप भन्दा आकर्षक हुन्छ । कहिल्यै डेस्कटपलाई तपार्इंले गर्वका साथ सजिलै लिएर हिँड्नु भा’छ ? अवश्यै छैन । त्यस्तै डेस्कटप जति भद्दा हुन्छ, ल्यापटप भद्दा हुन्छ र ? तपाईंकी घरकी श्रीमती जति भद्दा, अनाकर्षक छिन् नि ल्यापटप खाले श्रीमति आकर्षक र छरिती हुन्छिन् । ल्यापटप प्यारो भएकाले होला काखमा राख्न मिल्छ, श्रीमतीमा पनि यो कुरा लागु हुन सक्छ ।

दरबारमा घरबार गरेका राजाले पनि खाजाखाने बेला बाजा बजाएर अर्कै भित्रिनी र बाहिरीनी हुन्थे रे । श्री ५ का श्रीमती पाँच वटा भन्दा पनि बढी भएको पाइन्छ । त्यसैले श्री ५ भनेका होलान् । मुख्य भए पनि सहायक धेरै भएका उदाहरण पाइन्छ । आजकल गाउँका दाजुभाइ कामको लागि कतार धाम, साउदी धाममा कामको पूजाअर्चना गर्न गएका बेला तिनका श्रीमती ल्यापटप बनेर गफका विषय बनेका छन् । जमाना रेमिट्यान्सको छ । श्रीमान्ले रेमिट्यान्सबाट स्वदेशमा लाखौं पठाएको पाइन्छ । बजारको हर्केले फर्की फर्की पुतली मैयामा रेमिट्यान्स खेति गरिरहेको छ ।

ल्यापटप पट्याएर सजिलै झोलामा राखेर खोलातिर लैजान सकिन्छ । त्यस्तै ल्यापटप खाले श्रीमती पनि फोल्डिङवाला हुन्छन् । यिनीहरूलाई लुकाउन र समय अनुसार फुकाउन सजिलो हुने देखिएको छ । ल्यापटप कम्प्युटरले डेस्कटपलाई चिन्ता बढाएको पाइन्छ । यसरी नै तपाईंकी डेस्कटप श्रीमतीलाई पनि सधैं ल्यापटप खाले श्रीमती छ कि भनेर चिन्ता भइरहन्छ । अर्को आर्थिक विशेषता के हो भने ल्यापटप खाले श्रीमती सजिलै उपलब्ध भैदिने बानीले गर्दा मूल्य नै राख्ने हो भने डेस्कटप खाले श्रीमतीको महँगोे पर्न जान्छ किनकी यिनीहरू घरका गृहमन्त्री हुन् भने परकी डेस्कटपलाई केवल तपाईंको साथ भए पुग्छ ।

ल्यापटप हलुङ्गो हुन्छ, डेस्कटप गहु्रङ्गो हुन्छ । त्यस्तै ल्यापटप खाले श्रीमती हल्का हुन्छन्, तपाईंले चाहेको ठाउँमा सजिलै उपलब्ध हुन्छन् । तपार्इंको मात्र नभै वरपरका घरमा पनि कसै कसैका ल्यापटप खाले श्रीमती बग्रेल्ती हुन्छन् । काखमा बसेर लाखको चाख दिन ल्यापटप खाले श्रीमतीको जरुरत पर्दछ । घरकी श्रीमती घरायसी कामले थिचिएको बेला ल्यापटप श्रीमतीसँग बसेर चौरासीव्यञ्जन घिचिएको अनुभव तपाईलाई थाहै छ । डेस्कटप श्रीमती कुवाको भ्याकुतो हुन् भने ल्यापटप श्रीमती तपाईंको तेस्रो आँखा बनेर हिँडिरहेकी भेट्न सकिन्छ ।

डेस्कटप श्रीमतीलाई पाल्न सक्नुहुन्छ तर फाल्न सक्नुहुन्न किन कि मारे पाप, पाले पुण्य भनेर तपाईले ती नानीको सारी तानीतानी ल्याउनु भएको थियो । तर सजिलो कुरा यो हो कि ल्यापटप श्रीमतीको डोनर तपाईं हुनुपर्दै उनीसँग सङ्गत त गर्नुहोस् उनी तपाईंको आयोजक प्रायोजक बन्न सक्छिन् । घरकीलाई तपाईंले खर्च गर्दै घुमाउनु पर्छ तर परकीले तपाईंलाई नै खर्च गर्दछिन् । घरकीबाट कहिल्यै कुनै कपडा उपहार पाउनु भएको छ र ? अहँ छैन तर परकी ल्यापटप खाले श्रीमतीले तपाईंलाई कति धेरै नगद र जिन्सी सामान उपहार दिएकी छन् त्यसको कुनै लेखाजोखा नै छैन ।

ल्यापटप खाले श्रीमती तपाईकी आदिनाथ, ब्रम्हा, बिष्णु, महेश्वर हुन सक्छिन् । तपाईंकी श्रीगणेश हुन् उनी, पैसाकी कुबेर हुन् उनी । पैसाको अभावले दबाव दिएको बेला तत्काल ल्यापटप खाले श्रीमतीलाई पुकारा गर्नु भयो भने तपाईंले पैसाको एैसामा रमाउन सक्नुहुन्छ । तर डेस्कटप तपाईंको लागि दुर्वासा ऋषि हुन सक्छिन् किन कि घरको चार पर्खालमा घेरिएर उनको आर्थिक उपार्जन शून्य भा’को बेला उनले तपाईंलाई पुण्य दिलाउन सक्दिनन् । भलै घरकी श्रीमतीको घुमे्रको कपाल तपाईंलाई अनाकर्षक लाग्ला तर सोही अवस्थाकी ल्यापटप श्रीमतीको कपाललाई तपाईंले प्रशंसाको कुरा गर्नु भएकै होला कैलो कपाल भनेर । घरकीको नङ लामो हुँदा तपाईंले जङ्गली भनेर गाली गर्नु भा’को होला तर परकीको नङ लामो हुँदा तपाई त्यसलाई स्वभाविक मानिरहनु भएको छ । घरकीले कपाल छोट्याउँदा नक्कलीको संज्ञा तपाईंले दिईरहँदा परकीको कपाल तपाईंको भन्दा पनि छोटो भए पनि तपाईं तिनै ल्यापटप श्रीमती सक्कली लाग्न सक्छ । घरकीले पाइन्ट लगाइन् भने तपाईंको जिभ्रो जिराफको भन्दा लामो बन्न सक्छ तर परकीको पाइन्ट देखेर तपाईं गर्वले गद्गद् गर्न सक्नुहुन्छ । घरकीले लिपिस्टिक लगाएको रुचाउन तपाईंलाई हम्मे हम्मे पर्छ । तर परकीले लगाएको लिपिस्टिकको कमालले तपाईंको मन मज्जाले तानेको भने अवश्यै हो । लौ, न डेस्कटप ठीक कि ल्यापटप ठीक ? भन्न सक्नुहुन्छ ?

लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
दादागिरी

दादागिरी

विश्व विनोद
कुर्ने कि घुर्ने ?

कुर्ने कि घुर्ने ?

विश्व विनोद
खादा, माला र अबिर टोलाएको बेला

खादा, माला र अबिर...

विश्व विनोद
देश कहाँ छ त ?

देश कहाँ छ त...

विश्व विनोद
0
Would love your thoughts, please comment.x
()
x