हेमराज पन्तम बुढोरूख झैं !
भित्र भित्रै निकै खिईएर
खोक्रो भएपनि
बाहिर बाहिरै बोक्राले अड्याएको
धोद्रिएको, खोक्रिएको
जराहरू कुहिएको
बुढो रूख
जसलाई हावाको सानो झोक्काले पनि
बखत बखतमा ढाल्न सक्छ
म त्यहि बुढो रूखझैं भएछु !
बारम्बार भेलझैं उर्लेर आउछ
हिनताबोधका हिमनदीहरू
तर पनि घात गरेर
आफैभित्रको खोक्रोपनि माथि
अपाङ्ग आत्मविश्वासको बैशाखी टेकेर
बुख्याँचा भै उभिन्छु म निरन्तर …
अस्तित्वहीन अस्तित्वहरू
अस्तित्वमा परिणत नभएजस्तो
जलप लगाउँदैमा धातुहरू पनि
खै कहाँ सुनै भएर आउँदारहेछन र ?
यसैले सायद खित्का छाडेर हाँस्छ
मैमुनि बसेको मेरै नाथे कुर्सी पनि
र त्यसैले आगोका फिलुङ्गाजस्तो
आँखाको धनुषबाट मेरै छातीमा
बारम्बार तिखो बाण प्रहार गर्छ
र बरफजस्तो जमेका पीडाहरू
उप्काईउप्काई भन्छ –
आँखाभरि समुन्द्र बोक्न
विवश छन् यहाँ थुप्रै विवशहरू
ती जस्तै हुँन
हुस्सुले छोपेको घामझैं
न कि, घामलाई छोपेको हुस्सुझैं
हुस्सुहरूले ढाकेको बुढोरूखझैं … !
Subscribe
Login
0 Comments
Oldest






































