साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अठार वर्षको निद्रा

Nepal Telecom ad

चितवनमा सम्पन्न एक प्रशिक्षण कार्यक्रममा एमाओवादी पार्टीका तीन भाइ ठूला नेताले एकसाथ अनौठा र आकर्षक भनाइहरू सार्वजनिक गरेछन् । जेठाले भनेछन्, “दोस्रो संविधानसभाको निर्वाचनपछि हामी झल्याँस्स ब्यूँझिएझैँ भएका छौँ । उतिबेला त हामी सपनामा पो रहेछौँ ।”

माइला भाइले पनि हौसिँदै भनेछन्, “हामी त बाँदर रहेछौँ ।”

साहिँला भाइले भावुक भएर भनेछन्, “हामी त गुट–उपगुटले गर्दा ध्वस्तै भएछौँ ।”

तीन–तीन जना वरिष्ठ कम्युनिस्ट नेताहरूले व्यक्त गरेका अभूतपूर्व विचार सुनेर गर्मी र निद्राले लोलाइरहेका प्रशिक्षार्थीहरू पनि झल्याँस झुलुस भएर ब्यूँझिएछन् ।

गोप्य प्रशिक्षण कार्यक्रमबाट चुहिएर बाहिर आएको कुरा यत्ति हो । कार्यक्रममा नेताहरूले आफ्ना भनाइको व्याख्या कसरी गरे होलान् भनेर हामी त अनुमान मात्रै गर्न सक्छौँ । जस्तै, पहिला जेठाको पालो– “दोस्रो संविधानसभाको निवार्चन अघिसम्म हामीले विगतमा १० वर्षसम्म जनयुद्ध गरेका थियौँ जस्तो लाग्थ्यो । त्यस बेला हाम्रो एक इसारामा हजारौँ युवा काँधमा बन्दुक भिरेर भोकै नाङ्गै ज्यानलाई हत्केलामा राखेर हाम्रा पछाडि लागेका थिए जस्तो लाग्थ्यो । हामीले कैयौँ पुलिस चौकी र सेनाका ब्यारेकहरूमा ठूल्ठूला आक्रमण गरेको र हजारौँ नेपालीले ज्यान गुमाएको जस्तो लाग्थ्यो । अस्ति भर्खरैसम्म पनि कता कता यी कानमा बन्दुक पड्केको, बम विस्फोट भएको, लडाकूहरू र शत्रुहरू चिच्याएको आवाज गुन्जिरहेको जस्तो लाग्थ्यो । प्रतिगामी, दक्षिणपन्थी, बुर्जुवा र सामन्तवादीेहरूका मुटुमा हामीले ढ्याङ्ग्रो बजाएको जस्तो लाग्थ्यो ।

त्यस बेला हामीले दुनियाँलाई थुरथुरी कमाएका थियौँ जस्तो लाग्थ्यो । हामीले सिङ्गै देश कब्जा गर्नै लाग्दा प्रतिक्रियावादी सरकारले हामीसँग घुँडा टेकेर वार्ताका लागि तयार भएको र हामीले युद्ध छाडी राजनीतिक प्रतिस्पर्धामा आएको जस्तो लाग्थ्यो ।

केही वर्षअघि देशमा पहिलो संविधानसभाको निर्वाचन भएको र त्यसमा हामीले चामत्कारिक ढङ्गले चुनाव जितेर दुनियाँलाई मूच्र्छित बनाएको जस्तो लाग्थ्यो । काँग्रेसलाई पछि पारेर, एमालेलाई कहिल्यै नउठ्ने गरी सुताएर हामी अघि बढेका थियौँ जस्तो लाग्थ्यो । हामीले सरकार गठन गरेको, म आफैँ देशको प्रधानमन्त्री भएको, माइलो पनि प्रधानमन्त्री र साहिँलो समेत उपप्रधानमन्त्री भएको जस्तो लाग्थ्यो । अब सधैंका लागि सत्ता सञ्चालन गरेर देशलाई समृद्ध नयाँ नेपाल बनाउँछौँ भन्दै हामी त्यस बेला बेस्सरी हाँसेको जस्तो लाग्थ्यो ।

कमरेडहरू ! त्यो सबै सपना रहेछ । हामीलाई जे जे लागेको थियो, त्यो सबै भ्रम रहेछ । हामी त १८ वर्ष लामो निद्रामा रहेछौँ । दोस्रो संविधानसभाको निर्वाचनपछि पो हामी त झल्याँस्स भएर ब्यूँझिएछौँ । आफैंले आफैंलाई चिमोट्दा, टाउको झड्कारेर विचार गर्दा, आँखामा चिसो पानी छ्यापेर हेर्दा त्यो साँच्चै सपनै रहेछ ।

त्यो जनयुद्ध, त्यो लडाकूको लस्कर, त्यो मार्चपास, त्यो आक्रमण, त्यो आन्दोलन, त्यो झन्डा, त्यो गाडी, त्यो देश–विदेशको सयर, त्यो धाक, त्यो रवाफ, त्यो हाँसो, त्यो गर्जन, त्यो गर्धन, त्यो सिंहदरबार, त्यो स्यालुट, ती चन्दादाता, ती व्यापारी, त्यो जुलुस, ती समर्थक, त्यो जिन्दावाद, त्यो अमर रहोस्, सबै सपना रहेछन् । तपाईंहरू कसैलाई त्यो विपना थियो भन्ने भ्रम छ भने आजैदेखि त्यो भ्रम हटाउनूस् । जानूस्, मुख धोएर आउनूस् ।”

जेठा नेताले सबैलाई सपनाबाट यथार्थमा आउन अनुरोध गरेपछि माहिला र कान्छा नेताले आफ्नो भनाइको व्याख्या गर्नुपरेन होला सायद, सबैले कुरा बुझे होलान् ।

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x