साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुपमको सिर्जना–यात्रा

Nepal Telecom ad

काठमाडौं, भाद्रर २१ । कार्यक्रम हल । अग्र भागमा प्रमुख अतिथिलगायत आमन्त्रित अन्य स्रष्टाहरू । उपस्थित खचाखच कवि साहित्यकार । परर्र तालीको पर्रा । गीत, गजल, कविताको दमदार प्रस्तुति । आफ्नै लयमा गुञ्जयमान थिए अक्षरहरू । छुट्टै साहित्यिक सरगर्मी । काठमाडौंको प्रवेश–नाका कलङ्कीस्थित एड मार्क कलेजमा हरेक महिनाको तेस्रो शनिबार सम्पन्न हुँदै आएको नियमित सिर्जना वाचन कार्यक्रमको झलक हो यो ।

शब्दहरू कतै प्रेमिल भावमा मुस्कुराउँदै थिए भने कतै जीवन जगत्का कटु सत्यहरूको यथार्थ निरुपण गर्दै थिए । सिर्जना वाचनको यस शृंखलाका प्रमुख अतिथिका रूपमा मञ्चमा आसिन हुनुहुन्थ्यो वरिष्ठ साहित्यकार डा. बमबहादुर थापा ‘जिताली’ । प्रमुख अतिथि जितालीले पानसमा दीप प्रज्वलन तथा संस्थाका उपाध्यक्ष भगवती रोका ‘भूमिका’ले स्वागत मन्तव्य व्यक्त गरेपछि रचना वाचनको क्रम सुरु भएको थियो ।

कार्यक्रममा पूर्णप्रसाद पन्त, रामशरण खड्का, जगदीश्वर पोखरेल, श्रीधर पौडेल, प्रकाश चापागाईं, भगवती रोका ‘भूमिका’, रमेशप्रसाद गौतम, भाग्यशाली अधिकारी, नरेश ढकाल, विजय योञ्जन ‘विश्वास’, कालिकोटे अनिश, जसध्वज गुरुङ, मञ्जुल श्रेष्ठ ‘काले’, भुवनहरि सिग्देल, लालबहादुर भुजेल, हरि खनाल, राजेन्द्रप्रसाद ढुङ्गाना, जनार्दन धड्कन ‘अधिकारी’, एस पी आशा, कुमार श्रेष्ठ, कमला रिसाल ‘ज्योति, शशी थापा ‘पण्डित, मणिराज सिंह, विजयराज न्यौपाने, घिमिरे मैदेली, दुर्गा रिमाल, रामप्रसाद पौडेल, राजेश चोच्छे, डा. जीवन अधिकारी, केशवराज अर्याल ‘निश्चल, जितु खड्का लगायतका स्रष्टाले आ–आफ्ना साहित्यिक सिर्जना प्रस्तु गर्नुभएको थियो ।

नयाँ–पुराना दुवै पुस्ताका स्रष्टाहरूको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रममा कविता, गीत, गजल, मुक्तक—लगायतका विविध विधामा प्रस्तुति दिइएको थियो । प्रमुख अतिथिको मन्तव्यका क्रममा स्रष्टा जितालीले अनुपमको साहित्यिक गतिविधिको प्रशंसा गर्दै यसले नामअनुसारको काम गर्दै आएको सन्दर्भ उठाउनुभयो । आमन्त्रित अन्य अतिथि स्रष्टाहरूले कार्यक्रमको नियमिततामा विशेष जोड दिनुभयो । कार्यक्रममा प्रेम, समाज, देशभक्ति, जीवनदर्शन समेटिएका कविताहरू समेटिएका थिए ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका प्रतिष्ठानका उपाध्यक्ष रमेशप्रसाद गौतमले सहभागी सबै साहित्य साधक महानुभावलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमका सञ्चालक जितु खड्काले पनि आफ्नो हालसालै प्रकाशित कविता सङ्ग्रहबाट ‘प्रवृत्ति’ शीर्षक कविता वाचन गर्नुभएको थियो ।

एकचालीस जना साहित्यिक स्रष्टाको प्रस्तुति रहेको कार्यक्रम करिब चार घण्टासम्म चलेको थियो । सभाध्यक्ष रमेशप्रसाद गौतमको समापन मन्तव्य लगत्तै संस्थाका साहित्य विभाग प्रमुख जगदीश्वर पोखरेलले आगामी असोज महिनाको तेस्रो शनिबार दसैँको अष्टमीका दिन परेकाले उक्त कार्यक्रम स्थगित गरिएको र आगामी कार्यक्रम सधैंझैं तेस्रै शनिबार नियमित हिसाबले सञ्चालन हुँदै जाने कुरा राख्नुभयो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x