चट्याङ मास्टरनेपाल नयाँ भई हाल्ला !
१.
२४० वर्ष पुरानो निरङ्कुश राजतन्त्र ढालियो भनेर धाक लगाउँदा
१०४ वर्षको राणाशासन घटाउने हो कि जोड्ने हो ?
७ सालदेखि १७ सालसम्म त प्रजातन्त्र नै थियो,
३६ देखि ४६ साल कसलाई कति भाग लगाउने हो ?
४६ देखि ५२ साल सम्मलाई ता आफैं राखौँला
५२ देखि ६२ सम्मलाई कसको जिम्मा लगाउने हो ?
६३ देखि आजसम्मको हिसाब पनि के राजतन्त्रलाई नै बुझाउने हो ?
२४० वर्षको हिसाब कता कसले कसरी मिलाउने हो ?
२.
७ सालमा राणा ढालियो, १७ मा ढालियो प्रजातन्त्र
४६ मा पन्च ढालियो, ६२ मा ढालियो राजतन्त्र
के रह्यो त बाँकी पुरानो अब ढाल्न ? मल्लकाल ढाल्न लाग्ने हो ?
कि लिच्छवी कालनै ढालेको धाक लगाउन थाल्ने हो ?
३.
हामी त बहादुर जात, जे भेटिन्छ ढाल्नु पर्छ भन्ने थाहा छ
ढाल्नेले नै फेरि बनाउनु पनि पर्छ भन्ने कहाँ छ ?
तर अझै ढाल्न बाँकी छ यो देश स्वतन्त्र
केही नपाए अब यही ढालौँ, अनि कहाँ ल्याउने कुन तन्त्र ?
४.
ढले स्वतन्त्र देश नै त ढल्ने हो, प्रदेश त पक्का रहिहाल्छ,
देशमा हाम्रो पार्टी बलियो छ, प्रदेशमा त झन् बलियो भइहाल्छ
अकडम बक्डम तन्त्र भनि दिउँला, जनता पछिपछि आइहाल्छ
देश होस् या प्रदेश होस्, हाम्रो सर्वोच्चता रहिहाल्छ ।
५.
आउनुहोस् आउनुहोस् गरौँ क्रान्ति, नेपाल नयाँ भई हाल्ला
हाम्रो काम ढाल्ने हो ढाल्छौँ, उठाउन त कोही न कोही आई हाल्ला !
बत्तिसपुतली, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest




































