साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एकताको प्रवचन

Nepal Telecom ad

एकता नरूचाउने को होला ? को होला एकताको विरोध गर्ने वा एकता भाँड्ने ! यतिबेला त एकता र मेलमिलापको घनघोर विरोधी पनि एकताको बारेमा अत्यन्त सकारात्मक भएको दावी गर्छ । त्यो पनि यस्तो बेला जतिबेला एकताको व्यापक चर्चा परिचर्चा चलिरहेको होस् ! यस्तो बेला त वर्षौं झगडा गरेर बसेकाहरू पनि एकताको आवश्यकतामा एकजुट हुन्छन्, जुरमुराउँछन् ।

चारैतिर विग्रह र विखण्डनको आँधीहुरी चलिरहेको यतिबेला एकताको निकै खाँचो छ । त्यसैले यसकै चर्चा पनि निकै छ । सत्ताको सिंढी टाढा होस्, पार्टीमा फाटो होस् वा विभागमा विभाजन होस्…. । यस्तो बेला हो एकताको अभियान जोडदार रूपले चल्ने । भन्नुहोला — एक भएको बेलामा के को एकता ! हुन पनि फाटो भएको बेलामा पो एक हुने बाटोको कुरा आउँछ । नत्र एकताको माला बेकारमा कसले जप्छ ?

अस्ति एउटा चोकमा दुई तीनजना केटाकेटीहरू गुच्चा खेलिरहेका थिए । एकैछिनमा तिनीहरू बीच झगडा भयो । हातपात पनि भयो । हातपातकै बीचमा एकजना नाइके केटोले झगडा रोक्न तत्काल एकताको प्रस्ताव राख्यो । झगडा लाउने उही थियो, उसैले एकताको प्रस्ताव गरेपछि झगडा साम्य नहुने कुरै भएन, भयो पनि । बच्चाहरू पुनः गुच्चा खेल्न थाले ।

एकताको कुरा आउनासाथ केटाकेटीहरू पनि कति छिट्टै संवेदनशील हुन जानेछन् । यसले एकतामा कति दम रहेछ भन्ने साबित गर्छ ।
एकताको त्यस्तै अर्को जोडदार नमूना प्रस्तुत छ ।

हाम्रो घरको चोकमा अर्को एउटा घर छ जहाँ सधैँभरि जुवाको खाल जमिरहन्थ्यो । घरधनीलाई यसबाट राम्रै आम्दानी भइरहेको थियो भने गल्लीभित्रको निरस चोक पनि हल्लाखल्लाले गुलजार भइरहेको हुन्थ्यो ।

अब त्यहाँको गुलजार र रसमयपन स्वाट्टै घटेको छ । हल्लाखल्ला र झगडा हुनै नपाई अब त त्यहाँ छिनछिनमा एकता भइहाल्थ्यो । राजनीतिक एकताको कुरा जोडदार रूपले चलेदेखि त्यहाँ पनि झगडा सुरू भयो कि एकजना वरिष्ठ जुवाडेले तत्काल एकताको प्रस्ताव प्रस्तुत गरिहाल्थ्यो । त्यसपछि त झगडा आफसेआफ समाप्त । कुनै नाइँनास्ति छैन ।

कस्तो चमत्कार !
कारण के रहेछ भने विवाद र झगडा भन्दा एकताको प्रस्ताव यति चर्को हुन्थ्यो कि विवादलाई बाध्य भएर एकतासामु घुँडा टेक्नै पथ्र्यो । अनि त एकताको बहस सकुन्जेल झगडा त कता हराउँथ्यो, हराउँथ्यो ।

एकातिर एकताको यस्तो महान प्रभाव व्याप्त छ भने अर्कोतिर जहाँ एकताको कुर। जोडदार रूपले उठ्नु पर्ने हो वा जहाँबाट एकताको कुरो उठेको हो त्यहीँ एकता भइरहेको छैन । एकताबारे मनग्य बहस विवाद र चर्चा त भइरहेछन् तर एकतै चाहिं कहाँ हो कहाँ बेपत्ता छ ।

जनताका नाउँमा सत्ता हाँक्ने, सरकार चलाउने ठूला दलहरूमै एकता नहुनु अचम्म होइन त ! त्यसैले एकतासँग सम्बद्ध एकजना घनघोर चल्तापुर्जा नेतासित भेटमा आफ्नो जिज्ञासा राखेँ – तपाईंहरू बीच एकता कहिल्यै हुन्न कि कसो ?

ती त एकताको महान व्याख्याता पो निस्के र त्यहीँ उभिउभिकन दिन थाले प्रवचन- अरे हाम्रो एकता भारेभुरे हो र भन्नासाथ एकता भइहाल्ने । एकताको लागि कति पापड बेल्नुपर्छ, कहिले पापड बेलेको भए पो थाहा पाउनु । एकताको कुरो चल्नासाथ एकछिनमै टुँगिने एकता के एकता ! गुच्चा खेले जस्तो वा जुवा खेले जस्तो हो र ! राष्ट्र र जनतासँग सरोकार भएको एकता पो हो त हाम्रो एकता । कति चरणमा वार्ता र सहमति गरेपछि पो बल्लतल्ल हुन्छ एकता । त्यसै हुन्छ एकता ।

त्यस्तो उस्तो एकता होइन, त्यो त थाहा भयो तर कहिले हुन्छ पो भन्या त, पँक्तिकार अलि नरम भयो । एकताबारे उसको थप व्याख्या आउला भन्ने चिन्ता जो भयो ।

एकताको अभावले चारैतिर विग्रह विखण्डन र सङ्घीयताको चर्को स्वर व्याप्त भइरहेको बेला फेरि अर्को एकता प्रयासका अनेक व्याख्या सुन्नुपर्ला भनेर चुपचाप उसको प्रवचन सुन्नुमै भलो देखेंँ ।

चल्तापुर्जा नेताले भने – हेर्नुस्, भर्खर त वरिष्ठ एकतावादी नेताले अब छिट्टै वृहत् एकता मोर्चा गठन हुन्छ भन्नुभएको सुन्नुभएन ? हो अब पो साँच्चिकै सुरू हुन्छ चरणबद्ध एकता । ..

नेताजीको प्रवचन धाराप्रवाह सुरू भइरहेको थियो । उनको प्रवचनले पँक्तिकारको दिमाग एकछिन जाम भयो ।

– कुरा र भाषणले मात्र कहीँ एकता हुन्छ, अथवा कसैले भन्दैमा त्यसै हुन्छ एकता – त्यो पनि राजनैतिक पार्टीहरू बीच ? तर अब मोर्चा नै गठन हुने भएपछि सुुरू हुन्छ साँच्चिकै एकता ! बुझ्नुभयो ?, प्रवचन जारी थियो ।

– कुरा अझै बुझिनँ त ।, मैले भनेँ ।
हेर्नुस् एकताका लागि झगडा विवाद गर्नु परेन ! नत्र किन एकता गर्ने ! अब वरिष्ठ एकतावादी नेताले मोर्चा नै गठन हुन्छ भनेपछि यसैमा झगडा सुरू हुन्छ । मोर्चामा को को बस्ने को कोलाई माइनस गर्ने, कसले नेतृत्व गर्ने ? कसलाई उठाउने, कसलाई पछार्ने, यसैमा हुन्छ पहिला राजनीति, बुझ्नुभयो ? यी सबै कुराको छिनोफानो गरेपछि पो हुन्छ त बल्ल एकताको प्रक्रिया । त्यो झगडा भनेको पदको झगडा हो । मोर्चामा कसले नेतृत्व लिने, को अध्यक्ष हुने, को महासचिव हुने र को कोषाध्यक्ष हुने ! कसले कति अधिकार पाउने, कति भाग पाउने । यी सब कुरा मिलेपछि हुन्छ बल्ल एकता, बुझनु भयो ?

यति भनेपछि नबुझ्ने त कुरै भएन । फेरि उनको लामो गन्थन सुन्नु भन्दा बुझेँ भन्नुमा फाइदा जो छ ।

गोरखापत्र, भाद्र १०, २०६७

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x