सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

एकताको प्रवचन

Nepal Telecom ad

एकता नरूचाउने को होला ? को होला एकताको विरोध गर्ने वा एकता भाँड्ने ! यतिबेला त एकता र मेलमिलापको घनघोर विरोधी पनि एकताको बारेमा अत्यन्त सकारात्मक भएको दावी गर्छ । त्यो पनि यस्तो बेला जतिबेला एकताको व्यापक चर्चा परिचर्चा चलिरहेको होस् ! यस्तो बेला त वर्षौं झगडा गरेर बसेकाहरू पनि एकताको आवश्यकतामा एकजुट हुन्छन्, जुरमुराउँछन् ।

चारैतिर विग्रह र विखण्डनको आँधीहुरी चलिरहेको यतिबेला एकताको निकै खाँचो छ । त्यसैले यसकै चर्चा पनि निकै छ । सत्ताको सिंढी टाढा होस्, पार्टीमा फाटो होस् वा विभागमा विभाजन होस्…. । यस्तो बेला हो एकताको अभियान जोडदार रूपले चल्ने । भन्नुहोला — एक भएको बेलामा के को एकता ! हुन पनि फाटो भएको बेलामा पो एक हुने बाटोको कुरा आउँछ । नत्र एकताको माला बेकारमा कसले जप्छ ?

अस्ति एउटा चोकमा दुई तीनजना केटाकेटीहरू गुच्चा खेलिरहेका थिए । एकैछिनमा तिनीहरू बीच झगडा भयो । हातपात पनि भयो । हातपातकै बीचमा एकजना नाइके केटोले झगडा रोक्न तत्काल एकताको प्रस्ताव राख्यो । झगडा लाउने उही थियो, उसैले एकताको प्रस्ताव गरेपछि झगडा साम्य नहुने कुरै भएन, भयो पनि । बच्चाहरू पुनः गुच्चा खेल्न थाले ।

एकताको कुरा आउनासाथ केटाकेटीहरू पनि कति छिट्टै संवेदनशील हुन जानेछन् । यसले एकतामा कति दम रहेछ भन्ने साबित गर्छ ।
एकताको त्यस्तै अर्को जोडदार नमूना प्रस्तुत छ ।

हाम्रो घरको चोकमा अर्को एउटा घर छ जहाँ सधैँभरि जुवाको खाल जमिरहन्थ्यो । घरधनीलाई यसबाट राम्रै आम्दानी भइरहेको थियो भने गल्लीभित्रको निरस चोक पनि हल्लाखल्लाले गुलजार भइरहेको हुन्थ्यो ।

अब त्यहाँको गुलजार र रसमयपन स्वाट्टै घटेको छ । हल्लाखल्ला र झगडा हुनै नपाई अब त त्यहाँ छिनछिनमा एकता भइहाल्थ्यो । राजनीतिक एकताको कुरा जोडदार रूपले चलेदेखि त्यहाँ पनि झगडा सुरू भयो कि एकजना वरिष्ठ जुवाडेले तत्काल एकताको प्रस्ताव प्रस्तुत गरिहाल्थ्यो । त्यसपछि त झगडा आफसेआफ समाप्त । कुनै नाइँनास्ति छैन ।

कस्तो चमत्कार !
कारण के रहेछ भने विवाद र झगडा भन्दा एकताको प्रस्ताव यति चर्को हुन्थ्यो कि विवादलाई बाध्य भएर एकतासामु घुँडा टेक्नै पथ्र्यो । अनि त एकताको बहस सकुन्जेल झगडा त कता हराउँथ्यो, हराउँथ्यो ।

एकातिर एकताको यस्तो महान प्रभाव व्याप्त छ भने अर्कोतिर जहाँ एकताको कुर। जोडदार रूपले उठ्नु पर्ने हो वा जहाँबाट एकताको कुरो उठेको हो त्यहीँ एकता भइरहेको छैन । एकताबारे मनग्य बहस विवाद र चर्चा त भइरहेछन् तर एकतै चाहिं कहाँ हो कहाँ बेपत्ता छ ।

जनताका नाउँमा सत्ता हाँक्ने, सरकार चलाउने ठूला दलहरूमै एकता नहुनु अचम्म होइन त ! त्यसैले एकतासँग सम्बद्ध एकजना घनघोर चल्तापुर्जा नेतासित भेटमा आफ्नो जिज्ञासा राखेँ – तपाईंहरू बीच एकता कहिल्यै हुन्न कि कसो ?

ती त एकताको महान व्याख्याता पो निस्के र त्यहीँ उभिउभिकन दिन थाले प्रवचन- अरे हाम्रो एकता भारेभुरे हो र भन्नासाथ एकता भइहाल्ने । एकताको लागि कति पापड बेल्नुपर्छ, कहिले पापड बेलेको भए पो थाहा पाउनु । एकताको कुरो चल्नासाथ एकछिनमै टुँगिने एकता के एकता ! गुच्चा खेले जस्तो वा जुवा खेले जस्तो हो र ! राष्ट्र र जनतासँग सरोकार भएको एकता पो हो त हाम्रो एकता । कति चरणमा वार्ता र सहमति गरेपछि पो बल्लतल्ल हुन्छ एकता । त्यसै हुन्छ एकता ।

त्यस्तो उस्तो एकता होइन, त्यो त थाहा भयो तर कहिले हुन्छ पो भन्या त, पँक्तिकार अलि नरम भयो । एकताबारे उसको थप व्याख्या आउला भन्ने चिन्ता जो भयो ।

एकताको अभावले चारैतिर विग्रह विखण्डन र सङ्घीयताको चर्को स्वर व्याप्त भइरहेको बेला फेरि अर्को एकता प्रयासका अनेक व्याख्या सुन्नुपर्ला भनेर चुपचाप उसको प्रवचन सुन्नुमै भलो देखेंँ ।

चल्तापुर्जा नेताले भने – हेर्नुस्, भर्खर त वरिष्ठ एकतावादी नेताले अब छिट्टै वृहत् एकता मोर्चा गठन हुन्छ भन्नुभएको सुन्नुभएन ? हो अब पो साँच्चिकै सुरू हुन्छ चरणबद्ध एकता । ..

नेताजीको प्रवचन धाराप्रवाह सुरू भइरहेको थियो । उनको प्रवचनले पँक्तिकारको दिमाग एकछिन जाम भयो ।

– कुरा र भाषणले मात्र कहीँ एकता हुन्छ, अथवा कसैले भन्दैमा त्यसै हुन्छ एकता – त्यो पनि राजनैतिक पार्टीहरू बीच ? तर अब मोर्चा नै गठन हुने भएपछि सुुरू हुन्छ साँच्चिकै एकता ! बुझ्नुभयो ?, प्रवचन जारी थियो ।

– कुरा अझै बुझिनँ त ।, मैले भनेँ ।
हेर्नुस् एकताका लागि झगडा विवाद गर्नु परेन ! नत्र किन एकता गर्ने ! अब वरिष्ठ एकतावादी नेताले मोर्चा नै गठन हुन्छ भनेपछि यसैमा झगडा सुरू हुन्छ । मोर्चामा को को बस्ने को कोलाई माइनस गर्ने, कसले नेतृत्व गर्ने ? कसलाई उठाउने, कसलाई पछार्ने, यसैमा हुन्छ पहिला राजनीति, बुझ्नुभयो ? यी सबै कुराको छिनोफानो गरेपछि पो हुन्छ त बल्ल एकताको प्रक्रिया । त्यो झगडा भनेको पदको झगडा हो । मोर्चामा कसले नेतृत्व लिने, को अध्यक्ष हुने, को महासचिव हुने र को कोषाध्यक्ष हुने ! कसले कति अधिकार पाउने, कति भाग पाउने । यी सब कुरा मिलेपछि हुन्छ बल्ल एकता, बुझनु भयो ?

यति भनेपछि नबुझ्ने त कुरै भएन । फेरि उनको लामो गन्थन सुन्नु भन्दा बुझेँ भन्नुमा फाइदा जो छ ।

गोरखापत्र, भाद्र १०, २०६७

Fitkauli Publication Books comming soon
Nepal Telecom ad