केशवराज अर्याल ‘निश्चल’फर्क–फर्क
आज फर्किएका छन् सबै कुरा,
पूरानो दौरा सुरुवाल नयाँ भएर फर्केको छ ।
नेताको मन कुर्सितिर फर्किएको छ ।
ताइन तुईका भाषण मात्र जनतातिर फर्किएको छ ।
तर, पूरानो नेपाल
नयाँ भएर कहिल्यै फर्केन ।
पहिल्यै फर्की सकेका थिए सबै कुरा,
गाउँ, शहरतिर फर्केको छ,
गोठालो रित्तै घरतिर फर्केको छ,
गाईवस्तु बालितिर फर्केका छन् ।
लाहुरे जवानी रित्याएर फर्कियो,
जँड्याहा बोतल रित्याएर फर्कियो ।
जुवाडे खल्ती सिध्याएर फर्कियो,
पुलिस तिनैलाई हौसला दिएर फर्कियो ।
नेपाली मन विदेशतिर फर्कियो,
विदेशी फेसन नेपालतिर फर्कियो ।
पहिले पहिले तिम्रो मन
म तिर फर्किन्थ्यो ।
मेरो यो ‘निश्चल’ मन पनि,
तिमीतिरै फर्किन्थ्यो ।
एकदिन तिमीले मलाई
रिसाएर आँखा फर्काएपछि
मैले पनि मुन्टो फर्काइदिएँ लौ जा ।
शायद आज
तिम्रो मन धनीपट्टी फर्कियो होला,
र त उता फर्कियौ ।
मेरो पनि मन फर्केको छ देशप्रति ।
उता शहर बन्द गरी गाडि फर्काइयो,
यता सामान नपाएर ग्राहक फर्काइयो ।
गरिबी ढाडमा महँगीले लौरो फर्कायो,
ठीक त्यसको भोलीपल्टै आन्दोलन चर्कायो ।
त्यसैले त अहिले
तीन दल तीनतिर फर्केको छ,
तीन दलको ओन्दोलमा पाक्ने खिचडीको भाँडो
भुँइतिर फर्किएको छ ।
अनि, कसरी पाक्छ संविधान ?
परदेशीहरू स्वदेशतिर फर्क,
शहरियाहरूलाई गाउँ फर्क,
उत्तानो परेको देशलाई
साइड ‘ए’ र साइड ‘बी’ फर्काऊ,
संविधान पो बज्छ कि ?
तन फर्कन एउटा यान चाहिन्छ ।
मन फर्कन अभियान चाहिन्छ ।
त्यसैले फर्क–फर्क
दाहिने फर्क देब्रे फर्क
अगाडि फकर्, पछाडि फर्क
आकाश फर्क, पाताल फर्क, फर्किनु पर्छ ।
पुर्वी हावा पश्चिम फर्केजस्तै,
शिक्षित मूर्खतिर फर्कजस्तै ।
आज मान्छे पशुतिर फर्केको छ ।
त्यसरीचाहीँ फर्कीन हुन्न ।
गाउँ फर्क झुपडी हेर्न,
मन्दिर फर्क, उत्पादन बढाउन,
शिक्षातिर फर्क छोराछोरी पढाउन,
ए, विदेश फर्केका नेपालीहरू हो ,
के तिमर्काे बुद्धि अझै फर्केन ?
के जन्मभूमिप्रति माया फर्केन ?
तिमीले जन्मभुमिप्रति माया फर्काएनौ भने
राष्ट्रिय झन्डा भुँइतिर फर्किनेछ ।
ठिक छ, समय नफर्केला,
तिमी समयजस्तो निष्ठुरी नबन ।
यहाँ जे छ, फर्किनेकै छ ,
जे छ, फर्काउनेकै छ ।
सगरमाथाले नेपालीको गौरव फर्काएझैँ,
दौरासुरुवालले नेपालीको पहिचान फर्काएझैँ,
सबै सबैका लागि सबैतिर फर्किनुपर्छ ।
शान्तिलाई विकासतिर फर्काइदेऊ,
विकासलाई शान्तितिर फर्काइदेऊ ।
अनि पो जन्मिन्छ त, नयाँ नेपाल ।
चारघरे, नुवाकाेट
Subscribe
Login
0 Comments
Oldest








































