डा. टीकाराम पोखरेलगोदगादतन्त्र–जिन्दावाद !
उहिले उहिले हाम्रो देशमा व्यापारी, कर्मचारी, पत्रकार, शिक्षकहरूलाई कुटपीट गर्नेहरूलाई चोर, डाका, लफङ्गा, गुण्डा भनिन्थ्यो । तर आजकल चाहिँ यस्तो काम गर्नेलाई नेताज्यू भनेर संवोधन गर्नुपर्ने हुन्छ । जसले धेरै गोदगाद्, लुटपाट र तोडफोड गर्न सक्तछ उसमा भविष्यमा ठूलो नेता बन्ने लक्षण भेटिन्छ । त्यसैले आजकल पार्टीका कार्यकर्ताहरूलाई सिद्धान्तको कोरा ज्ञान होइन बरु गोदगाद्, लुटपाट र तोडफोडको व्यवहारिक ज्ञान दिन थालिएको छ । आजकल सबै पार्टीहरू आफ्नो पार्टीमा रेस्लरहरू उत्पादन गर्नमा लागेका छन् ।
पार्टीले रेस्लर उत्पादन गर्नु राम्रो हो । अखिर हामी नेपाली बहादुर । जताततै बहादुरी । गोद्न, ठोक्न, लुट्न सबैतिर हामी एककदम अगाडि । यसमा हाम्रो एकपछि अर्को रेकर्ड ब्रेक हुँदैछ । एकपछि अर्को बहादुरीको रेकर्ड तोड्ने यी महान् रेस्लरहरूको गुणगान गाउनु हामी सबै लुरे नेपालीको कर्तव्य हो । आखिर आफैँले बहादुरी प्रदर्शन गर्न नसके पनि बहादुरी प्रदर्शन गर्नेहरूको गुणगान त गाउनु प¥यो नि होइन र ? आखिर यो गोदगाद हाम्रै मौलिक उपज पनि त हो नि ।
अहिले नेपालले विश्वलाई नै चकित पार्ने गरी परम्परागत प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रभन्दा भिन्न खालको नयाँ राजनीतिक मान्यताको विकास गरिरहेको छ । राजनीतिमा गोदतन्त्र अर्थात् गोदगाद् ठोकठाक गर्ने मौलिकपना । यो जनताको प्रतिनिधित्व गर्ने राजनीतिक दलका कार्यकर्ता यो ठोकठाकतन्त्रको राम्ररी उपभोग गरिरहेका छन् । नेपालका राजनीतिक दलका कार्यकर्ताको यो गोदतन्त्र देखेर विश्व चकित हुन लागिरहेको छ । यो हाम्रो आफ्नै मौलिकतन्त्र हो । नेपालले ढीलै भए पनि एउटा यो गोदगादतन्त्र नामको एउटा मौलिकतन्त्र विकास गरेकोमा हामीले गर्व गर्न सक्नुपर्दछ । आखिर हामी नेपाली पनि सिद्धान्तको विकासै गर्न नसक्ने त होइन रहेछौँ नि ।
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा गोदगादतन्त्र भन्नाले आफूलाई मन नपरेको व्यक्ति वा संस्थाप्रति भौतिक रुपमा गरिने आक्रमण बुझ्नुपर्ने छ । यो गोदगादमा रगत बग्न सक्नेछ, तोडफोड हुनसक्नेछ, जतिसुकै भौतिक क्षति भए पनि यसलाई समान्य मान्नुपर्नेछ । यसलाई आदर्श राजनीतिकै एउटा अभिन्न अङ्गकै रुपमा हेरिनुपर्नेछ । यो भन्दा फरक आँखाले हेरे अपराध हुनेछ, देशद्रोही कहलिनेछ । खासगरी समाचार लेख्ने पत्रकार र समाचार प्रकाशन गर्ने समाचार माध्यम यो गोदगादतन्त्रको निशाना बन्नेछन् । विगतदेखि सुगारटाइ गर्दै आइएको अभिव्यक्ति स्वतन्त्रतालाई चुनौति दिन यो गोदगाद सिद्धान्त अवलम्बन गरिनेछ । अभिव्यक्ति स्वतन्त्रता जस्तो पुरानो नेपालको मान्यतालाई तिलाञ्जली दिँदै गोदगाद सिद्धान्तको स्थापना गरिनेछ । यो गोदगाद र ठोकठाकमा राजनीतिक संरक्षण प्राप्त हुनेछ । राजनीतिक संरक्षणलाई अन्यथा मान्न पाइने छैन । यिनै कुरालाई आत्मसात गर्दै गोदगाद तन्त्र उपभोग गरिने छ । गोदगादतन्त्रको कार्यान्वयन दलका कार्यकर्ताले गर्नेछन् । गोदगाद गर्नेलाई संरक्षण गरेर दलका ठूला नेता गोदगादतन्त्रको संरक्षक रहनेछन् ।
वास्तवमा अरु प्रजातन्त्र, गणतन्त्र, लोकतन्त्र जस्ता परम्परागत तन्त्रहरू त विश्वका विभिन्न देशले प्रयोगमा ल्याएकै हो । त्यस्ता पुरानातन्त्रहरूको खास अर्थ छैन । हामी पनि अब एक्काइसौँ शताब्दीका नेपाली । त्यसैले अरुले विकास गरेका परम्परागत तन्त्रको पछि लागेर सधैँ पछौटे भएर बस्नु पनि हुँदैन । यिनै कुरालाई मनन गर्दै हामीले विकास गरेको यो गोदगादतन्त्र हाम्रो आफ्नै माटोको उपज हो । यो हाम्रो मौलिकताको विश्वमा नै चर्चाको विषय हुने छ । हामी चमत्कारी नेपालीले विश्वमा नै केही नयाँ कुरा दिनको लागि हामीले अपनाएको गोदगादतन्त्र निकै फलदायी हुने कुरामा दुई मत छैन । आजसम्म नेपालीहरू विदेशमा कामदारको रुपमा मात्र गएको भन्ने गुनासो सुन्न आएको अवस्थामा हामीले यो गोदगादतन्त्रको मौलिकता विकास गरेपछि अब भने हाम्रा नेपाली गोदगादविशेषज्ञको रुपमा विदेशको विद्वत् बजारमा भित्रिने कुरामा ढुक्क हुन सकिन्छ ।
नेपाल धेरै समदेखि राजनीतिक रुपमा दिशाहीन छ । तर अब नेपालमा गोदगादतन्त्रको विकास भएकाले हामी सबै आसावादी हुनुपर्दछ । गोदतन्त्रको मौलिकपना हेर्दा अब यो देशमा केही होला होला जस्तो लागेको छ । गोदगादतन्त्र खासगरी राजनीतिक दलका कार्यकर्ताहरूद्वारा विकास गरिएको मौलिकतन्त्र हो । नेपाली मौलिकता बोकेको गोदगादतन्त्रले भनेको छ– पत्रकारलाई गोद्ने र पत्रिकाको कार्यालयमा ठोक्न पनि नपाए जाबो राजनीतिक दलको कार्यकर्ता भएको के नै अर्थ भयो र ? त्यसैले राजनीतिक दलमा लागेपछि ठोक्न, गोद्न र लुट्न पाउनुपर्दछ । निम्जालाई ठूलाले भौतिक रुपमा गोदगाद गर्न पाउने स्वतन्त्रता नै साँचो अर्थमा स्वतन्त्रता हो, जाबो बोल्ने लेख्ने स्वतन्त्रता के स्वतन्त्रता ? मानिस स्वतन्त्र जन्मन्छ र पछि बन्धनमा जकडिन्छ भन्ने महान् दार्शनिक रुसोको भनाइ छ । तर हाम्रा राजनीतिक दलका महान् कार्यकर्ताले रुसोको यो भनाइलाई चुनौती दिँदै भरपूर स्वतन्त्रताको उपभोग गरिरहेका छन् । गोद्ने ठोक्ने, वा वा ! क्या स्वतन्त्रता । यो सबै गोदगाद सिद्धान्तको करामत हो । विश्वलाई नै चकित पार्ने स्वतन्त्रताको उपभोग गर्न पाउनुपर्छ हाम्रा दलका कार्यकर्ताहरूले । न त्र के को कार्यकर्ता ? गोदगाद सिद्धान्तले यसै भनेको छ ।
नेपालमा २००७ सालमा प्रजातन्त्र आयो, तर लामो समय टिकेन । फेरि २०४६ सालमा अर्को जनआन्दोलन भई परिवर्तन भयो तर त्यो पनि काम लागेन । २०६२/०६३ मा फेरि अर्को आन्दोलन भयो । यो जेनतेन धानिँदै छ । विगतको अनुभव हेर्दा हरेक परिवर्तनले गोदगाद स्वतन्त्रताको उपभोग गर्न नदिएको कारण विगतका परिवर्तनहरू दिगो हुन नसकेको देखिन्छ । त्यसैले परिवर्तनलाई दिगो बनाउने हो भने गोदगाद संस्कृतिलाई बढावा दिनैपर्छ । पछिल्लो परिवर्तनले गोदगाद संस्कृतिलाई राम्ररी बढवा दिएको हुँदा मलाई लाग्छ अबको परिवर्तन चाहिँ अवश्य टिक्नेछ ।
हुन त हामीले विगतमा भन्दै आएको कुरा के हो भने स्वतन्त्रतामध्ये सबैभन्दा ठूलो स्वतन्त्रता अभिव्यक्ति स्वतन्त्रता हो । तर यो भनाइमा रत्तिभर सत्यता छैन । नेपालको सन्दर्भमा यसमा करेक्सन नगरी सुखै छैन । यसैले सबैभन्दा ठूलो स्वतन्त्रता भनेको गोदगादको स्वतन्त्रता हो भन्ने मान्यताको विकास हुनुपर्दछ । यसका लागि अब अभिव्यक्ति स्वतन्त्रताको माध्यम पत्रपत्रिका र पत्रकारलाई गोद्न पाउनुपर्छ । राजनीतिक दलका कार्यकर्ताले प्रेसमाथि धावा बोल्न पाउनुपर्दछ । त्यस्ता कार्यकर्ताले राजनीतिक संरक्षण पाउनुपर्दछ । हामीले यो संस्कृति विकास गर्दै जाऊँ, भविष्यमा विश्वले पनि हाम्रो अनुसरण गर्नेछ ।
अहिले देश संविधान निर्माणको चरणमा छ । ठीक यही समयमा आएर हामीले यो गोदगाद संस्कृति र मान्यताको विकास गरेका छौँ । अब यो गोदगाद मान्यतालाई हाम्रो संविधानको निर्देशक सिद्धान्तमा समेटिनुपर्दछ । हाम्रो संविधानको मुख्य आधार आयातित होइन मौलिकता हुनुपर्दछ । हाम्रो मौलिकता भनेको अभिव्यक्ति स्वतन्त्रतामाथि गोदगाद संस्कृतिको धावा हो । गोदगाद सिद्धान्त संविधानमा समेटियोस । गोदगादतन्त्र जिन्दावाद् !
Subscribe
Login
0 Comments
Oldest









































