साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बलिका सामु विज्ञानकी दुहाई

Nepal Telecom ad

जसलाई बलिको बोको बनाए पनि र जो बलिको बोको बने पनि अब बन्ने बेला आयो । भगवान्सँग चाहेको कुरा माग्नुपरे बलि भाकल गरे हुन्छ । त्यसैले होला हाल बलिको बहार आएको छ र मुलुक नै बलिमय भएको छ । बलिको अनावश्यक बद्ख्वाईं गर्नु दैवविपरीत पर्नु हो । त्यसैले कसैको छलछाममा नपरी र कसैलाई पक्षपात नगरी इष्टमित्र, साथीभाइ, छरछिमेक कुलकुटुम्ब, नसनाता, खरखेताला, हावीजावी आदि इत्यादि सबैलाई भन्नै मन लाग्यो ।

बलि भन्ने शक्तिशाली शब्दको उत्पत्ति बलवान् दैवकै मृदुभाषी कण्ठबाट भएको हो । चराचर जगत्को उद्धार गर्न अपरिहार्य भएर होला बलि प्रथाको प्रचलन आयो । नत्र रुगाखोकी, झाडापखाला, गोलागानो, वायुगानो, कमलपित्त, रक्तअल्पत्ता, रक्तस्राव, हाडनसा, पेट खस्ने, पेट बस्ने, चर्मरोग, धर्मरोग, स्त्रीरोगका साथै बाल, वयस्क र वृद्धरोग समेतको अचुक औषधि बलि हुँदैनथ्यो । वनझाँक्री औषधालयले दिएको ओखतीसमेत असफल गराउने बलि नै हो ।

बलिका लागि कान लुटे नभएको, स्यालले जुठो नलाएको, झाडावान्ता नलागेको, हरियो घाँस हल्लाउँदा म्याँट्याट्या म्याँट्याट्या गर्दै पछिपछि लाग्ने र हप्काउँदा परपर भाग्ने गुणले युक्त निख्खर कालो या सेतो बोको अब्बल दर्जाको मानिन्छ । सक्नेले सकेसम्म एक सय आठ र नसक्नेले चार पाउको एक भन्दै निग्रह गरेझैँ एउटैलाई एकसय आठ मानेर मन्दिरमा मार हाने हुन्छ । मन्दिर टाढा भए, स्याउला गाडेर थानथपना बनायो, फूलपाती र अक्षताले पूजा गर्यो । लौ परमेश्वरी प्रसन्न हुनुपर्यो भनेर एक लोटा पानी टाउकामा खन्यायो । चिसो पानी पर्नासाथ बाख्राको छोरो बोको न हो, पर्सिएर बलि हुन स्वीकृति दिइहाल्छ ।

तपाईं बलिप्रति विश्वस्त भएर बलिमय व्यवहार गर्दै हुनुहुन्छ ? हुनुहुन्छ भने सोझै विद्वान्का वर्गमा पर्नुभयो । हैन भने तपाईं मूर्ख मनुष्यमा झर्नुभयो । बलिका शक्तिले मसान जगाउँछ र बोक्सी बकाउँछ । दैव फकाउँछ र काल भगाउँछ । गाथगादीलाई चिरस्थायी गराउँछ । धनधान्यले भरिपूर्ण पार्छ । बाढीपैह्रोबाट जोगाउँछ र दौलत भोगाउँछ । वषौँ बिग्रिएर थन्किएको विमान पनि बोकाको बलि च्याट पार्नासाथ आकाशमा चरा उडेझैँ भुर्र भुर्भुराउँदै उड्छ । कुनै कुहिएका र मक्काएका इन्जिनको मर्मत गर्नै पर्दैन । यदि हैन भने नागरिकलाई हावामा उडाउने नागरिक उड्डयन मन्त्रीलाई सोधे हुन्छ । कसोकसो उडिसकेको जहाज पनि बलिको प्यासले पटकपटक फर्किएर आयो । बलि नखाई त मरिगए मान्दै मानेन । आखिर “बलिका सामु विज्ञानकी दुहाइ” भएरै छाड्यो ।

तपाईंलाई पक्कै लाग्यो होला हुनेले त बलि दिएर आफ्नो मनकाङ्क्षे पूरा गर्छन् । तर हामी जस्ता नहुनेले चाहिँ के गर्ने ? तपाईं पटक्कै धन्दा नमान्नोस् । म पनि सरासर तपाईंकै कित्ताको मान्छे हुँ । हामीजस्तालाई पुण्य कमाउन कुनै कठिन छैन । नसक्ने निम्छराले निहुरिएर बलि हुने र सक्ने शक्तिशालीले बहादुरी देखाउँदै बलि दिने । साँच्चै भन्या पशुबलिभन्दा उच्च नरबलि हो । देवदूतहरू देवलोकमाथि बस्छन् र रमिता हेर्छन् । बलि जात्राको लेखाजोखा गर्दै पाप र धर्मको कर्म ककसले कतिकति गर्यो छुट्याउँछन् र माथिबाटै कर्मअनुसारको फल फुत्रुक्क फुत्रुक्क झारिदिन्छन् । धर्म न कर्म लाज न सर्मको समरस्वाँठले अर्थ न बर्थसँग फूलपाती चढाउँछन् र सरासर आफ्नो बाटो लाग्छन् । अलिअलि भए पनि धर्मको मर्म बुझेर कर्म गर्नेले हल्का लाठीचार्ज र घुस्साघुस्सी पाउँछन् । त्योभन्दा बढी धर्म गर्न नसक्नेको अङ्गभङ्गसम्म भएर सधैँभरि सुकला र बसला हुन्छ । बलि नै बन्न सक्ने उच्चकोटीका धर्मात्माको सरासर वैकुण्ठकै बास हुन्छ । लौ, वैकुण्ठबासको साहस बटुल्दै आजैबाट बलिवादी बनाैँ है ।
हाल, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भो लेख्दिन अब

भो लेख्दिन अब

हरिकला उप्रेती
बहुवाद जिन्दावाद

बहुवाद जिन्दावाद

हरिकला उप्रेती
मै छोरी सुन्दरी !

मै छोरी सुन्दरी !

हरिकला उप्रेती
भानुभक्त

भानुभक्त

हरिकला उप्रेती
गोर्खेलौरी

गोर्खेलौरी

हरिकला उप्रेती
जरूरी सूचना

जरूरी सूचना

हरिकला उप्रेती
0
Would love your thoughts, please comment.x
()
x