साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गिरगिर

Nepal Telecom ad

खाडी देशको माटो टेकेकै दिन ‘गिरगिर’ शब्द सुनिन थाल्छ । ‘गिरगिर’ शब्दको माने ‘किचकिच’ हो । उता हाम्रो देशतिर कराएर, गाली गरेर कसैको सातो लिनुलाई ‘किचकिच’ भनिन्छ तर कसैलाई धम्क्याएर, झाँको झारेर थुरथुर पार्नुलाई यतातिर ‘गिरगिर’ भनिन्छ । पहिले नै खाडीमा पसिना बगाएर पानी खाइसकेका भुक्तभोगीहरूलाई ‘गिरगिर’ शब्द नौलो होइन तर पहिलोचोटी यताको सफरमा आएकाहरूलाई ‘कौतुहलको कोलाज’ भएर ‘खजुरको रुख’ ठिङ्ग उभिएजस्तै बाटो छेकेर उभिन्छ ‘गिरगिर’ शब्द । जीवनमा ‘मिनिङ्ग’ थाहै नभई मान्छेले अनेक शब्द सुन्छ, उच्चारण गर्छ । त्यस्तै यता खाडीमा खोस्रिन आएका कामदारहरूले ‘गिरगिर’ शब्दको असली माने थाहै नपाई सुन्न थाल्दछन् । जसै दिनहरू यताको बसाइमा लम्बिन्छन् ‘गिरगिर’ सहने बानी लाग्दै जान्छ ।
खाडी खसेको भोलिपल्ट ‘राम्रैसँग आइपुगेँ’ भन्नलाई फोनमा ‘हेल्लो’ भनिनसक्दै ‘साहुले ‘किचकिच’ गरेर मार्न लागिसक्यो, पैसा चैँ बेलैमा पठा है नानी’ भन्ने नम्र ‘गिरगिर’ सुरु हुन्छ । पहिलो सेलरी थापेर गन्न नभ्याउँदै दैलोमा उभिएर स्वास्नीले फोन्छे, ‘कान बुच्चै भएको छ, एकजोर मुन्द्रा हाल्न पाए हुन्थ्यो । ऋण त पछि तिर्दै गरौँला, यसो एक तोला सुन आउने पैसो पठाइदिनुस् ।’ स्वास्नीको यो ‘हुकुमी गिरगिर’ सुनिनसक्दै चेलीबेटीको ‘घुक्र्याउनी गिरगिर’ सुन्नुपर्छ । दिदी भन्छिन्, ‘मेरो भाइ भनेको तैँ त होस् नि । अरुको त कुरो छोड्दे, तेरै मात्र आस छ । भाञ्जाले ‘बिजुली साइकल’ भनेर घरै उचाली सक्यो । ए मेरो भाइ, पठाइदेन गोडातिसेक हजार ।’ दिदीलाई ‘हुन्छ, पठाइदिन्छु’ भनेर थपथप्याई नसक्दै अर्की बहिनीको मिस्डकल’को ‘नोटिफिकेसन’ले ‘इरिटेसन’ बनाउँछ । ‘के परेछ त’ भनेर फोन्दा बहिनी भन्छे, ‘दाजु, अहिले माइत आएकी छु । भाञ्जाको हातमा एउटा भए पनि बाला बनाइदिने दाम पठाइदे न । पहिलोचोटी आएको भाञ्जालाई ‘रित्तै’ पठाउँदा ‘तिमेरकै नाक’ जाने हो । तीनभाइ मिलेर यत्ती गर ।’ बहिनीको ‘आग्रह गिरगिर’ सुनेर ‘अर्को महिनासम्म पर्खी, पठाइदिउँला’ भनेर फोन काटिनसक्दै ‘कल वेटिङ’ भएर भाइको नामको कल देखिन्छ । भाइको आइफोन र ल्यापटप पठाइदिनुपर्ने ‘गिरगिर’ सुनेपछि काम गर्ने जाँगर बालुवासँगै उड्छ । यसरी पैसा माग्ने ‘गिरगिरे’ कल आउँदा कत्तिलाई त काल आए जस्तै लाग्दो हो ।
‘गिरगिर’ गर्नेहरू पनि देशदेशान्तरमा फैलिएका छन् । सामाजिक सञ्जालले त धेरैलाई बेहाल बनाएको छ । एकदिन फेसबुकमा छिर्ने बित्तिक्कै फुपूकी नातिनीको ‘गिरगिरभरे म्यासेज’ आयो, ‘मामा, त्यतातिरबाट यता नेपालतिर मोवाइलबाट ‘ब्यालेन्स ट्रान्सफर’ गर्न मिल्छ अरे, यो भाञ्जीलाई दुईचार हजार ट्रान्सफर गरिदिनु न ।’ अर्का एक नातेदारले ‘फूलको झारले रेटे’ जस्तै गरी ‘गिरगिर’ गर्न थाले, ‘तपाईँ त मालामाल पैसो कमाउनु हुन्छ रे । ‘चाँदी कटाइ’ छ रे तपाइँको । हाम्लाई पनि यसो सके भिषा नसके ‘डो’ पठाइदिए खाएर भाग्ने थिएनौ, आएर तिर्ने थियौँ ।’ अर्का एकजना ‘ओल्ड इज गोल्ड’ साथीले फेसबुकको वालमै प्वाल पर्नेगरी ‘खबरदारी गिरगिर’ लेखेछन्, ‘के हो मित्र, पैसाको मुख देखेपछि बैँसको साथी पनि चिन्न छोडियो ? हाइहेल्लोसम्म छैन होइन ? खाएर पचाएर नतिर्ने त होइनौ नि हामी पनि, बेलामा तिर्ने थियौँ । ‘साउँब्याजै हानेर हिँड्ने’ सोचियो कि के हो ? एउटा माघले जाडो जान्छ भने जाओस् ।’ अर्की एउटी इजरायलतिरकी ‘केयरगिभरे सोल्टिनी’ले भित्ताको फोटोमा ‘गिरगिरे कमेन्ट’ हानिछन्, ‘कमाउने भएपछि परिवर्तन भइएछ नि सोल्टीज्यू । हामीलाई ‘कुकाठै’ ठान्न थाल्नु भो त । तपाईंको भन्दा त हामी नै बेसी कमाउँछौँ त । तर पनि हामीमा घमण्डको ‘घ’ पटक्कै छैन । तपाइँले चैँ यसरी किन चटक्कै माया मार्नु भएको ?’
बाउपट्टिका, साहुपट्टिका, ससुरालीपट्टिका, मावलीपट्टिका र आफैँपट्टिका नातेदार र साथीभाइको ‘गिरगिर’को जवाफ दिएर वाक्क, दिक्क र हारदिक्क नहुने यो खाडीमा कोही भेटियो भने त्यो ‘नमुना’ हो । तर त्यही ‘नमुना’ले पनि फोरम्यानको, एकोमोडेसन इन्चार्जको, स्टोरकिपरको, चार्जेन्टको, ड्राइभरको, सुपरभाइजरको, एकाउन्टेण्टको, इन्जिनियरको वा मुदिरको ‘गिरगिर’ सुनेकै हुन्छ, सहेकै हुन्छ । खाडी आएको मान्छेले बरु ‘खब्बुस’ र ‘खजुर’ नखाला ‘गिरगिर’ खाएकै हुन्छ ।
तर यता ‘भिमु– भिजेको मुसो’ भएर अठार घण्टा घोटिँदाको पीडा अनुभव गर्ने र गर्मीमा तल र माथिको तातोले लखतरान पारेर शरीर खाएको देखेर मनको बह बुझ्ने कोही छैन । चिनारुहरू जस्लाई पनि पैसो चाहिएको छ र नै होला यता हुनेहरूले ‘गिरगिर’ पाइएको छ । फर्किएर घर जानेहरूलाई पनि पँधेरोमा ‘अँधेरो मुख लाउने गरी’, चौतारी र चिया पसलमा ‘उल्टी आउने गरी’ कुरा काटेर ‘गिरगिर’ गरेको भोगेर आउनेहरूको ‘कथा’ सुनिनसक्नुको छ ।
हाल : खाडी मुलुक

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x