मिलन तिमल्सिनाअरुका ‘लभ’ स्कुल र वनमा…
छ कक्षामा पढ्ने माथ्लोघरको भतिजसँग उसको बाबुको साथमा काठमाडौं आउँदा भेट भयो । बाबुले नसुन्ने गरी मलाई सुटुक्क सोध्यो, ‘अङ्कल भिलेन्टाइन डेमा के गिफ्ट दिनुपर्छ लभरलाई ?’ म झसँग भएँ । तेरो पनि लभर छ ? ‘छ नि… तर बाबालाई नभन्नु है ।’
सानो भतिजको कुरा सुनेर म तिरिमिरी झ्याईं नै भएँ । आफ्नो लभ कसरी पर्यो र कसरी सकियो भन्ने राम्रोसँग भेउ पाउन सकेको छैन । छ कक्षामा पढ्ने भतिजले लभ गर्न थालिसक्यो । लभ मात्रै हो र, डेट पनि भेट पनि । अझ हाम्रो लभ परेको छ, ऊ मेरो लभर भनेर चिनाउने दिन समेत आइसक्यो ।
उबेला हाम्रो जमाना अर्कै थियो । कक्षाभित्र केटाकेटी एउटै बेन्चमा बस्न पाईंदैनथ्यो । केटाका लागि छुट्टै बेन्च । केटीका लागि छुट्टै बेन्च । कहिलेकाहीँ छुस्स छोइहाल्यो भने पनि झस्कनुपर्ने । हात मिलाउन त के छुन समेत पाईंदैनथ्यो । स्वास्थ्य पढाउने सरले प्रजनन स्वास्थ्यको कुरा पढाउँदैनथे । घरमा आफैं पढ्नु भन्थे । केटाले केटीलाई र केटीले केटालाई हेर्न समेत पाईंदैनथ्यो । गोठालो जाँदा मन परेको छिमेकीसँग यसो कुरा गरेको ओल्लोघरे पल्लोघरेले देखे भने पनि पँधेरोमा कुरा काट्ने मसला बनाउँथे ।
पहिले पहिले गाउँमा मेलापात, जात्रामात्रा, गोठालो जाँदा लभ पर्दथ्यो । छिमेकका सँगसँगै गोठालो जाँदा कहिले यसको बाख्रा हराउँथ्यो, कहिले उसको गाई हराउँथ्यो । हराएका गाईबाख्रा खोज्न सहयोग गर्नुपर्दथ्यो । तल्लो घरकी च्यान्टी वनमा घाँस काट्न जाँदा रुख चढ्न सक्दिनथी । माथ्लाघरे प्यान्टेले घाँस झारिदिन्थ्यो । घाँसदाउरा, गाईगोठालो र वनपाखा जाँदाजाँदै प्यान्टे र च्यान्टीको माया पिरिम झाँगियो ।
स्कुलमा राम र सीता एउटै कक्षामा पढ्थे । रामलाई सीता मन पर्ने, सीता वास्ता नगर्ने । एकदिन अर्धवार्षिक परीक्षामा जाँच दिँदादिंदै सीताको डटपेनमा मसी सकियो । रामले काम दिन्छ भनेर एउटा छुट्टै डटपेन बोकिरहन्थ्यो । त्यो दिन सीतालाई आपद पर्यो भन्ने उसले थाहा पायो । हत्तपत्त डटपेन दियो । अरुलाई चाहिएको भए किन दिन्थ्यो र ? आपदमा सहयोग गरेको मान्छे, त्यसपछि सीताले रामलाई मन पराउन थाली, दुवैको लभ पर्यो ।
लभ पर्न केही न केही त जुर्नुपर्यो । कि मन मिल्नुपर्यो । दुवैले दुवैलाई मन पराउनुपर्यो । तर दुवैलाई मन पराउने दोहोरो भन्दा एकोहोरो लभ धेरै हुन्छ । आफूलाई ऊ मन परेको हुन्छ । तर उसले बालमतलव दिने होइन । उसलाई पट्याउन, उनलाई फकाउन मरिहत्ते गरेर लाग्यो । कहिले बाटोमा कुरेर बस्यो । कहिले पँधेरामा सँगै गयो । कहिले किताब माग्यो, कहिले नोट माग्यो । कहिले कलम दियो, कहिले कलम माग्यो । कहिले खाजा दियो, तैपनि बालमतलव दिने होइन । तर कसरी कसरी कोहीसँग लभ चाहिँ परिहाल्छ ।
लभ पर्दैन भन्दा पनि कहिलेकाहीँ लभ पर्छ । कहिले चाहिँ लभ परोस् भनेर अनेक जुक्ति लगायो तैपनि पर्दैन । बिहे नभएकाले त लभ गरे गरे । तर विहे गरेका, घरभरी छोराछोरी भएकाहरू समेत लभ गरि हिँड्छन् ।
श्रीमानको आँखाकान छलेर श्रीमतीले, श्रीमतीको आँखाकान छलेर श्रीमानले लभ गरेर हिँडेको तपाईं हामीले धेरै ठाउँमा देखेभोगेकै हो क्यारे । कथमकदाचित थाहा भै हाल्यो भने संग्राम हुन्छ । आफ्नो हुँदा चाहिँ टेन्सन नहुने । तर श्रीमानको या श्रीमतीको पनि अर्को या अर्की छ भन्ने थाहा हुँदा चाहिँ तनाव हुने । अचम्म !
लभ पनि उमेर अनुसार फरक फरक हुन्छ । बृद्धबृद्धाको पनि लभ पर्छ । कसरी त रु व्यङ्ग्य कवि चट्याङ मास्टरको यो कविता हेरौँ न–
छोरा बुहारी जागिर खान गए
नाति नातिना स्कुल पढ्न गए
यता घरमा बुढो दिनभर एक्लै व्याकुल छ
उता पल्लाघरे बुढीको पनि त्यहीँ हाल छ ।
परिवार ठूलो छ, बुढो एक्लै छ
इस्टमित्र धेरै छन्, बुढी एक्लै छ ।
बुढो उता जान मिलेन, बुढीका सन्तान छन्
बुढी यता आउन मिलेन, बुढाका सन्तान छन् ।
राती झ्याल खोलेर बुढो ख्वाक्क खोक्छ
उता बुढीको कोठामा बत्ती ट्वाक्क बल्छ
बुढो हत्तपत्त चस्मा खोज्न थाल्छ
बुढी हत्तपत्त गिलासको दाँत मुखमा कोच्न थाल्छिन् ।
दाँत कोचिसकेर बुढी ‘हे कृष्ण’ भन्छिन्
चस्मा लगाई सकेर बुढो ‘राधे राधे’ भन्छ
उता कृष्ण कृष्ण यता राधे राधे
भजनमै बिते रात सबै कस्ट भागे ।
लौ हेर्नुहोस् त लभको कमाल । के केटाकेटी, के बुढाबुढी, के विवाहित, के अविवाहित जसले पनि लभ गर्ने, लभ गर्न खोज्ने, लभ पर्ने । काठमाण्डूमा त अझ लभ गर्ने ठाउँ लभस्पटको समेत अभाव छ । मन्दिरमा जाऔं भने त्यहीँ मन्दिरको झ्यालढोका र दलिनमा देवीदेवताका भयंकर लभ देखिन्छ । उनीहरूको ‘डिप लभ’लाई के डिस्टर्ब गर्ने । अन्त जाउँ ठामै छैन । एकपटक केशव स्थापितले लभ पोइन्ट बनाउँछु भन्थे । विचरा उनी आफैं विस्थापित भए । स्थापितलाई स्थापित गराउन पाए लभ गर्नेहरूको फलिफाप हुन्थ्यो कि ।
उज्यालो अनलाइनबाट
Subscribe
Login
0 Comments
Oldest









































