साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फेसबुकमा हरियो सारी र फुलेको दारी !

Nepal Telecom ad

 height=पुलिस चौकीमा केस नपर्दासम्म र घरको चौकोसमा ठेस नलाग्दासम्म कुर्सीमा अढेस लागिलागि फेसबुक चलाउने बानी लागिहाल्यो । {{read_more}}

नानीदेखि नै मोबाइलमा चल्ने र कुरा छल्ने लत बसेपछि के गरौँ र कसो गरौँ मात्रै भैरहने ! आफ्नो फेस र भेष आफैलाई मन नपरेपछि फेसबुकमा अरुको फेस र भेष हेरेर फोटो बिगार्ने चलन पनि नौलो हुन छाड्यो ।

साउन लागेदेखि यता महिलाका हात र पहिरन हरिया हुन थाले, उता फेसबुकमा चाहिँ धेरैको फेस, फेसन र केशले मोबाइलका स्क्रीनमा मानिस चिन्नै नसकिने गरी विरुप भएर देखा परे ।

उहिले वर्षभरि लुतो फाल्ने दिन पर्खेर बस्ने आमाले त्यो चलन बिर्सेर साउने सक्रान्तिका दिन बिहानै हरियो सारी लगाइन् । हातमा हरियै चुरा र निधारमा हरियै टीका थपेर सेल्फी खिचिन् र फेसबुकमा राखिन् ।

दिउँसो छोरीले दुवै हत्केलाभरि मेहन्दी दलिन् र उसैगरी फेसबुकमा टाँसिन् । आमाले श्रीमानको लामो आयूको कामना गरिन् । छोरीले मनमनले प्रेमीसित बाइकमा लङ् ड्राइभ जाने दिन सम्झेर मनमा काउकुती लगाइन् ।

फेसबुकमा आमाछोरी नै को भन्दा को तरुनी देखिने भनेर प्रतिस्पर्धा चलिरहेको देखेर अधवैंशे बाउको मन बैराग्यले भरिन थालेर चाँडै बुढो हुने रहर जाग्यो । बाबुको बैराग्य देखेर तन्नेरी छोरोलाई पनि कपाल र दारी फुलाउन मन लाग्यो । त्यसपछि बाबु र छोराबीच फेसबुकमा फेस बिगारेर को भन्दा को बुढो बन्ने होडबाजी सुरु भयो ।

कपाल फुल्न थालिसकेका बाउको अनुहार त दुई चार दिनमै हुने यस्तै हो, नौलो भएन । फेसबुकले नदेखाए पनि केही दिनमा अरुले उनको चाउरे अनुहार देखिहाल्छन् । मान्छे बुढो उमेरमा बुढै भएछ भनेर बुझिहाल्छन्, चिनिहाल्छन् । तर २५(३० वर्षको लक्का जवान छोरोलाई पनि फेस बिगारेर बनाएको ८०(९० वर्षको चाउरिएको र खुइलिएको अनुहार अहिल्यै देखाउने अचम्मको सोख जाग्यो ।

तन्नेरीलाई साउन लागेपछि यस्तो सोख नजागोस् पनि किन ? सरकारले दिने भनेको बेरोजगार भत्ता आउने भर छैन, रोजगार बन्ने आफ्नो क्षमता छैन । बुढो हुनासाथ वृध्द भत्ता पाइन्छ । त्यसमाथि साउनदेखि त सरकारले महिनाको १ हजार वृद्धभत्ता पनि बढाएको छ । चाँडै बुढो हुनुमा बेफाइदा छैन, फाइदै फाइदा छ ।

तन्नेरी उमेरमा कोर्सबुकमा भन्दा बढ्ता ध्यान फेसबुकमा छ । कोर्सबुक छाडेर फेसबुकमा रमाउन थालेपछि जाँचमा राम्रो नम्बर आउँदैन । जाँचमा राम्रो नम्बर नआएपछि भनेजस्तो जागिर पाइँदैन ।

बाबुबाजेले जोडेको जग्गाजमिन सिध्दिन लागिसक्यो । अलिअलि भएको पनि बाँझै छ । बाँझो जग्गा खनेर खेती गर्न अल्छी लाग्छ । अनि जागिर पनि नपाइने, खेती गर्न पनि अल्छी लाग्ने भएपछि केही न केही उपाय त गर्नै पर्यो । सबैभन्दा सजिलो उपाय भनेको सरकारको भत्ता लिने हो । अनि बेरोजगार भत्ताको भर नभएपछि त वृद्धभत्ता नै पर्खनुपर्यो । तर वृद्ध हुने कहिले कहिले ?भत्ता पाउने कहिले कहिले ?

वृद्ध हुने उमेरसम्म पर्खनुको सट्टा अहिले नै फेसबुकमा बुढो भएको देखाएपछि त सरकारले केही न केही गर्छ कि ! किनकि दुई तिहाइको बलियो सरकार पनि फेसबुक नहेरी गम्भीर निर्णय गर्दैन । फेसबुकमा विरोध नहुँदासम्म चुप लाग्छ । फेसबुकमा विरोध आएपछि आफ्नो काम र निर्णय सच्याउँछ ।

फेसबुकबाटै नागरिकको धारणा बुझ्छ । फेसबुकमै नागरिकको फेस हेर्छ । फेसबुकभरि सबै बुढो देखेपछि पक्कै सबैलाई वृद्धभत्ता बाँड्छ । अहिलेदेखि नै वृद्धभत्ता पाउन थालेपछि दुःख गर्न पर्दैन । दिनरात फेसबुक नै चलाएर बस्न पाइन्छ । भत्ता नपाउँदासम्म आफूलाई बुढो देखाइन्छ, भत्ता बुझिन्छ । भत्ताले पुगेपछि फेरि जवान देखाइन्छ, लाइन मारिन्छ ।

दिमागमा यही भरिएपछि अधवैंशेदेखि जवान ठिटाहरुसम्मले आफ्नो कपाल फुलाए । घरका मान्छेले समेत चिन्न नसक्ने गरी फेसबुकमा फोटो बिगारे । तर सरकारले हेर्नुभन्दा पहिले अरुले नै फेसबुकभित्र फुलेको कपाल र चाउरेको छाला केलाएर नालीबेली थाहा पाउने डर बढ्यो । फेस एपमा ठेस लाग्ने डर बढेपछि बल्ल छँदाखाँदाको उमेर छोपेका तन्नेरी बुढाहरु पुरानै जवानीमा फर्केका छन् ।

केही दिन फेसबुकमा फुलेर चिन्न नसकेका बाउलाई बल्ल आमाले चिन्न थालेकी छन् । फुलेको र चाउरिएको फोटो देखेर ठिटोलाई ब्रेकअप गर्नै लागेकी प्रेमिका होसमा आएकी छिन् । बाउ र छोरोलाई बुढो हुने रहर जागे पनि आमा र छोरीलाई चाहिँ बुढी देखिने मन लागेन । कारण प्रष्ट छ । भर्खर सुरु भएको साउनको महिना । भर्खर लगाएको मेहन्दी, चुरा र सारी । हरियो सारीमा बुढी भएको सुहाउँदैन । चाउरी परेको छालामा मेहन्दीको रङ्ग खुल्दैन । त्यसैले त आमा र छोरी हिजो पनि तरुनी, आज पनि तरुनी । बावु र छोरा केही दिन बुढा, अहिले फेरि तन्नेरी ।

बाका दारी फेसबुक एपमा भन्दा पहिल्यै फुलेका हुन् । तर दारी फुले बा पनि अझै आफूलाई जवान ठान्छन् । डण्डीफोरले हेरिनसक्नुको विरुप छोरो पनि आफूलाई ह्याण्डसम ठान्छ । आमा र बाको त झन् के कुरा गर्नु । आमा हरियो सारीमा मख्ख, बा फुलेको दारीमा ढकमक्क !

उज्यालो अनलाइन
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
फेसबुकमा हरियो सारी र फुलेको दारी !

फेसबुकमा हरियो सारी र...

मिलन तिमल्सिना
नेताजीको म्याद

नेताजीको म्याद

मिलन तिमल्सिना
मलाई मनपर्ने दलको दाल

मलाई मनपर्ने दलको दाल

रामप्रसाद अर्याल ‘अविराम’
माथिको आदेश

माथिको आदेश

राजेन्द्र पुडासैनी
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x