साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गुन्द्रुकको झोलमा मुसा !

खुरुखुरु ग्यास पाउने भए म हिजोको लागि हिजै र आजको लागि आजै भात तरकारी पकाउँथे । मुसा त मर्दैन थियो ।' मनमनले सरकारलाई सराप्दै कराई उचालेर बाहिर निस्किन् ।

Nepal Telecom ad

मिलन तिमिल्सिना :

बूढा कुखुराको भाले नबास्दै काम गर्न जान्छ । काम गर्ने ठाउँमै भात । त्यसैले बिहान भात खाने उनी एक्लै हो । केही महिना अहिलेसम्म त बासी भात पनि के खानु भनेर उनी आफू एक्लैलाई भएपनि दाल, भात, तरकारी, अचार बनाउथिन् । दिउँसो कामबाट फर्किन बुढालाई समेत राखेर आफ्नो भाग खान्थिन् ।

तर हिजोआज सबैको जस्तै उनको पनि लवाईखवाई र दैनिकी फेरिएको छ । बेलुका बुढाबुढीलाई भात पकाउँदा भोलिपल्ट बिहान आफूलाई समेत पुग्नेगरी दुईमुठी चामल र चार त्यान्द्रा गुन्द्रुक थप्छिन् । भात राइसकुकरमा पकाउछिन् । गुन्द्रुक चाहिँ ग्यास सिलिण्डरमै उमाली रहेकी छिन् । बुढाले राइसकुकरमा पनि गुन्द्रुक पकाउन मिल्ने रैछ भनेको थियो। काम गर्ने ठाउँमा उसले यसैगरी पाकेको गुन्द्रुक र भात खाने गर्छ । तर कोठामा राइसकुकरमा मिल्ने प्लग नभएकाले उनले बिजुलीमा तरकारी पकाउन सकेकी छैनन् ।

भात पकाउँदा त चामल र पानी राखेर बिर्को लाइदियो, अनि प्लग मात्रै जोडेर छोडिदियो । तर तिउन तरकारी पकाउँदा त नुन, भुटन, बेसार, मसला सबैथोक राखेर बेलाबेला चलाउदै छोप्दै गर्नुपर्यो । त्यसैले राइसकुकरमा तिउन तरकारी पकाउन उनलाई अप्ठेरो छ । भात पकाउँदा चाहिँ राइसकुकर उचालेर तल भर्याङमुनिसम्म ल्याउने, लाने गरेकी छिन् । त्यहाँ चाहिँ बिजुलीको प्लग छ ।

वरपरकाले त बिजुलीको ओदान अर्थात इन्डक्सन चुल्हो ल्याएर खाना पकाउन थालेका छन् । ‘खाना पकाउन पनि सजिलो, हिसाब गर्दा ग्यास भन्दा सस्तो पर्ने रहेछ’ पल्लोघरकी काकीले भनेको उनले सुनेकी थिइन् । ल बुढा हामी पनि इन्डक्सन ल्याउन पर्यो भनेर धेरै भनिन् । तर बुढाले चलुञ्जेल यस्तै गरौं, सकिएपछि ल्याउँला भनेको छ । बुढाले इन्डक्सन चुल्हो ल्याउला र वरपरकासँग गफ मिल्नेगरी भात पकाइएला भन्ने उनलाई विश्वास छैन ।

जेठमा फेरेको ग्यास सिलिण्डरले अझै काम दिइरहेको छ । पहिला पहिला तीन/चार महिनालाई पुग्थ्यो । अहिले छ महिना हुँदासम्म एकछाक गुन्द्रुक उमाल्न पुगेकै छ । पहिले पो बिहानको भात बुढाले पनि घरमै खान्थ्यो । अहिले एकछाक त बुढाले बाहिरै भात खान्छ । त्यसमाथि यसपाली धेरै दिन माइत पनि बसियो। त्यसैले वरपरकाले मकैको ढाँड र ग्याँस खोया बालेर धुवाँ उडाउँदै भात पकाउँदा उनले अहिलेसम्म आगो फुक्न परेको छैन। यसैगरी भात पकाउने हो भने हलुंगो हुँदै गएको सिलिण्डरले अझै केही दिन धान्नेमा उनी ढुक्क छिन् ।

भात तरकारी पकाउनु छैन, कसैले चाँडो किन नउठेको भनेर गाली गर्ला भन्ने पनि छैन । न उठेर पानी पँधेरो र घाँस भकारो गर्न परोस् । न बालबच्चालाई खुवाउन पिलाउन नै । त्यसैले उनलाई केही बितेको छैन । बिहान उठेर हिँडेको बुढाले आधा काम भ्याइसक्दा उनी ओछ्‌यानमै छिन् । भएन अब त तलतिरका, वल्लोपल्लो घरका पनि उठेर खैलाबैला गर्न थालिसके भन्दै उनी जिउ तन्काउँदै उठिन् । हात मुख धोइन् । अब हिजो पकाएको भात तिउन तताएर खान पर्यो भनेर भान्सामा पुगिन् । बेलुकी गुन्द्रुक भएको कराईमाथि राखेको थाल छैन ।

यसो किचन ऱ्याकमुनि हेरेको त थाल मिल्किरहेको छ । ला आज मुसाले यता पनि भ्याएछ भन्ने उनलाई लाग्यो । हत्तपत्त कराईमा हेरेको त, गुन्द्रुकको झोलमा त बडेमानको चौटा। छि छि मुसा पो डुबेछ । मुसा पनि सानो हो र। बडेमानको । बिरालोले पनि झम्टन ऑट नगर्ला जस्तो । एकमन त उनले खुच्चिङ पनि भनिन् । यही मुसाले रातभर सुत्न नदिएर हैरान पार्दै आएको छ । कहिले चामल राखेको बोरा खोतलेको छ, कहिले किताब राखेको र्याक र लुगा कोचेको झोला खज्याङ मज्याङ बनाएको छ । रातभर घर्त्याकधुत्रुक गरेर सुत्न दिँदैन । न विष खाएर मर्छ, न लिसोमा टॉसिन्छ । हैरान बनाउँदै आएको मुसा गुन्द्रुकको झोलमा डुबेर मरेछ । खुच्चिङ ठिक्क भयो ।

मुसा मरेकोले खुशी भएर के गर्नु ? अब भात केसँग मुछेर खाने । अलिअलि भएको ग्यास फारो गर्नलाई अहिले भात मुछ्‌ने गुन्द्रुक हिजै बनाएर राखेको । त्यो पनि मुसा डुबेर फाल्न्नुपर्ने भयो । ‘थुक्क सरकार यो के गरेको ?

खुरुखुरु ग्यास पाउने भए म हिजोको लागि हिजै र आजको लागि आजै भात तरकारी पकाउँथे । मुसा त मर्दैन थियो ।’ मनमनले सरकारलाई सराप्दै कराई उचालेर बाहिर निस्किन् । अलि पर लगेर ह्वात्त मुसो र गुन्द्रुकको झोल फालिन् ।

‘ए बिमला के भयो, बिहानै के फालेकी’ तलकी काकीले भनिन् । बिमलाले गुन्द्रुकको झोल र मुसाको चोक्टाको बेलिबिस्तार लाइन् । ‘हिजोको भात त छ अब नुनखुर्सानीसँग खानुपर्ला काकी’ बिमला माथि उक्लिन् । ‘दाल यहाँबाट लैजाउ, मैले पनि आजलाई पुग्नेगरी हिजै पकाएको हो आगोमा, तर मुसा परेको छैन’ काकीले हाँस्दै भनिन् ।

०००
व्यङ्ग्यविनोदी कथाहरू (२०८१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
फेसबुकमा हरियो सारी र फुलेको दारी !

फेसबुकमा हरियो सारी र...

मिलन तिमल्सिना
फेसबुकमा हरियो सारी र फुलेको दारी !

फेसबुकमा हरियो सारी र...

मिलन तिमल्सिना
नेताजीको म्याद

नेताजीको म्याद

मिलन तिमल्सिना
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x