मिलन तिमल्सिनागुन्द्रुकको झोलमा मुसा !
खुरुखुरु ग्यास पाउने भए म हिजोको लागि हिजै र आजको लागि आजै भात तरकारी पकाउँथे । मुसा त मर्दैन थियो ।' मनमनले सरकारलाई सराप्दै कराई उचालेर बाहिर निस्किन् ।

मिलन तिमिल्सिना :
बूढा कुखुराको भाले नबास्दै काम गर्न जान्छ । काम गर्ने ठाउँमै भात । त्यसैले बिहान भात खाने उनी एक्लै हो । केही महिना अहिलेसम्म त बासी भात पनि के खानु भनेर उनी आफू एक्लैलाई भएपनि दाल, भात, तरकारी, अचार बनाउथिन् । दिउँसो कामबाट फर्किन बुढालाई समेत राखेर आफ्नो भाग खान्थिन् ।
तर हिजोआज सबैको जस्तै उनको पनि लवाईखवाई र दैनिकी फेरिएको छ । बेलुका बुढाबुढीलाई भात पकाउँदा भोलिपल्ट बिहान आफूलाई समेत पुग्नेगरी दुईमुठी चामल र चार त्यान्द्रा गुन्द्रुक थप्छिन् । भात राइसकुकरमा पकाउछिन् । गुन्द्रुक चाहिँ ग्यास सिलिण्डरमै उमाली रहेकी छिन् । बुढाले राइसकुकरमा पनि गुन्द्रुक पकाउन मिल्ने रैछ भनेको थियो। काम गर्ने ठाउँमा उसले यसैगरी पाकेको गुन्द्रुक र भात खाने गर्छ । तर कोठामा राइसकुकरमा मिल्ने प्लग नभएकाले उनले बिजुलीमा तरकारी पकाउन सकेकी छैनन् ।
भात पकाउँदा त चामल र पानी राखेर बिर्को लाइदियो, अनि प्लग मात्रै जोडेर छोडिदियो । तर तिउन तरकारी पकाउँदा त नुन, भुटन, बेसार, मसला सबैथोक राखेर बेलाबेला चलाउदै छोप्दै गर्नुपर्यो । त्यसैले राइसकुकरमा तिउन तरकारी पकाउन उनलाई अप्ठेरो छ । भात पकाउँदा चाहिँ राइसकुकर उचालेर तल भर्याङमुनिसम्म ल्याउने, लाने गरेकी छिन् । त्यहाँ चाहिँ बिजुलीको प्लग छ ।
वरपरकाले त बिजुलीको ओदान अर्थात इन्डक्सन चुल्हो ल्याएर खाना पकाउन थालेका छन् । ‘खाना पकाउन पनि सजिलो, हिसाब गर्दा ग्यास भन्दा सस्तो पर्ने रहेछ’ पल्लोघरकी काकीले भनेको उनले सुनेकी थिइन् । ल बुढा हामी पनि इन्डक्सन ल्याउन पर्यो भनेर धेरै भनिन् । तर बुढाले चलुञ्जेल यस्तै गरौं, सकिएपछि ल्याउँला भनेको छ । बुढाले इन्डक्सन चुल्हो ल्याउला र वरपरकासँग गफ मिल्नेगरी भात पकाइएला भन्ने उनलाई विश्वास छैन ।
जेठमा फेरेको ग्यास सिलिण्डरले अझै काम दिइरहेको छ । पहिला पहिला तीन/चार महिनालाई पुग्थ्यो । अहिले छ महिना हुँदासम्म एकछाक गुन्द्रुक उमाल्न पुगेकै छ । पहिले पो बिहानको भात बुढाले पनि घरमै खान्थ्यो । अहिले एकछाक त बुढाले बाहिरै भात खान्छ । त्यसमाथि यसपाली धेरै दिन माइत पनि बसियो। त्यसैले वरपरकाले मकैको ढाँड र ग्याँस खोया बालेर धुवाँ उडाउँदै भात पकाउँदा उनले अहिलेसम्म आगो फुक्न परेको छैन। यसैगरी भात पकाउने हो भने हलुंगो हुँदै गएको सिलिण्डरले अझै केही दिन धान्नेमा उनी ढुक्क छिन् ।
भात तरकारी पकाउनु छैन, कसैले चाँडो किन नउठेको भनेर गाली गर्ला भन्ने पनि छैन । न उठेर पानी पँधेरो र घाँस भकारो गर्न परोस् । न बालबच्चालाई खुवाउन पिलाउन नै । त्यसैले उनलाई केही बितेको छैन । बिहान उठेर हिँडेको बुढाले आधा काम भ्याइसक्दा उनी ओछ्यानमै छिन् । भएन अब त तलतिरका, वल्लोपल्लो घरका पनि उठेर खैलाबैला गर्न थालिसके भन्दै उनी जिउ तन्काउँदै उठिन् । हात मुख धोइन् । अब हिजो पकाएको भात तिउन तताएर खान पर्यो भनेर भान्सामा पुगिन् । बेलुकी गुन्द्रुक भएको कराईमाथि राखेको थाल छैन ।
यसो किचन ऱ्याकमुनि हेरेको त थाल मिल्किरहेको छ । ला आज मुसाले यता पनि भ्याएछ भन्ने उनलाई लाग्यो । हत्तपत्त कराईमा हेरेको त, गुन्द्रुकको झोलमा त बडेमानको चौटा। छि छि मुसा पो डुबेछ । मुसा पनि सानो हो र। बडेमानको । बिरालोले पनि झम्टन ऑट नगर्ला जस्तो । एकमन त उनले खुच्चिङ पनि भनिन् । यही मुसाले रातभर सुत्न नदिएर हैरान पार्दै आएको छ । कहिले चामल राखेको बोरा खोतलेको छ, कहिले किताब राखेको र्याक र लुगा कोचेको झोला खज्याङ मज्याङ बनाएको छ । रातभर घर्त्याकधुत्रुक गरेर सुत्न दिँदैन । न विष खाएर मर्छ, न लिसोमा टॉसिन्छ । हैरान बनाउँदै आएको मुसा गुन्द्रुकको झोलमा डुबेर मरेछ । खुच्चिङ ठिक्क भयो ।
मुसा मरेकोले खुशी भएर के गर्नु ? अब भात केसँग मुछेर खाने । अलिअलि भएको ग्यास फारो गर्नलाई अहिले भात मुछ्ने गुन्द्रुक हिजै बनाएर राखेको । त्यो पनि मुसा डुबेर फाल्न्नुपर्ने भयो । ‘थुक्क सरकार यो के गरेको ?
खुरुखुरु ग्यास पाउने भए म हिजोको लागि हिजै र आजको लागि आजै भात तरकारी पकाउँथे । मुसा त मर्दैन थियो ।’ मनमनले सरकारलाई सराप्दै कराई उचालेर बाहिर निस्किन् । अलि पर लगेर ह्वात्त मुसो र गुन्द्रुकको झोल फालिन् ।
‘ए बिमला के भयो, बिहानै के फालेकी’ तलकी काकीले भनिन् । बिमलाले गुन्द्रुकको झोल र मुसाको चोक्टाको बेलिबिस्तार लाइन् । ‘हिजोको भात त छ अब नुनखुर्सानीसँग खानुपर्ला काकी’ बिमला माथि उक्लिन् । ‘दाल यहाँबाट लैजाउ, मैले पनि आजलाई पुग्नेगरी हिजै पकाएको हो आगोमा, तर मुसा परेको छैन’ काकीले हाँस्दै भनिन् ।
०००
व्यङ्ग्यविनोदी कथाहरू (२०८१)
Subscribe
Login
0 Comments
Oldest








































