बिन्दु दहाल ‘मूकदर्शक’आजको साहित्य
साट्छन् यताउता ती सम्मान मानलाई दिन्छन् मुसुक्क हाँसी साथी ल है बधाई लाग्दैन लाज केही लाटो छ लोक ठान्छ्न् आफैँ छु श्रेष्ठ बाठो ज्ञाता निजै हुँ मान्छन् ।

बिन्दु दहाल मूकदर्शक :
नि:स्वार्थ काम गर्ने मान्छे पछाडि पर्छ
ढाँट्ने र छल्न जान्ने मात्रै अगाडि पर्छ
सम्बन्ध गाँस्छ कोही धागो भएर आफैँ
सम्बन्ध तोड्छ कोही आगो भएर आफैँ ।
छोडेर लेख्न कोही खोजेर हिँड्छ माला
आफ्नै छ ग्याङ छुट्टै रोजेर चाट्छ गाला
विश्वास बेच्छ सस्तै बोकेर हिँड्छ भाला
सुन्दै अचम्म लाग्ने बेकार देख्छु चाला ।
सम्मान माग्छ रोई भन्दै छ झट्ट देऊ
साहित्यमा मनग्यै लाग्दै छ काइलेउ
के के हुँदैछ यस्तो पाइन्न आज भेउ
सोझा इमानदारी लाग्छ्न् किनार छेउ ।
के हुन्छ साधनाले हल्ला गरेर हिँड्छन्
सत्कर्म गर्न थाल्नेलाई अवश्य गिड्छ्न्
सारा मिलेर खुट्टा तानेर झार्न भिँड्छन्
वा वा गरेर हल्ला सक्दो कुतर्क फिट्छन् ।
साट्छन् यताउता ती सम्मान मानलाई
दिन्छन् मुसुक्क हाँसी साथी ल है बधाई
लाग्दैन लाज केही लाटो छ लोक ठान्छ्न्
आफैँ छु श्रेष्ठ बाठो ज्ञाता निजै हुँ मान्छन् ।
आफैँ छ चोर डाँका आफैँ छ बुद्धिमानी
आफैँ छु भन्छ आफैँ ब्रम्हाण्ड तत्त्वज्ञानी
भन्दै छ ऊ मजस्तो लेख्दैन अन्य कोही
लेख्दैन नव्य केही बासी फलाक्छ सोही ।
हाहा गरेर कोही बाख्रा चराउँदैछन्
झोडी पसेर भेडा आफैँ हराउँदैछन्
डाँडा चढेर कोही ढुङ्गा लडाउँदैछन्
पिर्रे टिपेर पाती भन्दै चढाउँदैछन् ।
०००
दमक, झापा
Subscribe
Login
0 Comments
Oldest






































