साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हामी

Nepal Telecom ad

हामी जतिसुकै माथि उठौं,
जतिसुकै यताउति दगुरौं,
जतिसुकै ठूलो स्वरमा गर्जौं
तर, हामी फगत पानीको थोपा हौं
पानीका निर्बलिया थोपा
जो सूर्यद्वारा माथि उचालिन्छौं
र बादल बन्छौं,
हावाको इशारामा यताउति दगुर्छौं
र आफूलाई गतिशील भन्ठान्छौं,
अनि एकचोटि माथि पुगेपछि
हामी आफ्नो धरतीलाई बिर्सन्छौं
र आफ्नो धरतीलाई
खोलालाई
बगरलाई उपेक्षापूर्वक
पालिएका कुकुर
झ्यालबाट गल्लीका कुकुरहरुलाई हेरेर भुके झैं
हामी भुक्तछौं
र आफ्नो कुकुर भुकाइलाई गर्जन भन्ठान्छौं
अनि अन्त्यमा एक दिन बर्सेर चकनाचुर हुन्छौं
र फेरि परिणत हुन्छौं पानीका थोपाहरुमा
निर्बलिया थोपाहरुमा
र कुनै इनार, खाडल वा पोखरीमा
कुहेर बिताउँछौं बाँकी जीवन
टर्र टर्र टर्टराउने घिनलाग्दा भ्यागुताहरु पालेर,
बिष नभएका साँपहरु अँगालेर
हामी जतिसुकै माथि उठौं
जतिसुकैं यताउति दगुरौं
जतिसुकै ठुलो स्वरमा गर्जौं
तर, हामी भित्र–भित्रै खोक्रा छौं
हाम्रो उठाईको कुनै महत्व छैन,
हाम्रो दगुराईको कुनै लक्ष्य छैन,
हाम्रो गर्जनको
पानीमा फालिएको अगुल्टाको ‘छ्वाइयँ’ भन्दा बढी वजन छैन ।
हामी बाहिरबाट जतिसुकै उच्च देखिए तापनि
भित्र–भित्र निरन्तर खिइँदै र घिस्सिँदै गइरहेका छौं
हाम्रो बाहिरको उँचाई झूठा हो,
भ्रम हो अग्लो टाकुरामा उम्रेका च्याउको उचाईंभन्दा
यसको बर्ता महत्व छैन
वा दुईटा अग्ला बाँस खुट्टामा बाँधेर हिँडने
भारतीय चटकेको उँचाइभन्दा यसको बढी विशेषता छैन
अग्लो चुच्चे टोपी लगाई नाच्ने
सर्कसको जोकरको उँचाइभन्दा यसको बढी विशेषता छैन
हामी बाहिरको उँचाइमा रमेका छौं, लठ्ठिएका छौं, फुलेका छौं
तर, हामीले आफ्नो आस्थाको द्वीपमा
निरन्तर खिइँदै र घिस्सिँदै गइरहेको कुरालाई भुलेका छौं
हीनताको सानो द्वीपमा पछारिएर
हामीले आफ्नो पूर्वस्मृति गुमाइसक्यौं
हामीले आफ्नो विगत उचाईंलाई बिर्सिसक्यौं
हामीले मानिसको सामान्य उँचाईलाई बिर्सिसक्यौं
हामीले मानिसको सामान्य उँचाईलाई बिर्सिसक्यौं
त्यसैले जब कुनै सामान्य मानिस
कथामा वर्णित ‘गुलिभर’ झैँ
आई पल्टन्छ हाम्रो आस्थाको द्वीपमा
हामी छक्क परेर उसलाई हेर्छौं
हामी उसलाई हेरेर छक्क पर्छौं
हामीलाई उसको उचाई देखेर आश्चर्य लाग्छ
हामीलाई आफ्नो पुड्काई देखेर डर लाग्छ
र त हामी आफ्नो हीन भावनाका
सियो जत्रा स–साना हतियारहरुको उसमाथि
प्रहार गर्छौं
उसको अङ्ग–प्रत्यङ्गमा चढ्छौं
उफ्रन्छौं
टोक्छौं
चिमोट्छौँ
र अन्त्यमा थकित भएर तल ओर्लन्छौं
शान्त हुन्छौं
समर्पति हुन्छौं
र कुनै ठूलो चट्टानमाथि उर्लेर समुद्रको छालले
तर ओर्लेर त्यसको पाउ पखाले झैँ
हामी पुज्न थाल्दछौं त्यो साधारण मानवलाई
महान् भनेर
हामी बाहरबाट जतिसुकै उच्च देखिए तापनि
भित्र–भित्रै निरन्तर खिइँदै गइरहेका छौं
हामी ‘लिलिपुट’ का मानव हौं ।
हामी लघुमानव हौं ।
हामी आफूखुशी कहिल्यै मिल्न नसक्ने
कसैले मिलाइदिनुपर्ने,
हामी आफुखुशी कहिल्यै छुट्टिन नसक्ने
कसैले छुट्याइदिनुपर्ने,
हामी आफुखुशी कहिल्यै अगाडि बढ्न नसक्ने
कसैले पछाडिबाट हिर्काउनुपर्ने, हिँडाउनुपर्ने
हामी रङ्ग–रोगन छुटेका,
टुटेका, फुटेका
पुरानो क्यारमबोर्डका गोटी हौं
एउटा मनोरञ्जक खेलका सामग्री,
एउटा खेलाडीमाथि आश्रित,
आफ्नो गति हराएरका
एउटा ‘स्ट्राइकर’ द्वारा सञ्चालित
हो, हामी मानिस कम र बर्ता गोटी हौं ।

हामी वीर छौं
तर बुद्धू छौं
हामी बुद्धू छौं
र त हामी वीर छौं
हामी बुद्धू नभइकन वीर कहिल्यै हुन सकेनौं
हामी महाभारतको कथामा वर्णित एकलव्य हौं
प्रत्येक पिँढीको द्रोणाचार्यले हामीलाई उपेक्षा गर्छ
इन्कार गर्छ मान्न हाम्रो योग्यतालाई,
शक्तिलाई,
र अस्तित्वलाई
तर, हामी तिनै द्रोणाचार्यको मूर्ति बनाउँछौं
आफ्नो झुप्रो अगाडि,
त्यसलाई पुज्छौं
ढोग्छौं
निरन्तर धनुर्वद्यिाको अभ्यास गर्छौं
र द्रोणाचार्यका अन्य कुलीन
चेलाहरुभन्दा बढी कुशलता प्राप्त गर्छौं
र, हाम्रो कुशलतादेखि आश्चर्यचकित
र भयभीत भई
प्रत्येक पिंढीमा द्रोणाचार्य हामीकहाँ आउँछ
र गुरु–दक्षिणा माग्छ
र हामी सहर्ष उसको इशारामा
आफ्नो बुढीऔंला काटेर उसलाई भेटी दिन्छौं,
आफ्नो अस्तित्व मेटेर उसलाई समर्पित गर्छौं
र मक्ख पर्छौं आफ्नो गुरुभक्तिमाथि
आफ्नो आत्मशक्तिमाथि
त्यसैले हामी वीर त छौं
तर, बुद्वू छौं
हामी बुद्वू छौं
र त हामी वीर छौं
हामी बुद्वू नभइकन वीर कहिल्यै हुन सकेनौं
हामी कसैको मूर्ति स्थापना नगरीकन
वीर कहिल्यै हुन सकेनौं
हामी पाइतला हौं
केवल पाइतला
र फगत पाइतला
पाइतला– जसको भरमा शरीर उभिन्छ
पाइतला– जसको आधारमा शरीर हिँड्छ
पाइतला– तर जो भन्ठान्छ कि
शरीरले कृपा गरेर उसलाई पालिरहेछ
दया गरेर उसलाई सँग–सँगै हिँडाइरहेछ
मक्ख पर्छ शरीरको महानतामाथि
र सधै सम्पूर्ण शरीरको भार सहन्छ
सधै शरीरको सबभन्दा तल रहन्छ
कहिल्यै शिर उचालेर माथि हेर्दैन
सधै–सधै नतमस्तक रहन्छ
हामी पाइतला हौं
हामी दौडमा प्रथम हुन्छौं
र हाम्रो निधारले टीका थाप्छ,
हामी दौडमा प्रथम हुन्छौं
र हाम्रो घाँटीले माला लाउँछ
हामी दौडमा प्रथम हुन्छौं
हाम्रो छातीले तक्मा टाँस्छ
हाम्रो टीका थाप्ने निधार अर्कै छ
हाम्रो माला लगाउने निधार अर्कै छ 
हाम्रो तक्मा टाँस्ने छाती अर्कै छ,
हामी त फगत कसैको इसारामा
टेक्ने, हिँडने र दगुर्ने पाइतला हौं
केवल पाइतला
र फगत पाइतला ।

हामी केही पनि ह्वैनौं
र शायद त्यसैले केही हौं कि !
हामी कतै पनि, केही पनि छैनौं
र शायद त्यसैले कतै, केही छौं कि !
हामी बाँचिरहेका छैनौं
तर शायद त्यसैले पो बाँचेका छौं कि !
त्यसैले आओ ए शून्य पूजकहरु !
हामी सब मिलेर ढोगौं यो रिक्ततालाई
हाम्रो सब मिलेर ढोगौं यो रिक्ततालाई
हाम्रो अस्तित्वको यो देवतालाई ।
(रूपरेखा– २०१७)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हामी

हामी

भूपी शेरचन
नयाँ वर्ष

नयाँ वर्ष

भूपी शेरचन
हामी

हामी

भूपी शेरचन
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x