सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

रुपिञाँ पनि उपियाँ भएछ !

Nepal Telecom ad

अन्ततिर के–कस्तो अवस्था छ, मलाई थाहा छैन । नेपालको उपियाँ चाहिँ बहु–प्रतिष्ठित प्राणी हो । उडुस भए ठुस्स गन्हाउँथ्यो । बाहिरबाट हेर्दा निकै भद्र–भलाद्मीजस्तो देखन्छ, चरित्र चाहिँ ज्यानमारा बाघको जस्तो । घुसघुसे हुन्छ उडुस । नक्कली भद्र–पुरुष र उडुसको चरित्रमा समानता पाइन्छ । आधुनिक भ्रष्टहरू भद्रताको अभिनय गर्न निकै चतुर हुन्छन् । उडुस पनि त्यसरी नै ठ्वास्स गन्हाएको हुन्छ, जसरी ती गन्हाउँछन् । भोको हुँदा हाड र छाला मात्रै बाँकी देखिने उडुस अघाएपछि काठमाडौँ मालपोत हाकिमजस्तो चिल्लो न चिल्लो देखिन्छ, भन्सारको हाकिमजत्तिकै भुँडीवाले हुन्छ । मन्त्री, प्रधानमन्त्री जस्तै हुन्छ पनि भन्थेँ होला । गन्हाउन चाहिँ उडुस नेपालका नेतालाई जितुँला झैँ गरी गन्हाउँछ, डुङडुङती । काखी चाहिँ ह्वास्स गन्हाउँछ भने उडुस ठ्वास्स गन्हाउँछ । गन्हाउनेको पनि तह हुन्छ । उपियाँ गन्हाउँदैन ।
मलाई त उपिञा कुनै टापटिपे पार्टीको सक्रिय विद्यार्थी नेता जस्तो लाग्छ । मीत लाइदिन पाए पनि हुन्थ्यो । विद्यार्थीका पनि भ्रष्ट नेता कति छन्, कति । भ्रष्टाचारमा टाउके नेताभन्दा पैतले नेता चम्मु हुन्छन् । आफ्नै घरमा जन्मिएको, आफ्नै काख–पोल्टामा हुर्किएको, आफैँले स्याहारेर उड्न र उफ्रिन सक्ने बनाएको । यसै भएर हो कि अर्काले यसलाई गाली गरेको सुन्दा पनि मुटु नै चरचरी चिरिन्छ । आफैँले पालेको पो हो त ! मलाई उडुस र उपियाँलाई समकक्षमा राखेको पटक्कै मन परेको छैन । प्रतिपक्षी र सत्तापक्षी नेता छुट्टिए झैँ, हेर्दैमा एउटा मरन्च्याँसे र अर्को थसुल्लो मोटो ! भानुभक्त बाजेले त झन् आपत्ति–जनक काम गरे । भाइरलदेखि डेङ्गोसम्म सार्दै हिँड्ने लाम्खुट्टेसँग मेरो उपियाँलाई कसरी तुलना गरियो ! औलो सार्ने लाम्खुट्टे, कालाज्वर सार्ने पनि लाम्खुट्टे । रोग सार्ने र मार्नेभन्दा बढी यसले जानेकै छैन । हेर्दा चाहिँ अमेरिकी राष्ट्रपतिजत्तिकै अग्लो देखिन्छ । तैपनि म त्यस ज्यान–मारासँग मेरो प्रिय उपिञाको नाउँ जोडिएकोमा खुसी छैनँ ।
टोक्न त टोक्ने, अघाएपछि चुप लाग्ने । उपियाँको विशेषता नै हो । लाम्खुट्टे चाहिँ टोक्ने, दार्ने र मार्ने खालको मात्रै होइन । चर्का–चर्का नारा लाएर कुनै उग्रवादी पार्टीका कार्यकर्ताले भन्दा पनि दुःख दिँदै हिँड्छ । चन्दा लिइसकेको भोलिपल्ट फेरि तथानाम गाली गर्ने, भूमिगत दलको छट्टु कार्यकर्ताजस्तो । ‘जसको जौ खायो, उसैको जुँगा मुड्ने’ भने जस्तो । रक्तदातालाई माया गरेर फर्किनुको साटो रोग सारेर हिँड्न हुन्छ त ? लाम्खुट्टे घनघोरको कृतघ्न प्राणी हो ।
बरु भूपी शेरचनले उपियाँलाई त्यति धेरै खसालेर बोलेनन् । तिनी पनि अचेल नेपाली वर्ण–विन्यासको पिरले होला दुब्लाएर हेर्नै नहुने भइसकेका रहेछन् । पहिलेका शेरचन र अहिलेका सेरचनमा आकाश पातालकै भिन्नता छ । मरेका शहीद पनि दुब्लाइसकेछन् । त्यसपछि सेरचनको पालो आएको होला । पहिलेका शहीद र अहिलेका सहिदलाई देखाएर मेरो प्रत्याशी सांसद भाइ तिलक रुवालीले शोक मनाएका थिए । अक्क न बक्क परे त के भनूँ, उनको नजिकै बसेका उनका मतियारहरूले चुनावी कोणसभामा मौन–धारण गरेका थिए । अपरिचित सहिदलाई तिनले सम्मान गर्न चाहेनन् ।
तीमध्येका एक जना भाइ सेते तामाङलाई खसखस लागेछ । मितभाषी तिनलाई समेत असह्य भएछ । भनिहाले–गाउँले दाइ, भूपी शेरचनलाई होच्याएछन् नि ! हामी जनजातिका प्रतिनिधि–कविलाई पनि बाँकी राखेनन्, विश्व–विद्यालयका बाहुन–बाजेहरूले । भुपि सेरचन बनाइदिएछन् । कठै ! यही विरोधमा भूपीको रुपिञा पनि उपियाँ उफ्रिए झैँ उफ्रिएर एकताक राष्ट्र–बैँकको रूपैयाँ भएको थियो । यिः हेर्नोस् त ! पहिलेको रूपैयाँ अहिले रुपियाँ भइसकेछ । रुपिञा, रूपैयाँ हुँदै उडेर रुपियाँको ठाउँमा पुग्यो ! सबै श्रोताहरू रुन्चे हाँसो हाँसे । म चाहिँ शहीदको सम्झनामा रुँदै बिदा भएँ ।
नैकाप, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
म प्रज्ञापति !

म प्रज्ञापति !

गाउँले बलदेव