टिपनटापनकोलकातामा नेपाली स्रष्टा
कोलकाता (भारत), चैत्र २९ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपाली भाषा र साहित्यको प्रवर्धनका लागि नेपाल र भारतबीचको सहकार्य जरुरी रहेको बताएका छन् । भारत–नेपाल जनमैत्री सांस्कृतिक संघ कोलकाताले गरेको दोस्रो साहित्य सम्मेलनलाई शनिबार उद्घाटन गर्दै उप्रेतीले भने, ‘नेपालको प्रज्ञा प्रतिष्ठान र भारतको साहित्य एकेडेमी यसका लागि सक्रिय बनेका छन् ।’ उप्रेतीले पछिल्लो समय भारतमा नेपाली साहित्य गतिविधि बढिरहेको बताउँदै यसले नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्ध थप सुदृढ बन्ने बताए ।
नेपाली साहित्यको प्रवर्द्धनमा जुटेका कोलकाता स्थित महावाणिज्य दूत चन्द्र घिमिरेले यस प्रकारका साहित्यिक गतिविधिले प्राज्ञिक मन्थनमा सघाउ पुग्ने टिप्पणी गरे । ‘यस्तो कार्यक्रमले एकअर्कालाई बुझ्न सहयोग पुग्नेछ,’ उनको मत थियो । कोलकाताको मिन्टो पार्कस्थित गोर्की सदनमा आयोजित दुई दिने साहित्य सम्मेलनको उद्घाटनमा असमका उपन्यासकार लीलबहादुर क्षेत्री र बङ्गाली लेखक सुविमल बसकलाई कुलपति उप्रेतीले अभिनन्दन गरे । क्षेत्री लोकप्रिय ‘बसाइँ’ उपन्यासका लेखक हुन् । यो उपन्यासमाथि फिल्मसमेत बनिसकेको छ । बसक चाहिँ बङ्गालीभाषी भए पनि नेपाली भाषाका अनुवादक पनि हुन् ।
संघका अध्यक्ष नारायणप्रसाद हुमागाइँले भारत–नेपाली जनमैत्री संस्था दुई दर्जन बढी नेपालीभाषी र प्रवासी नेपालीको छाता संस्थाको रूपमा रहेको बताउँदै भारतमा रहेर पनि नेपाली भाषा साहित्यको उत्थानका लागि सम्मेलन गरिएको बताए । सम्मेलनको पहिलो दिन निबन्धकार शेखर खरेलले ‘वर्तमान नेपाली साहित्यको परिदृष्य र अन्तर्रािष्ट्रयकरणमा चुनौती’ विषयक कार्यपत्र प्रस्तुत गरे । लेखक खगेन्द्र संग्रौला, नारायण ढकाल, नयनराज पाण्डे, विप्लव ढकाल र डा.रेविका थापाले टिप्पणी गरे । संग्रौलाले देशको अवस्था नउठेसम्म साहित्यको अवस्था नउठ्ने बताए । बनारस हिन्दु विश्वविद्यालयका प्राध्यापक डा. दिवाकर प्रधानले प्रस्तुत गरेको ‘उपनिवेशकालमा नवजागरण र दक्षिण एसियाली साहित्यमा प्रभाव’ विषयक हिन्दी कार्यपत्रमाथि लीलबहादुर क्षेत्री, प्रेम प्रधान, ओमप्रकाश भारती, गीतकार दिनेश अधिकारी र रामालाद चौधरीले टिप्पणी गरे ।
‘नेपाल–भारतबीच साहित्यिक सम्बन्ध’ विषयमा कोलकाता साहित्य एकाडेमीका डा. सत्यप्रकाश तिवारी, गितेश शर्मा, कवि विमल निभा र लेखक सुव्रत लहरीले बहस गरे । जसको मोडरेटर हिन्दीलेखक डा. कृपा शंकर चोबेले गरेका थिए । दोस्रो बहसमा ‘आजको दक्षिण एसियाली साहित्य’बारे कोलकाता विश्वविद्यालयका पूर्व कुलपति प्रोफेसर पवित्रो सरकार, प्रोफेसर संजुक्ता दास गुप्ता, अभिक मजुम्दार र लेखक शेखर खरेलले बहस गरे । यसको मोडरेट विश्व भारती विश्वविद्यालयका प्रोफेसर रामकुमार मुखोपाध्यायले गरे । तेस्रो प्यानल अन्तरक्रियामा ‘नेपाली साहित्य र भारतसँगको सम्बन्ध’बारे कवि सरस्वती प्रतीक्षा, सिक्किमका बलराम पाण्डे, स्वप्निल स्मृति, असमकी लेखिका गीता उपाध्याय, दार्जिङे कवि उदय थुलुङले छलफल गरे । ज्ञानेन्द्र खतिवडाले मोडरेट गरेका थिए यो सेसनको ।
कार्यक्रममा पहिलो साहित्य सम्मेलनको विशेषाङ्क र बङ्गालीभाषी लेखक सत्यप्रकाश तिवारीद्वारा लिखित ‘सांस्कृतिक अस्मिताके प्रतीक कालिदास और भानुभक्त’ नामक पुस्तक लोकार्पण गरियो ।
Subscribe
Login
0 Comments
Oldest






































