साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विजुली महात्म्य

Nepal Telecom ad

०५६ सालको चुनाव ताका हुनुपर्छ… गाउँमा बिजुली आउने हल्ला चल्न थाल्यो। बाटो पनि ल्याउने रे भनेर बारी बारीमा फित्ता तेर्स्याउने उपर्सेट पनि छिराए गाम्ले टाठाले । मेरो घरै मुनि… मेरो त अंशको पाखाबारी । मेरो त भैसीको थलो । मेरो त खेत पाखो जम्मै बाटो नापेर किला गाड्या छ । नम्बर समेत लाएर गो, हो न हो गाउँमा के के न हुने भो …। बारीमा गाडेका नापोको किला हेर्दै समेत हिँडियो….केटाकेटी बेला केके न होला भनेर कसैले नदेख्ने गरी उखलेर जम्मा पारियो, चुनाव सकियो अलि बर्ष फेरि कुरा सेलायो । लौ अर्को बर्षबाट दशैंमा झिलिमिली बत्ति बाल्न पाइन्छ भन्दै घर घरै पैसो उठाएर जम्मा पार्यो भने गाविसले नि हाल्दिन्छ भन्दै फेरि कुराको खेती सुरु गरे । पैसो उठाए…! होइन, होइन बसे । घर घरै अनेक आशा देखाएर उठाको पैसो पोको परेर टाठा हराए । यो साल बत्ति बल्ल बलेन । अर्को साल बल्ला बलेन । गाउँ गाउँमा घाम बत्तिको चलन चलेको थ्यो । धन हुनेले बेलैमा आँटे र राखे । नहुनेले र बिजुली बत्तिको अलि बढी नै आश गर्नेले राखेनन्न् । हामीले टुकी बत्तिको बैकल्पिक व्यवस्था ब्याट्रीबाट बाल्ने टुकिमारा । रेडियोमा बजेर झोल निस्कन थालेका थोत्रा ब्याट्री गोबर पानीमा चोपेर तामा र जस्ताका पाता जोडे पछि घरै झलल हुने गरी गोबरबत्ति समेत उपयोग गरेकै हो । नयाँ ब्याट्री नकिनी पुरानो नहुने भएपछि त्यो पनि खर्चिलो नै हुने भो । समय पनि लाग्ने भो ।
यो पाराले हुँदैन भन्ने लागेपछि अलि कति भने पनि सरकारी अनुदानमा घामबत्ति राख्ने निर्ने गरेर बहिनी सदरमुकाम पोखरीथोक पुगिछन् । गामका अरु ८–१० घरले पनि तेही मौकामा घाम बत्तिकिने । घामबत्ति बाल्न थालेको केही वर्ष नपुग्दै बिजुली मैया आउने हल्लाखल्ला फेरि बढ्यो । दार्हे डोजर गाम गाममा छिर्न थाल्यो । बाटो खुलेपछि बिजुलीका खम्बा तेर्सिन थाले । ठडिने कहिले हो भनेर बाटो हेरियो । खम्बा ठडियो । तार थुप्रियो, टाँग्न आलटाल गरे । गाबिसको पैसो बर्सेनि बिजुली मैयाका नाममा टाठाले खेलाए कि कुन्नि ! सबै तिनलाई भो । कति वटा दसैँ गो गो, एक बर्ष त तार पनि टाँगे । बिजुली मैया उत्ताउली हुन्छिन् नियन्त्रण गर्नु पर्छ, ट्रान्सफरमर राख्न पर्छ भन्दैछन् जान्ने बुझ्नेले । त्यसले अर्को दशैँ खायो । तार टाँगेको देखेपछि घर घरमा वायरिङ गर्दिन्छम् भन्नेहरू गाउँ पसे । मूल्य कसे । भित्र पसे । चिप्लो घसे । बिजुली नभका घरघरमा बल्भ झुण्ड्याएर बेपत्ता भए । गामका भने बिजुली जोड्ने ट्रेनिङ लिन सहर पसे । आउँदा अर्कैले आफ्ना घरमा बिजुली जोडिकन भागी सकेछ । अर्को न बर्ष गाममा बत्ती आयो । घरमा बलेन । जोडेको मिलेन छ, फ्युज गयो ! गाममा बत्ति आउँदा बत्ति कुरेर बसेका हजुरबा हजुर आमा परमधाम भैसकेका थिए । केटाकेटी ठिटामिटा भैकन कोई सहर कोही विदेशको रहर । छाँटिइसकेका थिए । बिजुली जोडेको केही महिनामा हाम्ले पनि घर छोडेम् । छानामाथि राखेको घाम बत्ती तेतिकै थियो ।
घर छोडेपछि बिजुली र घामबत्ति दुवै बाल्नै नपर्ने भो । मुसाले खोलेर भत्केका पिँढीका प्वाल टाल्न नपर्ने भो । सहर छिरियो यतै झिलिली ठानियो । सहरको दुर्दशा ! के बयान गर्नु ! कताको झिलीली हुनु ? सहर झन् अन्धकार हुँदै गाको पो रैछ । लौ भएन, गामको घामबत्ति यतै ल्याम भनेर निर्णय भो । अस्ति गाम गाको बेला धुरी चढेर भाइले घरको घामबत्ति निकाल्यो । अहिले सहर ल्याछम् । बिजुली मैया, तिमी जेसुकै गर । तिमीसँग हामी रिसाका छम् । तिमी नभए नि उज्यालोमा अब हामी बस्छम् । इति बिजुली महात्म्य !!
गोरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x