राजेन्द्र तारकिणीदशैँरामको डोरबेल
यो कतिखेरदेखि बजिरहेछ
नर्कको म्युजिकजस्तो ट्युनमा
दशैँरामको डोरबेल ?
ढोकामा पिङ खेलिरहेछ
खियाले म्वाइ खाइसकेको ताल्चा
आज उसको सम्पर्कबाट
उसको मायालु कुन्जी गायब छ !
ढोकाबाहिर
केही सीमान्त छायाँहरू सल्बलाइरहेछन्
तर डोरबेल निरन्तर उराठ बजिरहेको छ ।
देश करेन्टले भोक पकाइरहेछ
संविधानसभा स्वतः
रूपान्तरण भएपछिको भान्छामा
अचानक
पाक्दापाक्दैका भोकहरू कहालिएर रुन्छन्
जब झ्वाप्प छोपिदिन्छन्
लोडसेडिङ्गका चमेरे पञ्जाहरूले !
–ठीक त्यही बेला
दशैँरामको डोरबेल झन् उराठ बज्छ
ठीक त्यही नै बेला
कतैबाट बहकिएर ठोक्किन आइपुग्छ–
‘नेपाली हामी रहौँला कहाँ…’ को पार्श्वसङ्गीत–
देश त फेरि
लामबद्ध भएको छ
अल्झेको छ पेट्रोलको धागोमा
गाँठैगाँठा परेको छ टिकटघरमा
हावा फुस्केको भकुण्डो जस्ता भएर पेटहरू
थन्किएका छन् रित्ता ग्यासका डिपोमा !
कति लामो हो हैरानीको यो लाइन,
कसले नापिदिने यसको लम्बाई ?
कति तहतह परेको हो अकर्मण्यताको यो भीड,
केले मापन गर्ने यसको गहिराइ… ?
पानी बाल्न सक्ने हाम्रो सङ्कल्प
आयातीत बोत्तलमा डुबेर मर्नु परेको छ
विकासको जाँतो हुइँकाउनुपर्ने हातहरू
सत्तापुरकी बेस्याको छातीमा सल्बलाइरहन्छन्
पार्टीकरणको खिया लागेर
निकम्मा भएका छन् राष्ट्रिय कलपुर्जाहरू !
अर्कैको बन्धकीमा राखेर खुट्टाहरू
हामी दौडन खोजिरहेका छौँ राष्ट्रिय दौड
गिदी दान गरिसकेका उदार शासकहरू
हाँक्न गइरहेछन् ब्राण्डेड गणतन्त्रको रेल !
(यो दशैँमा तिमीले लगाउने टीका
राष्ट्रिय हो कि अराष्ट्रिय ?)
आयातित खसीको आलो रगतमा
केही दाना आयातित सेता चामल मुछेर
बनाइरहेछौ तिमी रक्तिम टीका
त्यही हो अरे, राष्ट्रिय चाड दशैँको टीका !
तर दशैँरामको डोरबेल निरन्तर बजिरहेछ ।
बाँच्ने सपनाले लखेटिएर गाउँ–गाउँबाट
लोग्नेहरू उध्रेर निर्यात भई गएका छन्
र, स्वास्नीहरू
कलेजी काटेर मुछ्न सकिरहेका छैनन्
रक्तिम टीका ।
झोलाभरि दशैँबिदा बोकी फर्केका नानीहरू
चङ्गामा आँसुले किरिङमिरिङ लेखेर–
निभेको चुलो,
आन्दोलित सीमाना,
विभाजित सडक,
नपुंशक सरकार,
छुटका विज्ञापन…
प्रक्षेपण गरिरहेछन् बाबुको ठेगानातिर !
तर यो दशैँमा
फर्कन पाएका छैनन् कुनै बाबुहरू र छोराहरू
ओसिएको मनमा बलिरहेको छैन उत्साह
झुकेको निधारमा छैन उमङ्गको टीका
मुर्झाइसकेका छन् सौभाग्यका जमराहरू !
नर्कको म्युजिकजस्तो ट्युनमा
दशैँरामको डोरबेल निरन्तर बजिरहेछ !
२०७२/०७/०२
Subscribe
Login
0 Comments
Oldest







































