सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

दशैं : आआफ्नो औकात

Nepal Telecom ad

भुइँचालो, त्यसपछि नाकाबन्दी, कष्टहरूको फेहरिस्त झन् झन् लम्बेतान हुँदै छ । र, दशैँ आयो । सबै तनावमा छन् ।
सबै भन्नाले नेता, तस्कर, गुण्डा, दलाल, व्यापारी, कर्मचारी, मजदुर, किसान आदि । सबै तनावमा छन् । तनावको पनि औकात हुन्छ । अथवा, औकातअनुसार तनाव हुन्छ । यस्तो राष्ट्रव्यापी तनाव बोकेर व्यापारी मुनाफालाल पुगेको थियो, होटल ‘सेकेन्ड प्याराडाइज’ मा । तनावका साथै उसले चार बोतल ब्ल्याक लेबल पनि बोकेको थियो, ठूलो प्लास्टिकको झोलामा ।

दशैँको शुभकामना आदानप्रदान गर्न उनीहरू होटलमा जम्मा भएका थिए । नेता, तस्कर, गुण्डा र दलाल अघि नै आइसकेका थिए । मुनाफालाल अलि ढिलो पुगेको थियो । यहाँ दलालको परिचय अलिकति खुलाई दिनुपर्ने आवश्यकता देखियो । यो दलाल अलि बहुआयामिक पाराको दलाल हो । मालपोत कार्यालयतिर रङबङिरहने, जग्गा मिलाइदिए बापत एकदेखि पाँच प्रतिशतसम्म कमिसन खाने खालको सामान्य दलाल होइन ऊ । बहुआयामिक भएकाले ऊ केको दलाली गर्दैन ? जमिन, स्त्री, वन पैदावर, राजनीति सबैको दलाली गर्छ । मुनाफालालले सबैलाई दशैँको शुभकामना दियो, सबैबाट शुभकामना लियो । चारै जनालाई एक–एक बोतल ब्ल्याक लेबल भेट गर्यो ।

‘पोहोर त गोल्ड लेबल दिनुभा’थ्यो,’ दलालले निर्लज्ज पाराले असन्तुष्टि जनायो । ‘यसपालि त्यस्तै पर्यो ।’ मुनाफालालले भन्यो, ‘अर्काे वर्ष ब्लू लेबल नै टक्य्राउँला नि ।’
नेता, जो अत्यन्त तनावमा देखिन्थ्यो, दलालतिर हेरेर च्याँठियो, ‘के बेसोमती चाला हो यो ? उपहारमा पनि कमेन्ट गर्ने ? जुन लेबलको भए पनि रक्सीले लाग्ने न हो । युरिया हालेको लोकलले दिने मात र गोल्ड लेबलले दिने मातमा के फरक हुन्छ ?’

‘फरक हुन्छ, सर,’ गुन्डा अघि सर्यो, आफ्नो मदिराविज्ञता देखाउन, ‘खोयाबिर्केको मात सस्तो र साधारण हुन्छ । गोल्ड लेबलको मात महँगो र दिव्य हुन्छ । मान्छेको जस्तै रक्सीको पनि औकात हुन्छ, सर ।’

नेतालाई यो मदिरा बहस तन्काउने अभिरुचि थिएन । ऊ राष्ट्रिय स्तरको मुद्दा बोकेर आएको थियो । किनभने, कार्यकर्ताले दशैँ खर्च माग्न थालिसकेका थिए । त्यसैले उसले यो मिटिङ राखेको थियो । शुभकामना लेनदेन त केवल बहाना थियो । यसै पनि शुभकामनाले केही लछारपाटो लाउने होइन । कसैले ‘फलोस्, फुलोस्’ भनेकै भरमा कसैको जिन्दगी ‘फल्थ्यो, फुल्थ्यो’ भने यो दुःखी देशका जम्मै नागरिक बागवानी केन्द्र हुन्थे । किन मरुभूमिजस्ता हुन्थे र ? उजाड, अतृप्त र बेचैन ।

नेताले आफ्नो कुरा राख्यो, ‘तपाईंहरूले मलाई सहयोग गर्नुप¥यो । परेको बेला गर्नुभा’छ । मैले पनि तपाईंहरूलाई सहयोग गर्न कहिल्यै कञ्जुस्याइँ गरेको छैन । कि छ ?’
कसैले छैन भन्न सकेनन् । कुन मुखले भनून् ? व्यापारीलाई व्यापार नीतिमै फेरबेदल गरेर नेताले अभूतपूर्व फाइदा दिलाइदिएको थियो । तस्करलाई पटक–पटक जेल जानबाट बचाइदिएको थियो । गुण्डा र उसको जमातको सम्पूर्ण भरणपोषणको जिम्मेवारी लिएको थियो । दलाललाई पनि पर्याप्त संरक्षण गरेकै थियो ।

सबै नेताप्रति अनुगृहीत छन् । नेता पनि उनीहरूलाई विश्वास गर्छ । उनीहरू उसका दुःखसुखका साथी हुन् । अनि जनता नि ? जनतालाई नेता असाध्यै आदर गर्छ । अझ चुनावताका यो आदर दोब्बर हुन्थ्यो । तर, जनतालाई साथी मान्न ऊ तयार छैन । हातमा एक भोट भएकै भरमा नेतासँग मित्रताको हात मिलाउने हैसियत जनताले पाउन सक्दैन । भोट हाल्नु त उसकोे कर्तव्य हो । र, जनताले कर्तव्यच्युत हुन पाउँदैन ।

त, नेता मूल एजेन्डामा प्रवेश गर्यो, ‘तपाईंहरूलाई थाहै छ, मेरो राजनीतिक परिवार ठूलो छ । राष्ट्रिय राजनीतिमा टिक्न राजनीतिक परिवार, जसलाई धेरैले गुट भन्छन्, सानो बनाउनु पनि भएन । फेरि राजनीतिमा परिवार नियोजनका साधन प्रयोग गर्नु घातक हुन्छ ।’ नेताले पर्याप्त भूमिका बाँध्यो । मान्छेहरूलाई कन्भिन्स गर्न जो आवश्यक पनि थियो । ‘आफ्नो पोलिटिकल फेमिलीको दशैँ खर्चका लागि,’ उसले बोली प्रवाह सुचारु गर्यो, ‘मलाई कम्तीमा चार करोड रुपैयाँ चाहिन्छ । त्यो तपाईंहरूले म्यानेज गर्दिनु पर्यो । अरू यहाँहरूको सदाशयताले जति दिनुहुन्छ, म हात थापेर लिन्छु ।’

चार करोडले चारै जनाको सातोपुत्लो उडायो । हुन त यी चार चण्डाल हरेकका लागि चार करोड ठूलो रकम थिएन । तैपनि भुइँचालोपछि ‘नाकाबन्दीका बेला, दशैँको मुखैमा ।’

‘हामी सबैले एक–एक करोड दिऊँ,’ मुनाफालाले प्रस्ताव ग¥यो ।
अरू खङ्ग्रङ्ङ भए ।
‘मेरो पैसा फसेको छ, मलाई गाह्रो पर्छ’ तस्करले भन्यो ।
‘मेरो अफ सिजन छ’ दलालले मर्का पोख्यो ।
‘म त टापटिपे न हुँ, यति ठूलो रकम मसँग कहाँ हुन्छ र ?’ गुण्डाले नम्र भएर भन्यो ।
नेता केही बोलेन । अनुहारमा क्रोध पोतेर बसिरह्यो । उसका गाला रगत चुहिएलाझैँ राता भए ।

‘तपाईंहरू जहिले पनि मलाई मात्रै फसाउनुहुन्छ’ मुनाफालाल रिसायो, ‘ममात्रै पैसाको खानी बोकेर बस्या छु र ? तपाईंहरू तीन जनाले कति कमाउनुभएको छ, मलाई एक–एक थाहा छ । तस्कर मित्रले भर्खरै १५ करोड हालेर बंगला किन्नुभएको छ । दलाल मित्रले काँठमा १२ रोपनी जग्गा जोड्नुभएको छ । गुण्डा भाइको पजेरोमात्रै दुइटा छन् । मलाई सब थाहा छ ।’

‘अँ, हो, हामीले मात्रै कमाएका छौँ’ तस्कर रन्कियो, ‘तपाईं चाहिँ झोलीतुम्बा बोकेर जोगी बन्ने अवस्थामा पुग्नुभा’छ ! तपाईंको पनि सम्पत्तिको एक–एक विवरण हामीलाई थाहा छ ।’

नेता यसै पनि क्रोधमा थियो । चार जनाको यो रडाकोले उसलाई क्षुब्ध पनि बनायो ।
‘तपाईंहरू यहाँ बाझाबाझ गर्न आको हो ?’ उसले चर्केर भन्यो, ‘यही हो वर्गीय एकता ? म को हुँ ? तपाईंहरूको शुभचिन्तक होइन ? मन्त्री हुँदा तपाईंहरूको कल्याण हुने काम गरेको छ कि छैन मैले ? कसले कति कमायो भनेर तपाईंहरूले यहाँ यसरी फाँद लाउनुपर्दैन । सबैका खातापाता, हरहिसाब, वासलात सबै हेरेको छु मैले ।’

नेता यसरी आवेशमा आएको थियो कि उनीहरू ऊसँगको भावी सम्बन्धमै खलल आउला भनेर सन्त्रस्त भए । त्यसपछि त बाँच्ने आधार, कमाउने माध्यम सबै सकिन्थ्यो । नेता पनि कम्ती सन्त्रस्त थिएन । किनभने, ऊ राम्ररी जान्दछ– व्यापारी, तस्कर, दलाल र गुण्डाबिना उसको राजनीतिक जीवन अपाहिज हुन्छ ।

‘मुनाफालालजी !’ नेताले बडो सौम्य भएर भन्यो, ‘तपाईंले डेढ करोड सहयोग गर्नुस् । जे भए पनि तपाईं भन्या तपाईं हो । तपाईंको ठूलो भरोसा छ मलाई ।’ त्यसपछि उसले तस्कर र दलाललाई हेरेर भन्यो, ‘तपाईंहरूले एक–एक करोड दिनुहोला । गुण्डा भाइले पचास लाख दिऊन् । उनलाई यति कन्सेसन दिनैपर्छ हामीले, हाम्रो वर्गको कान्छो सदस्य भएकाले ।’

सबैले दायित्व वहन गरे । नेता प्रसन्न भयो । शुभकामना आदानप्रदान भए । मिटिङ सकियो । (देश यसैगरी चलिरहेको छ । चलिरहनेछ ।)

त्यही साँझ तस्करको घर तनावग्रस्त भयो । उसकी श्रीमती साक्षात् दुर्गा भएकी थिई । रिसले कामिरहेकी थिई । उसका हातमा एक–एक लाखका पाँच बिटा थिए । ऊ कराइरहेकी थिई, ‘यो पाँचौटा लाखले कसरी दशैँ मनाउने ? कता–कता पुर्याउनु मैले ?’ तस्कर बिलकुल मौन थियो ।

तस्करको बंगलादेखि केही पर पाँचतले घर बन्दै थियो । त्यो घर अर्काे तस्करको हुन सक्थ्यो । जसको होस्, त्यो हाम्रो सरोकारको विषय होइन । सरोकारको विषय त त्यही घरको आँगनमा बनेको जस्ताको छाप्रो हो, जहाँ बस्थे ज्यामी दम्पती ।

त्यो छाप्रो पनि तनावग्रस्त थियो । ज्यामीकी श्रीमती (ज्यामिनी भनूँ) पनि साक्षात् दुर्गा भएकी थिई । ऊ पनि रिसले कामिरहेकी थिई । उसका हातमा हजारका पाँच वटा नोट थिए । ऊ कराइरहेकी थिई, ‘यो पाँचौटा हजारले कसरी दशैँ मनाउने ? कता–कता पुर्याउनु मैले ?’
ज्यामी पनि बिलकुल मौन थियो ।

नयाँ पेज डटकम

Fitkauli Publication Books comming soon
Nepal Telecom ad