दुर्गाप्रसाद ग्वालटारेहोस गर
भोक आँधी बन्न सक्छ, भोकासँग होस गर ।
कागज गोली बन्न सक्छ, खोकासँग होस गर ।
पाठापाठी जम्जमाई, अघि सर्लान् दाईं गर्न
खलो रित्तो हुन सक्छ, बोकासँग होस् गर ।
मानवताको नैनसुतमा, चट्ट पारी बेरिएला
भित्र बारुद हुन सक्छ, पोकासँग होस गर ।
थिल्थिल्याई तारम्तारै, उकुच् पल्टिएको घाउ
बल्झी कचल्टिन सक्छ, फोकासँग होस गर ।
धाराबाट झर्ने पानी, ढुङ्गै खाल्टो पार्न सक्छ
खम्बा ढाल्न सक्छ हुरी, झोकासँग होस गर ।
गीत गाउँदै गोही बस्ला, माछा डाक्दै नदी किनार
ब्वाँसो जप्न सक्छ किर्तन, धोकासँग होस गर ।
२०७२ पौष १, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































