साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देउ, वा भन्दा दिनैपर्छ र !

Nepal Telecom ad

भान्जा पत्रकार मातृका पौडेलले फेसबुकमा लेखे, ‘एकै झमटमा प्रधानमन्त्री, १७ पटक हारे । एकै झमटमा सभापति दुई पटक हारे । हरे, हामी पौडेलहरूको कर्म !’ कर्म उस्तो हैन, बुद्धि उस्तो भन न भान्जा । चुनावमा ‘उठेको’ भए पो जितिन्थ्यो त, चुनावमा ‘लडे’पछि कसरी जितिन्छ त ! आजको गजुरियल बिश्लेषण रामचन्द्रको वनबास गमन र शेरबहादुरको घरबास आगमनमा केन्द्रित छ ।

रामचन्द्र पौडेल दाइले हार्नुभयो, यो विश्लेषकलाई पनि दुस्ख लागेको छ । शेरबहादुर दाइले जित्नुभयो, बहुत खुसी लागेको छ । भन्नुहोला, दुखी र खुसी पनि एकैपटक, यस्तो पनि हुन्छ ? हो, यस्तो पनि हुँदो रहेछ राजनीतिमा कैले–कैले, दुवैप्रति सहानुभूति राख्ने दुस्साहस गरें मैले, यस्तो पनि हुँदो रहेछ, जिन्दगीमा कैले–कैले ।

रामचन्द्र दाइको हारमा किन दुस्ख लागेको छ भने, उहाँ सभापति हुनुहोला अनि नेपाली कांग्रेसमा रामराज्य आउला भन्ने भन्ने आशा थियो, बालुवामा पानी भयो । शेरबहादुरले जित्नुभयो, खुसी किन लागेको छ भने अब समाजमा शेर शक्तिशाली हुने भए । उहाँले शक्तिकेन्द्रको सहयोगले पार्टीलाई चाँडै सत्तामा र्पुयाउने पक्का छ ।

गजुरियल विश्लेषक भन्छ, शेरबहादुर दाइ नेपाली कांग्रेसको सभापति मात्र बन्नुभएको होइन, प्रधानमन्त्रीको रोल ओभर कन्टेस्टेन्टसमेत हुनुभएको हो । हेरिमात्र राख्नोस्, अब एक–दुई हप्तामै राजनीतिर्को याम्पमा सत्ता परिवर्तनको क्याटवाक प्रारम्भ हुनेछ । देशी विदेशी जजहरूले उहाँलाई प्रधानमन्त्रीको ताज पर्हियाउनेछन् अनि नेपालमा सुरु हुनेछ शेरबहादुर देउवा युग ।

शेरबहादुर देउवा शक्तिमा पुग्नुका धेरै फाइदा छन् भन्ने गजुरियल ठम्याइ छ । ती फाइदा पत्ता लगाएर देशले मनोरञ्जन लिनुपर्छ भन्ने मेरो अनुरोध हो । त्यसो त प्रत्येक नेता एक–अर्कामा भिन्न नै हुन्छन् तर देउवा दाइबाट हामीले खास खालको भिन्नता पाउनेछौं । त्यो भिन्नताको पहिचान गराउनु गजुरियल दायित्व हो ।

पहिलो कुरा, नामले मान्छेको क्षमता, योग्यता, विचार, व्यवहारको संकेत गर्छ । शेरबहादुर देउवा शेरझैं बलिया छन् । बलियो मान्छे बहादुर हुने नै भए । देऊभन्दा दिइहाल्ने उहाँको स्वभाव सबैलाई थाहा भएकै कुरा हो । लिने र दिने दुवै क्षमता भएका नेपालका एकमात्र नेता देउवा मात्र हुनुहुन्छ, उहाँ शक्तिमा पुग्नुको पहिलो सुन्दर पक्ष यही हो भन्ने गजुरियल ठम्याइ छ ।

दोस्रो, हामीलाई धेरै नेताले मिठा आश्वासन दिए तर कालान्तरमा निराश बनाएर छोडे, तर देउवाबाट हामीले कुनै पनि अवस्थामा निराश हुनुपर्नेछैन । कसैबाट आशा गरिन्छ भने न निराशाको कुरा आउँछ । जब आशै हुँदैन भने निराशा पनि हुने कुरा भएन ।

देश यही हो । नेता यिनै हुन् । जनता तपाईं हामी नै हौं । नचिनेका विष्ट होइनन्, नभोगिएका इष्ट होइनन् ।

पहिले पनि प्रधानमन्त्री भएकै हुन् । दरबारले माग्दा, संसद् पनि दिएकै हुन् । भोलि छिमेकीले केही माग्दा पनि नदेलान् भन्न सकिन्न । आशै नगरेपछि नेपाली जनताले निराश हुनुपर्नेछैन भन्ने गजुरियल ठम्याइ छ ।

तेस्रो, लम्बेतान भाषण सुन्नुपर्ने बाध्यताबाट जनतालाई उन्मुक्ति मिल्नेछ । यसै पनि उहाँ थोरै बोल्ने मान्छे । त्यसमा पनि बोली बुझ्न अलि टाउकै दुखाउनुपर्ने भएको उहाँको भाषण अब च्याटिङको शैलीमा हुने गजुरियल ठम्याइ छ ।

देउवा युगमा चन्दा आतंकबाट उन्मुक्तिको अपेक्षा पनि गर्न सकिन्छ । यसै पनि उहाँ खातापिता परिवारको मान्छे पर्नुभयो । ससुराली पनि हुनेखाने खानदानका परे । त्यसमाथि आरजु भाउजू राम्रै एनजिओसँग आबद्ध हुनुहुन्छ । त्यसैले पार्टीलाई चन्दा दिएर धन्धा चलाउनुपर्ने समस्या कम हुने गजुरियल आशा छ, भरोसाचाहिं गर्न सकिँदैन ।

अब जनतालाई केपी ओलीजीको भन्दा फरक खालको मनोरञ्जन प्राप्त हुनेछ । ओलीजीजस्तो तुक्का नहाने पनि उहाँको बोल्ने शैलीले धेरैलाई मनोरञ्जन प्रदान गर्छ । कैले झनक्क झन्किने, कैले फनक्क फन्किने, बोल्नुपर्ने कुरा नबोलिदिने, बोल्नै नहुने कुरा चिप्ल्याउने, ठाड्ठाडो बोल्ने, बोल्नलाई बलिया शब्द खोजी नरहने, कुनै बेला प्रस्ट बोलेर रिसाउने, धेरै पटक अस्पष्ट बोलेर हँसाउने बानीका कारण नेपाली जनताले उहाँबाट निशुल्क मनोरञ्जन लिन सक्ने गजुरियल ठम्याइ छ ।

अर्को मुख्य कुरा, देउवाले हास्यकलाकारहरूका लागि विशेष खुराक दिनुहुने निश्चित छ । विगत्मा पनि पटक–पटक प्रधानमन्त्री भैसकेका देउवाले हास्य कलाकारहरूलाई थुप्रै मसला दिनुहुन्थ्यो । अब त नेपाली कांग्रेसको सभापति नै बन्नुभएको छ । डबल मसला उपलब्ध गराउने देउवाजीलाई सिस्नुपानी नेपालको मानार्थ सल्लाहकार बनाउन गजुरियल विश्लेषक लागिपर्नेछ ।

साप्ताहिक, फाल्गुन २८, २०७२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x