डा.जीवन अधिकारीनयाँ वर्षको शुभकामना
मञ्जरी पालवा फूल भै आँकुरा
देखिई बैंसकी सुन्दरीझैं धरा ।
हर्षउल्लासको माधवी पर्वमा
एकता फुल्न द्यौ है नयाँ वर्षमा ।।
वेदना कष्ट जञ्जाल जो झेलिए
त्यागिद्यूँ फोहरी खेल जो खेलिए ।
भो नहोस् राष्ट्र यो फेरि सङ्घर्षमा
क्यै नयाँ योजना होस् नयाँ वर्षमा ।
द्वन्द्वको बन्दको बन्द होस् भावना
नित्य सद्भावकै निम्ति होस् साधना ।
गाइयोस् नाचियोस् बाँचियोस् हर्षमा
कर्ममा स्वच्छता होस् नयाँ वर्षमा ।।
सभ्यता शिष्टता नै सिकून् बालक
सौम्य नेतृत्व होस् नीितको पालक ।
देशकल्याणकै ध्येय होस् मर्ममा
पूर्ण यो कमना होस् नयाँ वर्षमा ।।
सूर्यका रश्मिले चम्कियून् टाकुरा
राष्ट्र(उत्थानमै बज्रियून् पाखुरा ।
न्यूनता क्यै नहोस् मानवी धर्ममा
विश्वमै बन्धुता होस् नयाँ वर्षमा ।।
दुष्टता मासियोस् भ्रष्टता भासियोस्
क्रूरता नासियोस् दासता त्यागियोस् ।
आत्मसम्मानको नाद होस् गर्भमा
अस्मिता उच्च होस् यो नयाँ वर्षमा ।।
द्रव्यमा तौलिने भो नहोस् उत्सव
ज्ञाविज्ञानकै बर्सियोस् वैभव ।
वीरगाथा उही झल्कियोस् गर्वमा
उच्च आस्था यही होस् नयाँ वर्षमा ।।
आपसी स्नेहको फैलियोस् सौरभ
एकतामै रहोस् राष्ट्रको गौरव ।
साथसाथै रहौं दक्खमा हर्षमा
आँतमै स्निग्धता होस् नयाँ वर्षमा ।।
रहोस् स्वास्थ्य राम्रो सदा होस् समृद्धि
र दीर्घायु होस् साथमा कार्य्सिद्धि ।
हटून् दुक्ख सारा फुलोस् जिन्दगानी
बनाओस् नयाँ वर्षले भाग्यमानी ।।
मैत्रीनगर कीर्तिपुर
२०७३ वैशाख १ गते ।
Subscribe
Login
0 Comments
Oldest








































