साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खित्कै खित्का–२१

Nepal Telecom ad

मूला बनेर पस्नूस्, सिन्की बनेर निस्कनूस्
आउनूस्, भित्र पस्नूस्, थ्याच्च सिटमा बस्नूस् । दाइ, अलि पछाडि सर्नूस् । दिदी, बच्चा छातीमा च्यापेर बोक्नूस् । भित्र पस्नूस्, उभिँदा सीधा उभिनूस्, बांगो नहुनूस् । के रे ? बच्चा च्याप्न मिल्दैन रे ! तिम्लाई बच्चा पाउनु कसले भन्या थियो ? बच्चा बोकेर बस चढ कसले भन्या थियो ? खै छाड्नूस्, अलि उता सर्नूस् । लौ, यी बूढा मान्छे किन ढोकाछेउ उभिएको ? भित्र पस बूढा । सिट छ भन्दै मैले बोलाएँ रे ! यतिका सिट देखेनौ ? तिम्रा आँखा फुट्या छन् ? सिट खाली छैन त म के गरूँ ? खाली सिट चाहिनेले आफ्नै गाडी किनेर चढ्नू । होइन, तपाईंले निहुँ खोजेको ? पछाडि सर्नुहुन्न ? दुइटा खुट्टा सीधा पारेर उभिनूस् त !

आउनूस्, यो लास्ट बस हो । अलि भित्र सर्नूस् भनेको सुन्नुभएन ? कोचिएर नबस्ने रे ! नबस्ने भए खुरुक्क झर्नूस्, तपाईं नचढे अरू चढ्छ । भित्र सर्नूस्, ओ बूढीमान्छे, हात के सारो बांगो बनाएर उभिएको, हात सीधा पार । बहिनीचाहिँ के मुसुक्क हाँसेको नि, अलि अगाडि आऊ । अस्ति पनि तिमी हाम्रै बस चढेको होइन ? यस्तै हो बहिनी, भीड हुन्छ, सबैलाई जानैपर्छ । तपाईंचाहिँ यो ढोकाछेउ के खान उभिएको ? बस भरियो रे ! यत्रो ठाउँ खाली देख्नुभएन ? अरू ३० जना अट्छ । तपाईंको बाउको बस हो र मान्छे नभरिई जान ?

आउनूस् आउनूस्, सिटमुनि खाली छ । थपक्क पस्नूस्, थचक्क बस्नूस्, मूला बनेर पस्नूस्, सिन्की बनेर निस्कनूस् । मन लागे चढ्नूस्, नलागे नचढ्नूस् ।

गरे प्रचण्डले, नगरे पाइलटले
अब आकाशमा हेलिकप्टर उडेको देख्नै नहुने भो, गाउँलेहरूले पैसा आएको ठान्ने भए । प्रचण्डलाई जनताले अबचाहिँ मान्ने भए । किनभने, हेलिकप्टरमा खाँदेर ल्याइएको पैसा घर–आँगनमै पाउने भए । आँगनमा घाम तापेर बस्नूस्, प्रधानमन्त्री प्रचण्डले हेलिकप्टरमा पठाएको राहत रकम पोल्टामा थाप्नूस् । तर, तपाईं भूकम्पपीडित चाहिँ हुनुपर्छ । सहरमा दुई–चारवटा बिल्डिङ भएर फरक पर्दैन, गाउँको थोत्रो घरचाहिँ भत्किएको हुनुपर्छ ।

सरकारले अब बोरामा पैसा खाँद्छ, हेलिकप्टरमा लाद्छ । सरर हेलिकप्टर आउँछ, फरर पैसा बाँड्छ । यस्तोलाई भनिन्छ, द्रुत गतिको सरकार † कहिलेदेखि बाँड्छ त यसरी राहत ? त्यो त प्रचण्डलाई पनि थाहा हुँदैन । किनभने, प्रधानन्त्रीको काम आश्वासन दिने हो, दिएको आश्वासन पूरा गर्नुपर्छ भनेर संविधानमा लेख्या छैन, कानुनमा लेख्ने कुरा भएन । यो कुरा हेलिकप्टरको पाइलटलाई मात्र थाहा हुन्छ । पीडितले हेलिकप्टरमा ओसारिएको राहत रकम पाए भने प्रचण्डले दिएका हुन्, पाएनन् भने पाइलटले हेलिकप्टर नउडाएका हुन् ।
राहत रकमको आशमा बसेका भूकम्पपीडित जनता हो ! अब राहत रकम पाइएन भने पाइलटसँग गुनासो गर्नु ल ?

अंक युद्ध
क पार्टी : स्थानीय निकाय सात सयभन्दा धेरै बनाउनै हुन्न । किन बनाउन हुन्न भने बनाउन हुन्न । हाम्ले बनाउन हुन्न भनेपछि बनाउन मिल्दै मिल्दैन । सात सय अंक दामी छ क्या, यो शुभ अंक हो । हाम्रो पार्टीको केन्द्रीय समितिमा सात सय सदस्य छन् । त्यसैले यो अंक पार्टीमा सबैले मन पराएका छन् । हाम्ले मन पराएपछि जनताले पनि मन पराउँछन् ।

ख पार्टी : स्थानीय निकाय १२ सय बनाउनुपर्छ । १२ भनेको दर्जन हो र हामीले जे पनि दर्जनमा हिसाब गर्ने गर्या छौँ । दर्जन अंकको बनाउँदा जनताले सबै सेवा–सुविधा पाउने ग्यारेन्टी हुन्छ, दर्जन बनाइएन भने जनताले केही पाउँदैनन् भन्ने हाम्रो पार्टीको मान्यता छ । दर्जन अंक समाजमा चलिआएको छ । हाम्रो पार्टीले अरू कुरा जान्दैन, दर्जन अंकको नबनाई मान्दैन ।

ग पार्टी : सात सय र १२ सय रे ? वाहियात कुरा ! ठ्याक्कै हजार बनाउनुपर्छ । हजारबाट दायाँबायाँ भयो भने हामी मान्दैनौँ । हजारजस्तो सजिलो अंक कुनै छ ? हजार नबनाए बजार बन्द गर्छम्, चुनाव नै हुन दिन्नम्, कसले के गर्दाे रै छ, हामी पनि हेर्छम् ।

घ पार्टी : यो चुनाव नगर्ने षड्यन्त्र हो । स्थानीय निकाय १ हजार १ बनाउनुपर्छ । बिजोडी अंक शुभ हुन्छ । यो अंकमा घटीबढी गर्न खोज्नु भनेको जनतालाई अधिकार नदिनु हो । जनतालाई सेवासुविधा १ हजार १ अंकले मात्र दिन सक्छ । ट्वाक्कै हाम्ले भने अनुसार हुनुपर्छ । सीमांकन पनि हाम्ले भने अनुसार हुनुपर्छ नत्र यो चुनाव नगर्ने षड्यन्त्र हो ।

मन्त्रीजीको ट्रिक
फिलिममा हिरोरहिरोइनले के लुगा फेर्छन्, त्यसभन्दा धेरै देशले मन्त्री फेर्छ । त्यसैले जनतालाई मन्त्रीको नाम याद हुँदैन । मन्त्री तब सफल बन्छ, जब जनताको मनमा बस्छ । मनमा बस्नलाई नाम याद हुनु परेन ! कसरी याद दिलाउने ? यसमा मन्त्रीपिच्छेको फरकफरक फर्मूला हुन्छ । प्रायस् मन्त्रीले अपनाउने फर्मूलाचाहिँ केही नगरी बस्ने हो । गजधम्म परेर बस्ने, मुखमा काम र माम आइलागे केही गर्ने हो, त्यसबाहेक पदमा टिकेर बस्ने हो । मन्त्री बन्नलाई पो केही गर्ने हो, मन्त्री बनिसकेपछि के गर्नु छ र ? त्यसैले हात बाँधेर बस्ने, रिबन काट्ने या पानसमा बत्ती बाल्ने मौका आए बाँधेको हात फुकाल्ने ।

त्यसपछि ‘यो मन्त्रीले त केही काम नै गरेन’ भन्छन् जनताले अनि नाम याद हुन्छ । विगतका धेरै मन्त्रीजीहरूलाई जनताले यसरी नै स्मरण गर्छन् । अर्काे फर्मूलाचाहिँ काम गर्ने हो । के काम गर्ने भन्दा जे गर्दा चर्चा पाइन्छ, त्यही काम गर्ने हो । खास गरी काटमारबाट धेरै चर्चा पाइन्छ । आम्मै ! काटमार भन्नाले मान्छे काट्ने, पुलको लठ्ठा काट्ने कामचाहिँ होइन नि ! यस्तो काम मन्त्री बन्नलाई गरिन्छ, मन्त्री बनेपछि होइन । काटमार भन्नाले कस्तो भने नि, अहिलेका ऊर्जामन्त्री जनार्दन शर्माले गरेजस्तो ।

उनले काटे– बिजुलीको लाइन । कहाँकहाँ लाइन काट्दा चर्चा र विवाद हुन्छ, त्यहीँ छानीछानी काटे । अस्पताल, मन्दिर सबैतिर काटे । काटेपछि चर्चा हुन्छ । काटिएको लाइन लुरुक्क जोडिदिएपछि महाचर्चा हुन्छ । यसो गरेपछि काम पनि देखिन्छ ।

मन्त्रीजीको यो ट्रिकचाहिँ दामी हो के !

नेपाल, भाद्र १७, २०७३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x