साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्यारी बिजुली, चाँडै आऊ

Nepal Telecom ad

मोबाइलमा तार अघि नै जोडिसकेँ। बुढो ल्यापटप पनि चार्जरको टुसो चुसेर टोलाउँदै छ।
इमर्जेन्सी टर्चलाइटका दाँतहरूले मल्टिप्लगका बाँकी प्वालहरू थुनिसक्यो। मेरा आँखाहरू तिम्रा स्विच आडैको धिपधिपे बल्बमा अडिइ राखेका छन्। तिमी आउने बेला हुँदै गर्दा, तामाका तारभरि मनका तारहरू बिच्छाएर म बसिरहेको छु। प्यारी बिजुली चाँडै आऊ, म तिमीलाई कुरिरहेको छु।
तिम्रो स्वागतमा दशौं लाख मान्छेहरू बसेका छन्। तिमीलाई औंधी माया गर्ने हजारौं मान्छेहरू छन्। ति हजारौं मान्छेहरू बिचको एउटो मान्छे म। तिमीलाई अरुले भन्दा एकै एम्पिएर भए पनि बढी माया गर्छु।
सायद तिमीलाई हेक्का नहुँदो हो। यो मनभित्र कति धेरै चाहनाहरू छन मायाका। दिनमा तिमीसँगै बसेर टिभी हेर्न मन थियो। कम्प्युटरका फाइलहरूमा पौडी खेल्न हुन्थ्यो। साँझसँगै बसेर हिटर ताप्न मन थियो। मर्करीलाइटमा झुम्मीने पुतली जस्तै। तिम्रो उज्यालोमा म पनि फुरुङ्ग पर्दै कोठाका चार कुना चाहार्थे।
प्रवेशीका परीक्षाका विद्यार्थी बनेर, किताबका अक्षरहरूमा तिमीसँगै लुकामारी खेल्थेँ। तिम्रो एक मुस्कानमा मेरो संसार छर्लङ्गै उज्यालो हुन्थ्यो।
मनको रहर। घाम पनि तिमीसँगै हेर्न पाए, जून पनि सँगै देख्न पाए, कति जाती हुन्थ्यो होला? तर तिमीले बाटो बिराउँदा। मनले नचाहँदा नचाहँदै पनि। मैनबत्तीहरूसँग खुसुखुसु डेटिङ सुरु गर्नु परेको छ। उनीहरूसँग टाढा बस्न। तिमीसँगको सम्बन्ध गाढा बनाउन। तिम्रो उपस्थितिको निक्कै महत्व छ। प्यारी बिजुली, हामीले माथिल्लो तामाकोशी, त्रिशुली थ्रि \’ए\’, बुढीगण्डकी अनि पश्चिम सेतीमा बसेर खाएको कसम। हामी बीचको स्वच्छन्द प्रेम। के सफल होला ?
हाम्रो प्रेमले असफलताको सिढीँ चढ्दै गर्दा। ऐले व्यापारीहरूलाई भाउ बढाउने ठूलो बहाना मिलेको छ। कामदारहरूलाई काम ढिलो सक्ने उपाए मिलेको छ। डिजेलको कुँडो खाएर जेनेरेटरहरूबाट निस्केको धूँवा आकासिँदै गर्दा दैनिक उपभोग्य सामानका बजार मूल्यहरू पनि आकाशिँदै छन्। अँध्यारो माहोलका बीच कालो धनको खेती गर्ने। चोरहरू पनि बढेका छन्। चिसो मौंसमका, छोटा दिनहरू। घाम ढल्ने बित्तिकै ओच्छ्यानमा ढल्न पुग्नेहरूले जनसंख्या पनि बढाएका छन् भन्ने बजार हल्ला छ।
यसरी बजार भाउ, जनसंख्या अनि लोडसेडिङ बढ्दो छ। घटेको छ त केबल धारामा पानी आउने समय। खानेपानी अफिसको कार्यभार। मोबाइलको नेटवर्क। भन्न सजिलो भएको छ उनीहरूलाई, \’बिजुली आइनन् त्यसैले म पनि आइन।\’
तिमी पनि उस्तै छौ। यसरी आउँछौं कि \’हाइ\’ भन्न नपाइ \’बाइ\’ भन्नु पर्छ। सुतेपछि आउँछौं र उठ्नै नपाइ जान्छौं। यसरी तिमीले छुस्स छुस्स मिसकल मात्र दिएको भने मलाई कत्ति चित्त बुझेको छैन। तिमीसँग ब्यालेन्स छैन भने मिटरको युनिट हेरेर प्रति युनिट चलेकै रेटमा रिचार्ज गर्दिन सक्थेँ। भर्खरै बैषले पक्रेका युगल जोडीका झै। फूल चार्ज भएपछि फोनमा झुण्डिएर लामो बात मार्न मिल्थ्यो। प्यारी बिजुली, साँच्चै तिमी कहिले आउँछौं? सधैं सँगै बस्ने गरि। कहिल्यै नफर्कने गरि।
हेर, फागुनको यो महिना। तिम्रो अनुपस्थिति मान्छेहरूलाई कुरा काट्ने बाहाना। \’आज देखि १२ घण्टा लोडसेडिङ बढ्यो रे,\’ उनीहरू खुइयाँ गर्दै तिम्रो उछितो काढ्छन्। \’लोडसेडिङ\’ तिम्रो नामसँग जोडिएको कलंकको कुरा। मलाई यो फिटिक्कै मन पर्दैन। रत्नपार्कमा बसेर बदम चपाउँदै गर्दा। सरकारको नाम लिएर मुख छाड्नेहरू। विदेश जाने चक्करमा त्रिभुवन विमानस्थलमा लाम लाग्नेहरू। सबैले एउटै कुरा भन्छन्, \’तिमी छैनौं। देश अँध्यारो छ। विदेश रोजाइ हैन, बाध्यता हो।\’
मेरी बिजुली, के तिम्रो बढ्दो आवश्यकता नै देश छोड्नेहरूको बाध्यता भएको हो?
धेरैले नबुझेको सत्य। तिम्रा पनि त आफ्नै बाध्यताहरू होलान्। झोलामा खोला राख्नेहरूले तिमीलाई फाइलमा बाँधेर राखेका छन्। ठूल–ठूला आयोजनाका ठेकेदारहरू तिम्रो नाम बेचेर मोटाइराखेका छन्। चल्तीका केही स्थानीय दलालहरू तिमी आउने बाटो छेकेर आयोजनाहरूसँग दूध माग्दै डोको थापिरहेका छन्।
मलाई थाहा छ, मात्र एक चोटी। माथिल्लो तामाकोशी जस्ता आयोजनाका टरबाइनहरू घुम्न सुरु भयो भने। डब्बल सर्किट प्रशारण टावरका टुप्पा टुप्पामा उफ्रिँदै, अल्मुनियम तारहरूमा तरंगीत हुँदै आउँथ्यौं होला तिमी मलाई अंगाल्न। अनि बल्ल मेरा नशानशामा प्रेमको करेन्ट बग्थ्यो। म पनि तिमीसँगै ठूलाठूला कारखानाहरूको भ्रमणमा निस्कन्थे। सिपले भरिएका हातहरू तिमीसँगै इलम बनेर निस्कन्थे। त्यती बेला \’लोडसेडिङ\’ नामको तिम्रो निधारको कलंक, मेट्नुको मज्जै बेग्लै हुने थियो।
हुनत टेलिभिजनमा झुम्मिनेहरू। कम्प्युटरमा झुण्डिनेहरू। तिमी नभएको मौंका पारेर। मैनको उज्यालोमा। भान्छा कोठामा परिवार सबैसँगै बसेर। दुःखसुःख बाँड्न पाउँदा खुसी पनि भएका होलान। झरीको मौसमका बीच। अँगेना छेउ, आगो ताप्दै केही गाउँलेहरू खेतीपातीका कुरा गर्दै होलान।
साँझ सिरकमा गुम्सिराखेकाहरू। विद्युत अफिसबाटै स्विच निभाइ दिने भएपछि। बत्ती निभाउन उठ्न परेन भनेर खुसी पनि भइराखेका होलान। इन्भर्टर आयात गरेर लाखौंलाखको व्यापार गर्नेहरू। सडकमा चार्जीङ लाइट बेच्नेहरू। मैन उद्योग चलाउनेहरू। केहीको जागिर पनि थपियो होला। टिभी, फ्रिज थन्केकाले। बिल कम आयो भनेर मुसुक्क हाँस्ने मान्छेहरू पनि होलान। तर ती निक्कै थोरै छन्। तिम्रो आगमनको खुसीले, यी झिनामसिना बीचारहरूलाई सर्लक्कै पखालेर ठूला उद्यमी बीचारहरू ल्याउनेछ, बिजुली।
धेरैका नहुनेका घरमा तिमी नभएका बेला। हुनेखानेहरूले पैसाको डोरीले बाँधेर तिमीलाई तानेको पनि मैले देखेको छु। ठूला जेनेरेटरका तारहरूबाट। लाखौं पर्ने इन्भर्टरहरूबाट। तिमी निस्कँदै गर्दा। धनमा मात्र माया पलायो भन्दै केहीले तिम्रो प्रेममा शंका पनि गरे होलान। अरुले जेसुकै भनेपनि मलाई तिम्रो प्रेममा कुनै शंका छैन। साना–जलविद्युत बनेर धेरै कुनाका गाउँहरूसँग तिमीले मिठो सम्बन्ध गाँसिरहेकी छौं भन्ने मलाई थाहा छ। सुपथ बिजुली बनेर चौबीसै घण्टा ती मेहनतीका घरघरमा तिमी बास बसेकी छौं।
त्यसैले, मेरा कपाल फूलेर, फलेर झरे झरोस्। मेरो निधारको क्षेत्रफल बढेर टुप्पीइसम्म छुन किन नपुगोस्। दाह्री झुलेर भुइँ बढार्दै हिड्ला। मेरो उमेर मसिना रेशाहरू बनेर मेरा अनुहारमा देखिन थाल्ला। गिजामात्रैको मुस्कानै किन नहोस्।
खिस्स हाँसेरै भए पनि म तिमीलाई कुर्नेछु। हामी बीचको दूरी घटाउन। म धेरै प्रयास गर्नेछु। प्यारी बिजुली, चाँडै सधैं मसँगै बस्ने गरि आउनु। म तिम्रो बाटो हेरि रहनेछु।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x