इन्द्रकुमार श्रेष्ठहे रक्सी ! तिमी नहुँदा
तिम्रो साथ हुँदा अहा ! दिनहरू कस्ता मजाका थिए
तिम्रो साथ छुटेर आज नहुँदा त्यै दिन नराम्रा भए
तिम्रो साथ नपाई बाँच्नु कसरी– यो छैन रे सम्भव
मन् पोलिरहने र आँसु बहने यस्तै हुने भो अब ।
एक्छिन् देख्न नपाउँदा छटपटी हुन्थ्यो मलाई किन ?
त्यस्तै नै तिमीलाई हुन्छ कि भनी सोध्दा पनि सोधिनँ
माया कत्ति दिएर मार्गबीचमै घायल बनायौ प्रिय
मेरा बाँकी रहे म दिऊँ कसरी ? छातीभरि जो थिए ।
बाटोमा तिमीसँग हिंड्दा अति नै आनन्द लाग्थ्यो अहा !
हेराहेर गरी कुरा पनि गरी हामी हिंड््यौं सर्वदा
तिमी मेरी अभिन्न अङ्गज सरी हुन्थ्यौ नि रे गौरव
बाटो लामु छ रे उही विरसिलो काटूँ कसोरी अब ।
सुन्थ्यौ गीतहरू सुरम्य कविता मेरा तिमी चाखले
‘कस्तो लेख्नुभ’को रुवाउँछ !’ भनी धुन्थ्यौ नयन गाजले
झन् लेख्थें म अरु सुनाउँन भनी भेटूँ नि कैले हुने
गथ्र्यौ ती कविता सुनेर कहिले छोएर सङ्गै रुने ।
हाँस्दा फूल फुलेसरी सकलमा लाग्थ्यो तिमीमा सदा
बोल्दा मात लगाउँदो सुनिरहूँ लाग्थ्यो सधैं सम्झँदा
श्रीखण्डै जसरी अहा ! मगमगी बास्ना भएकी तिमी
मेरो हिर्दयमा सधैं बसिदिने मात्रै तिमी नै तिमी ।
तिम्रो चाल चिनेर दूर पथमै हेरेर ठम्याउँथें
आयौ रे तिमी फर्कियौ घर भनी टाढा उतै हेर्दथें
मेरो यो मुटुमा असाध्य शूल भो गाडे कसैले किला
मेटेछन् कसले यताउति हरे ! तिम्रा सबै पाइला ।
भन्थ्यौ निष्ठुर भै, ‘नहूँ म तर यो संसार बाँकी छ नि’
हा ! भन्नै कसरी सक्यौ तिमीबिना संसार क्यै छैन नि
बाँच्नै बाँकी छ रे अझै कति यहाँ रोएर सम्झीकन
मैले कत्ति गरें प्रयत्न कहिल्यै खै सक्छु रे बिर्सन ।
तिम्रो भो जति जो अभाव उसको पूरा गरुँ के गरी
तिम्रै मात्र छ याद हरपल यहाँ धूवाँसरी हर्हरी
खैनी सूर्ति चुरोट खाइरहँदा यो जीउ भो पत्कर
छाडें अन्न सबै म बाँचु कसरी ? रक्सी पिएरै अब ।
दियाले, ओखलढुङ्गा
Subscribe
Login
0 Comments
Oldest








































