सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अन्तर्राष्ट्रिय भ्यागुता-सम्मेलन

त्यसपछि दोस्रो लङमा गएर एउटा थेप्चथेप्चे कदको र अर्को कालो कालो वर्णकाे भ्यागुतोलाई देखाउँदै फेवाताले भ्यागुताले भन्यो- “उहाँहरू हुनुहुन्छ, ह्वाङ्होखोले प्रतिनिधिमण्डलका नेता म्याउँ म्याउँ चू र गणखोले प्रतिनिधिमण्डलका नेता श्री शान्तिकान्त चतुर्वेदी ।”

Nepal Telecom ad

भैरव अर्याल :

आजको दुनियाँमा बेकारलाई भन्दा बढ्ता पीर पुत्रकारलाई हुन्छ; ट्याक्सीकारको भन्दा बढ्ता धपेडी पत्रकारलाई हुन्छ । त्यसमाथि पनि कसैले पुत्रकारिताको आफ्नो दैनिक टन्टा टार्न पत्रकारिताको पेसा लियो भने त्यसको जीवन कति टाटेपाङ्ग्रे होला आफैँ सोच्नोस् । त्यसमाथि पनि अझ आफूचाहिँ त दिनभर ज्याङप्वाला साइकिलको भरमा पत्रकारिताको सेवा गर्नुपर्ने र साँझ-सवेर प्याङ टकटकाएर पुत्रकारिताको मेवा चाट्नुपर्ने नेपाली पत्रकार ! त्यसैले मेरो दिमाग रातदिन यस्तरी चक्कराइरहन्छ- मानौँ मस्तिष्कको पर्दामा कुनै सिनेमाको रिल घुम्दै छ । एक सेकेन्ड विश्वनेताहरूको निरस्त्रीकरण भाषण सम्झन पुग्छु त अर्को सेकेन्ड बेलुकालाई जोर्नुपर्ने उसिनाका रासन । एकछिन जेनेभा सम्झौता त अर्कोछिन पुत्र र पुत्रकी महतारीको सम्बन्धविच्छेद ।

कुरो तात्तातै हो, अस्ति मात्रको । अखिल नेपाल परिवार समस्या समाधान सम्मेलनको रिपोर्टिङ सकेर म घर फर्कदै थिएँ, कमलपोखरीको किनारमा एउटा बच्चा रोएजस्तो लाग्यो । निकैबेर त आफ्नो साइकिल चुइँकेको होला भन्ने ठानी मैले वास्तै गरिनँ, पर पुगेपछि पो देखियो एउटी युवती परिवार समस्या समाधान गर्दै रहिछन् । हलेदो भन्ने चिनेपछि किन कोट्याइरहने भन्ने विचारले म अघि बढ्दै थिएँ, तर उनको अभागले हो कि आफ्नै अभागले हो मेरो साइकिलको ट्युब यस्तरी पड्किदियो, मानौं आफ्नै टाउकामा बम पड्केजस्तै गरी । हत्त न पत्त पोको प्यासमा फ्याँकेर पुलुक्क हेरिन् उनले मैतिर । आँखा जुध्नासाथ मैले उनलाई चिनिहालेँ । पोहोरका वर्ष इन्टरन्यासनल फर्वार्ड लेडी कन्फ्रेन्समा भाग लिन जाने प्रतिनिधिमण्डलको नेतृत्व उनैले गरेको र देशका केटाकेटीको सेवा गर्न जिन्दगीभर अविवाहिता रहनेछु भनी उनले अस्ति मात्र रानीपोखरीको डिलमा प्रवचन दिएकी थिइन् । त्यसैले उनलाई मजस्ता पत्रकारले नचिन्ने त कुरै रहेन ।

तपाईंलाई थाहै छ, पत्रकारले कति देखेको कुरा लेख्न पाउँदैन, कति कुरा देख्न पाउँदैन । देखेको जति सबै लेख्न पाउने हो भने अखबारहरू लेखेको खालि किचकिच विचाथिच, रिसारिस, ईखाईख, विषाविष इत्यादि खबरले भरिन्थे । लेखेको कुरा सबै देख्न पाउने हो भने सुधारैसुधार, विकासै विकास, मित्रतै मित्रता, आदर्शैआदर्श साँच्ची मान्छेको दुनियाँ देवताको जस्तो देख्न पाइन्थ्यो । त्यसैले उनको त्यो समस्या समाधानको पुरुषार्थपट्टि आधुनिक पत्रकारले किन ध्यान दिने ? जहानबच्चा नियोजन युगको माग हो, तरिका बेग्लै भयो भन्दैमा उनले अपराध गरेको भन्नु कसरी ? जमाना र जवानीअनुसार उनले आफ्नै ढङ्गको पद्धति अपनाएको पनि त हुन सक्छ ।

अलि वर आउँदै थिएँ, एउटा ज्याम्ल्याङजुम्लुङ परेको मान्छेलाई रमनले हपार्दै रहेछ । मलाई पनि हपार्छ कि भनेर खुट्टा कमाउँदै साइकिल धिच्च्याइरहेको थिएँ, तर म साइकिल चढवा भलादमीलाई समात्न उसको के तागत ? बरु मलाई एउटा मेन न्युज (प्रमुख खबर) पो मिल्यो, शीर्षक पनि कल्पिहालेँ- ‘पुलिस र डाँकाको मुठभेट’ । ऊ डाँका थियो वा थिएन त्यो छुट्टयाउने भारा त पुलिसको पो हो । म त एक पत्रकार, मलाई समाचार भए पुगिहाल्छ ।

आखिर के भयो र अचेलको दुनियाँमा जुनसुकै देशमा होस्, सरकारका निम्ति सी. आई. डी. को रिपोर्ट ब्रह्मवाक्य, जनताका निम्ति अखबार र रेडियोको खबर ब्रह्मवाक्य भएको कुरा लुकाउन, नभएको कुरा फर्माउन, सेतालाई रङ्गाउन, सोझोलाई बङ्ग्याउन सी. आई. डी. र संवाददाता यति सिपालु हुन्छन् कि साँच्चै भनूँ भने आज विश्वको राजनीति नै यिनै दुई थरीको हातमा छ ।

मेरा एक जना ठट्याउला साथी भन्थे- कुन्नि कुनकुन दुई देशका सीमामा दुवैतिर आआफ्ना ब्यारेक थिए रे । एक दिन बिहान उतापट्टिको एउटा सी. आई. डी. र एउटा संवाददाता सीमाकै क्षेत्रतिर घुम्दै रहेछन् । त्यसै बेला एउटा युनिफर्म लगाएको यतापट्टिको सिपाही हातमा के हो लिएर उतापट्टि दौडिएछ । यो देख्नासाथ सी. आई. डी. ले ठानामा र संवाददाताले कार्यालयमा फोन गरेछन्- “फलानो देशको सैनिक हाम्रो सीमाभित्र पस्यो ।” फोन पाउनासाथ पुलिसको जिप उहाँ पुग्यो । पत्रकारले हत्त न पत्त अफिसमा पुगेर भन्यो- “लौ पुलिस पनि आइपुग्यो ।” समाचार साँच्चै हो । एकछिनपछि प्रभात संस्करण पत्रिकाहरूमा पिटियो- “फलानो देशको सैनिकद्वारा फलानो देशको सीमा अतिक्रमण ।” पत्रिकामा यसरी छापिएपछि सी. आई. डी. को रिपोर्टले पनि पुष्टि पायो । नेताहरूले हतारहतार वक्तव्य छाँटे, पार्टीहरूले हतारहतार सङ्कटकालीन बैठक बोलाएर विरोध प्रस्ताव पास गरे । सम्पादकहरूले हतारहतार सम्पादकीय लेखे । रेडियोहरूले हतारहतार सम्पादकीय समीक्षा फलाके । मित्र देशहरूमा खलबली चल्यो, हामीजस्ता बुज्रुकले रेस्टुराँमा चप चपाउँदै गफ लडाउने मौका पायौं । आखिर छानबिन गर्दा बुझियो, कुरोको चुरो के रहेछ भने एउटा सिपाहीलाई आउँरगत परेको रहेछ, विहान ड्युटीमा जान निस्केको दिसाले च्यापेछ, तर चर्पी रहेछ भरिभराउ त्यसैले ऊ लोटा लिएर हतपतमा जता पायो उतै कुदेको रहेछ । अब भन्नोस्, संवाददाता र सी. आई. डी. को महत्त्व कत्रो रहेछ ! त्यसैले त्यो झ्याम्लाङग्लुङ गरी हिँड्ने रमन्ते र रमनको भेटघाटलाई मैले समाचार दिने निधो गरेँ ।

आज बिहान दाउरा-गुइँठा वितरण सम्मेलनमा विभिन्न विद्वान् तथा प्रतिनिधिले दिएका भाषणहरू पनि मैले लेख्न भ्याएको थिइनँ । त्यसैले अब ‘अकरम्-बकरम्, सबै एकैचोटि भकुरम्’ भनेर हतारहतार बसेँ बाकसमाथि । पुत्रकी महतारीलाई अर्डर गरेँ “लौ मलाई अहिले भातसात खाने फुर्सद छैन, एक चिलिम अमिलो तमाखु ल्याइदेऊ ।” महतारीको प्रतिनिधित्व गर्दै सुतिरहेको पुत्रले जवाफ दियो- “हुक्का त मुआँले चिरेर बालिदिनुभयो बुबा !” अचम्म मानी महतारीचाहिँको मुखतिर हेरेको त रुन्चे मुख लगाएर उनले नाक बजाइन्- “दाउरा कतै केही पाइएन अनि…।” चुपो लागेर आफू थालेँ दाउरा-गुइँठा वितरण सम्मेलनका भाषण र प्रस्तावहरूको खबर बनाउन ।

राति दुई बजेपछि तन्ना फाटेको बिछ्याउनामा तन्द्रङ्ग पल्टिएँ । चीनको क्रान्तिमा फर्मोसाबाट उँधोतिर झरेका गुरिल्ला झैं भित्ताभित्ताबाट उडुसहरू ओर्लिरहेका थिए । द्वितीय विश्वयुद्धको बेला जापानमाथि हुनहुनाएका लड़ाकू विमान झैं लामखुट्टेहरू टुकीको पिलपिलमा घुनघुनाइरहेका देखिन्थे । मेरो सोचाइको रफ्तार भोलिका कार्यक्रमको रूपरेखा र रुटिन खिच्दै थियो- छ बजे स्वास्थ्यमन्त्रीद्वारा सफाइ आन्दोलनको उद्घाटन, दस बजे माछापोखरीको शिलान्यास, साँझ भारतीय भवनमा नेपाली कविहरूको गोष्ठी, अमेरिकन दूतावासमा हिमाली फिल्म प्रदर्शन, बेलाइती बैठकमा परराष्ट्रमन्त्रीको राजकीय भोज, भानुभक्तको सालिकनेर रवीन्द्रजयन्ती। ओहो, कस्तो व्यस्त कार्यक्रम, यो व्यस्तताभित्र कति गुदी छ- यो कसले सोचोस् । यो औपचारिकताभित्र कति व्यय र कति आय छ त्यसको हिसाब कसले गरोस् ।

म त पत्रकार, नढाँटीकन बोलूँ भने आज मानिसको सारा जाँगर समिति बनाउनुमा सीमित भएका देख्छु, सारा विद्वत्ता प्रस्ताव पास गर्नुमा । म मात्रै पाँचओटा समितिमा सम्मिलित छु । टोलको टट्टीगृह निर्माण समितिको अध्यक्ष, राष्ट्रिय पोसाक परिषद्को महामन्त्री, कामखोजुवा क्लबको प्रचारमन्त्री, आलाकाँचा उद्धारगण्डलको सहसचिव र अराष्ट्रिय तत्त्व चड्कन दलको कोषाध्यक्ष । यसैले होला, मेरो पुत्रले पनि गुच्चा खेल्ने भएभरका साथी बटुलेर गुच्चा खेल समिति बनाएको छ र बाटोमा गुच्चा नखेल्ने प्रस्ताव निर्विरोध पास गरेको छ, तर मूल सडकमा गुच्चा खेल्दाखेल्दै माेटरसाइकिलले किचेर भाँचिएको उसको हात अझै पूरा बिसेक भइसकेको छैन । अब पुत्रकी महतारीले पनि कुन दिन वल्लापल्ला घरका कर्मठ आइमाई बटुलेर कपालकोरण समिति नबनाइदिऊन् ।

तर समिति, सम्मेलन, भाषण र प्रस्तावलाई मन नपराउने म त्यति साँघुरो विचारको असभ्य होइन । बीसौँ शताब्दीको जल्दोबल्दो आधुनिक मान्छे, मान्छेमाथिको पत्रकार । प्रतिदिन रकेटले साँगुरिँदै ल्याएको र पकेटले फराकिँदै लगेको आणविक युगको कणर्धार । त्यसैले मेरो दिमाग फेरि एक पटक भूत, भविष्य र वर्तमानका विश्वव्यापक सारा सभा, सम्मेलन, समिति र अधिवेशनतिर सर्र कुद्न थाल्यो । अनि लामखुट्टेबाबूको ओजस्वी भाषण सुन्दासुन्दै म त कताकता पुगेछु- अन्तर्राष्ट्रिय भ्यागुता सम्मेलनमा । जहाँ मूल ढोकामा भ्यागुताभन्दा ठूला अक्षरले लेखिएको थियो- ‘इन्टरन्यासनल फ्रग्स कन्फ्रेन्स ।’

अन्तर्राष्ट्रिय भ्यागुता सम्मेलनको आयोजना थियो पोखराको फेवातालमा । विश्वका मुख्यमुख्य धेरैजसो खोलाबाट भ्यागुताका प्रतिनिधिमण्डलहरू आआफ्ना राष्ट्रिय झन्डा लिई भेला भइरहेका थिए । पत्रकार र क्यामेराम्यानको बढ्दो उपस्थितिले तालको वरपर खचाखच थियो । तालको बीचमा पर्ने बराह मन्दिरमा विभिन्न खोलाका राष्ट्रिय झन्डाहरूले सजिसजाउ भएको मञ्च थियो । सम्मेलन सुरु हुनुभन्दा अघि फेवातालको रैथाने भ्यागुतो परिचय गराउन र स्वागत भाषण पढ्न अघि सर्यो, जब ऊ अघि सरेथ्यो, फोटोग्राफरहरू तँछाडमछाड गरी क्यामेरा तेर्स्याउन थाले । पत्रकारहरू कापीकलम लिएर ठीक परे । म पनि अलि टाढा एउटा बुटाको फेदमा उभिएँ ।

सर्वप्रथम एउटा रातो सेतो वर्णकाे अग्लो मोटो भ्यागुतालाई देखाउदै फेवातालको भ्यागुतोले सुनायो- “उहाँ मिसिसिपीखोले प्रतिनिधिमण्डलका नेता मिस्टर ओल्ड एस्. डलर हुनुहन्छ ।” हातठटाइ र हातमिलाइ पनि साथै सुरु भइहाल्यो । अनि एउटा निकै राता वर्णकाे ठीक कदको खाइहाल्दो भ्यागुतालाई देखाउँदै फेवाताले भ्यागुताले भन्यो- “उहाँ हुनुहुन्छ, भोल्गाखोले प्रतिनिधिमण्डलका नेता मार्शल फटाटोभ ।” त्यसपछि क्रमशः उसले टेम्सखोले प्रतिनिधिमण्डलका नेता मि. एस्. एस्. पायड्, सीनाखोले नेता चार्जस् एश्चेनको पनि परिचय गरायो । त्यसपछि दोस्रो लङमा गएर एउटा थेप्चथेप्चे कदको र अर्को कालो कालो वर्णकाे भ्यागुतोलाई देखाउँदै फेवाताले भ्यागुताले भन्यो- “उहाँहरू हुनुहुन्छ, ह्वाङ्होखोले प्रतिनिधिमण्डलका नेता म्याउँ म्याउँ चू र गणखोले प्रतिनिधिमण्डलका नेता श्री शान्तिकान्त चतुर्वेदी ।” अनि बाग्मतीखोले प्रतिनिधिमण्डलका नेता टारटुर सिङको परिचय चल्दै थियो- त्यसै बेला आफूलाई एकछिन बाहिर नगई भएन, उताबाट आउँदा स्वागत भाषण पनि सिद्धिसकेछ ।

सम्मेलनमा बाँडिएको ‘उद्देश्य र विषयसूची’ भन्ने एउटा ठेलीबाट थाहा पाइयो- यो सम्मेलन विश्वका प्रमुख समस्याहरूमा छलफल गर्न भएको रहेछ । मूल विषय यिनै थिए-

(१) खोलामा जाल हाल्ने र बारुद पड्काउने काममा तुरुन्त प्रतिबन्ध लगाउने ।

(२) पञ्चशीलको आधारमा सबै खोलाका बीच शान्ति र मैत्री कायम गर्ने ।

(३) साना खोलाका समस्यामाथि विचार गर्ने ।

(४) पानी सुकेका बेलाका निमित्त भ्यागुताहरूको बसोबासको प्रबन्ध मिलाउने, इत्यादि ।

आजका मूल विषय यिनै न हुन् । भेला, छलफल भएपछि कसो एकोटा निर्णय  ननिस्केला ? हाम्रा गाउँमा ठुल्दाइ, जेठा बूढा, रामचा, पण्डितबाजे, खदाल काका त कुनै समस्या आइपर्दा पञ्च बसेर यसै गर्ने भनेर निर्णय ठोक्छन् भने यहाँ त विश्वका भएजति गिदीहरू जम्मा भएका छन् भन्ने मैले सम्झेँ ।

तर म सम्झँदै थिएँ, उता त सभापतिबारे गन्जागोल चलिसकेछ । एक थरी मार्शल फटाटोभको नाम प्रस्ताव गर्दा रहेछन्, अर्को थरी मिस्टर डलरको । वादविवाद यति चर्क्यो कि दुई थरीमा भनाभन चल्न थाल्यो । पितापुर्खाका पालादेखिका रिसइवी सबै त्यहीँ ओकलिन थाले । चार घण्टाको विवादपछि आखिर त्यहाँ कराउनेमध्ये जजसको स्वर ठूलो थियो, ती सबैको एउटा अध्यक्षमण्डल बन्यो ।

त्यसपछि एकसेएक विद्वत्तापूर्ण भाषणहरू भए, ताली बजे र विभिन्न प्रतिनिधिमण्डलद्वारा विभिन्न विषयमा विभिन्न प्रस्ताव आए । म आफ्नो ठुटो सिसाकलमलाई न्वारनदेखिको बल झिकेर कुदाउँदै थिएँ, फेरि चल्यो चर्काचर्की । साना खोलाको समस्याबारे बोल्दाबोल्दै एक जना ठूलाखोले नेताले सानाखोले प्रतिनिधिमण्डललाई लात्ती उज्याएछ ।

उसको भनाइ थियो- “खोलो सानो होस् कि ठूलो, राज्य चल्नुपर्छ भ्यागुतैको । होइन भने अन्त चाउरिएका चेपागाँडा नै च्याप्छु । ठूलाखोले र सानाखोलेका बीच केको सहअस्तित्व !”

यता चर्काचर्की चल्दै थियो उता मुक्कामुक्की चलिसकेछ । ए क्या हो यो । भन्दै म आत्तिएर भाग्न खोजेँ, अर्को एउटा बूढो पत्रकारले भन्यो- “धत्तेरि बाबू । भ्यागुताको भाषामा पञ्चशील माने पाँच मुक्का हो ।” नभन्दै ऊ उसलाई झुक्क्याउने, ऊ उसलाई मुक्क्याउने गर्दागर्दै सर्वत्र मुक्कामुक्कीका आवाजदेखि केही सुनिएन । त्यसै बीच मार्शल फटाटोभ र मिस्टर डलरको कुस्ताकुस्ती चल्न थाल्यो । कहाँको वारुद पड्काउने समस्या, कहाँको विश्वशान्ति ।

सारा माछाहरू कराउन थाले – “बचाओ बाबा बचाओ । हामी लाटासुधा माछाहरूलाई नकिच, तिमीहरू दुई-चारओटा भुँडीवाल भ्यागुताको रिसारिसले कञ्चन पानी विषाक्त नपारिदेऊ ।” तर टाउके भ्यागुतालाई माछाको रुवाइको के पर्बाह ? उसमाथि पनि रिस उठेको बेलामा को वेद पढ्छ र ? एक्कासि एउटा भ्यागुताले बुद्रुक्क उफ्रेर डुम्म के डकारेको थियो, फेवातालमा भयङ्कर विस्फोट भइहाल्यो । त्यही आवाजले थर्केर म पनि झल्याँस्स ब्यूँझेँ । ब्यूँझेर घडी हेर्छु त आफूलाई सफाइ आन्दोलनको उद्घाटनमा पुग्न बितिसकेछ । आँखाअगाडि भ्यागुता-सम्मेलनको अलौकिक दृश्य नाचिरहेकै थियो, तर के गर्नु ? ‘बूढी लागी रमितामा स्यालले कुखुरो बोक्यो’ भनेजस्तो होला भन्ठानेर दौडेँ लुखुरलुखुर !

०००
‘काउकुती’ निबन्धसङ्ग्रह (२०१९) 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
आलु

आलु

भैरव अर्याल
गलबन्दी

गलबन्दी

भैरव अर्याल
चन्द्रलोक कसको ?

चन्द्रलोक कसको ?

भैरव अर्याल
रेलयात्रा

रेलयात्रा

शरद जाेशी
पैसा ! पैसैपैसा !!

पैसा ! पैसैपैसा !!

डा. सुकराज राई
गाँस

गाँस

ढाकामाेहन बराल
भोक माफिया

भोक माफिया

डा. विदुर चालिसे
परनिर्भरता

परनिर्भरता

सृजन लम्साल
छेपारोको रङ्ग

छेपारोको रङ्ग

रामप्रसाद पन्थी